स्थानीय तह निर्वाचन- २०७९ : राजनीतिक दलका शीर्ष नेताको चुनावी दौडधुप तीव्र, देउवा र ओली अग्रस्थानमा

Read Time = 20 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको मिति नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले चुनावी दौडधुप तीव्र बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत चुनावी प्रचारप्रसारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी देश दौडाहलाई तीव्र बनाउनुभएको हो ।

बुधबार मोरङको विराटनगरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुभएका कांग्रेस सभापति देउवाले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा आयोजना गरिएको गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो भने शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुभयो । प्रधानमन्त्री देउवा शनिबार झन् व्यस्त देखिनुभयो ।

शनिबार बिहान रूपन्देहीको बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएका सभापति देउवाले सोही दिन दिउँसो तनहुँको दमौलीमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुभयो । शनिबार दिउँसो नै सभापति देउवाले धनुषाको जनकपुरधाममा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुभयो । स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनअघि नै सभापति देउवा आइतबार पोखरा र दाङका चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ । २६ गते सोमबार कैलाली र २७ गते गृहजिल्ला डडेल्धुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने देउवाको चुनावी दौडाहको कार्यतालिका छ ।

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप थप तीव्र
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन केन्द्रित चुनावी देश दौडाहलाई थप तीव्र बनाउनुभएको छ । स्थानीय निर्वाचनका लागि प्रचार अवधि सकिन लाग्दा अध्यक्ष ओलीले झापादेखि कञ्चनपुरसम्म कार्यक्रम तय गरेर आक्रामक चुनावी अभियान सुरु गर्नुभएको हो । शनिबार सुनसरीको इटहरीमा भएको चुनावी सभालाई सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले त्यसअघि शुक्रबार रौतहटमा दुई स्थान सदरमुकाम गौर र उत्तरी भेगको सहर चन्द्रपुरमा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । बिहीबार अध्यक्ष ओलीले कैलाली र कञ्चनपुरमा गरी एकैदिन तीनवटा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएका ओली बिहीबार राति नै काठमाडौ फर्किनुभएको थियो । गत शनिबार काठमाडौंको चुनावी परिचालन कार्यक्रममा सहभागी हुनुभएका ओली मंगलबार गृहजिल्ला झापा पुग्नुभएको थियो ।

पूर्वमा रहँदा ओलीले झापाको दमक, विराटनगर, इटहरी र धरानमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । वैशाख २७ गतेसम्म महानगर र उपमहानगरका चुनावी सभामा सहभागी हुने अध्यक्ष ओलीको तयारी छ । ओलीले यसबीचमा ६ वटा महानगर र ११ वटा उपमहानगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

चुनावी अभियानको अन्तिम धक्कामा रहनुभएका सत्तारूढ गठबन्धनका अन्य दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चुनावी दौडधुपलाई तीव्र बनाउनुभएको छ । शनिबार धनुषाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महोत्तरी र सर्लाहीका विभिन्न चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको छ ।

यस्तै, गठबन्धनका संयुक्त चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका अध्यक्ष प्रचण्डको रहेको छ । गठबन्धनका अन्य नेताहरूले पनि गठबन्धनले आयोजना गरेका संयुक्त र सदस्य दलहरूले छुट्टाछुट्टै आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका बनाएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि आक्रामक रूपले चुनावी देश दौडाहमा रहनुभएको छ ।

ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? : देउवा
रूपन्देहीको बुटवलमा शनिबार आयोजना गरिएको सत्तारूढ पाँच दलीय गठबन्धनको संयुक्त चुुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गर्नुभयो । गठबन्धन राष्ट्रिय आवश्यकता भएको जिकिर गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले कुनै पनि शंका-उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्नुभएको हो । गठबन्धनका साझा उम्मेदवारलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने जिकिर गर्दै सभापति देउवाले भन्नुभयो, ‘यो गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । संघीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ । गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ । गठबन्धनका सबै साथीहरूलाई शंका-उपशंका नगरी जिताउनुपर्छ ।’

देशको स्थायी विकास, सुकुम्बासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको र एमालेका उम्मेदवारलाई जिताएर कुनै उपलब्धि नहुने प्रष्ट पार्दै सभापति देउवाले भन्नुभयो, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नुभयो । अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्‍यो तर चल्न दिएको छैन ।’ अमेरिकी सहयोग परियोजना एमसिसी अनुदानले सबैभन्दा बढी बुटवलवासीलाई नै फाइदा भएको देउवाको जिकिर थियो ।

शनिबार नै तनहुँको दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीको तानाशाही प्रवृत्ति रोक्न आफूहरूले गठबन्धन गरेको बताउनुभयो । वर्तमान पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन गठबन्धनका सदस्य सबै दल प्रतिबद्ध रहेको दाबी गर्दै देउवाले भन्नुभयो, ‘देशको रक्षा, संविधानको रक्षा र प्रजातन्त्रको रक्षाका लागि, गठबन्धन बिगार्न र विफल बनाउन बनेका तत्वहरूलाई यही स्थानीय चुनावको मैदानबाटै जवाफ दिनुपर्छ र जसरी भए पनि गठबन्धनलाई सफल बनाएरै छाड्नुपर्छ ।’

गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने चेतावनी
शनिबार धनुषाको जनकपुरमा पाँच दलीय गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिनुभएको छ । वर्तमान पाँच दलीय गठबन्धन मुलुकको आवश्यकता र जनआन्दोलनका उपलब्धि जोगाउन बनेकाले गठबन्धनविरुद्ध नबोल्न सचेत गराउँदै देउवाले भन्नुभयो, ‘गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका लागि पार्टीमा कुनै स्थान छैन, कारबाही गरेर निकाल्छौँ । गठबन्धनको पक्षमा माहोल छ, चितवनमा विपक्षमा पनि बोल्नेहरू हावा खाइसके, अब झण्डा बोकेर हिँड्छन्, कुनै समस्या छैन ।’

प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नागरिकता भएका बुबाआमाका छोराछोरीले चाँडै नागरिकता पाउने बताउँदै भन्नुभयो, ‘बुबाआमाले नागरिकता पाएका छोराछोरी मधेशमा नागरिकता पाएका छैनन्, आमा बुबाको नागरिकता हुने छोरोछोरीलाई गठबन्धनको सरकारले चाँडै नागरिकता उपलब्ध गराउनेछ ।’

मधेशको हक दिलाउने गठबन्धनको प्रमुख प्राथमिकता रहेको जानकारी दिँदै देउवाले भन्नुभयो, ‘राम-सीताको गठबन्धन भएको ठाउँ जनकपुरमा पाँच दलीय गठबन्धन कमजोर हुँदैन । गठबन्धनलाई अब पराजित हुने छुट छैन,देशभरि गठबन्धनको पक्षमा माहोल छ । असन्तुष्टि हुन सक्छन् । गठन्धनको विरोध सह्य हुँदैन ।’

प्रचण्डले अन्तिममा चिसै पानीले नुहाउने हो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको मानसिकता मात्र भएको टिप्पणी गर्नुभएको छ । चुनावी अभियानका क्रममा सुनसरीको इटहरी पुग्नुभएका अध्यक्ष ओलीले प्रचण्डले दुर्घटनाको धम्की दिए पनि अन्तिममा चिसै पानीले नुहाउने टिप्पणी गर्दै भन्नुभयो, ‘पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बकेझैँ बक्नुभएछ देउवाजी ।’

गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट वञ्चित गरेको अध्यक्ष ओलीको आरोप छ । शनिबार नै विराटनगरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्युटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने दाबी गर्नुभयो । आफ्नो पार्टी एमालेबाहेक अरूले चुनाव जित्न नसक्ने दाबी गर्दै अध्यक्ष ओलीले अक्षम व्यक्ति विजयी भए कुर्सी रुने टिप्पणी गर्नुभयो । गठबन्धनतर्फ संकेत गर्दै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका ढोडका लौरा टेकेर हिँडिरहेको आरोप लगाउनुभयो ।

एमालेका कारण नागरिकताको समस्या समाधान भएन : प्रचण्ड
सत्तारूढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र एमालेका अध्यक्ष केपी ओलीका कारण नागरिकताको समस्या समाधान हुन नसकेको आरोप लगाउनुभएको छ । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेका कारण नागरिकता समस्या समाधान नभएको आरेप लगाउँदै भन्नुभयो, ‘एमालेले नै संसद् चल्न दिएको छैन । संसद्मा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर, अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौँ । बुवाआमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था हो ।’

संविधान पूर्ण गर्न नदिन नेकपा एमाले र केपी शर्मा ओलीले भूमिका खेलेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो संविधान अझै परिमार्जन गर्न जरुरी छ, यो पूर्ण भएको छैन यसलाई संशोधन गर्न जरुरी छ अझै विकसित गर्न जरुरी छ, तर यो संविधानमा भएका सकारात्मक कुराहरूलाई उल्ट्याउन खोज्ने प्रतिगमनविरुद्ध लड्न पनि जरुरी छ । केपी ओली गुट र एमालेकै कारण संविधान संशोधन हुन सकेन ।’

धनुषाको जनकपुर उपमहानगरपालिकामा शनिबार आयोजना गरिएको संयुक्त चुनावी सभा अघि गठबन्धनले जनकपुरमा ‘रोड सो’ गरेको छ । रोड सोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष यादव र नेता जितेन्द्र देव एउटै गाडीमा बसेर यात्रा गर्नुभएको थियो ।

केपी ओली अस्थिरताका नायक : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्थिरताका नायक भएको आरोप लगाउनुभएको छ । विदेशी शक्तिले ओलीलाई निमिक्त बनाएको आरोप लगाउँदै नेता पौडेलले तत्कालीन राजा महेन्द्र, ज्ञानेन्द्रपछि ओलीले संसद् विघटन गरेर विकास र अस्थिरतातर्फ धकेल्ने वाहक बनेको आरोप लगाउनुभएको हो । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, ‘केपी ओली र उहाँका अनुयायीहरू, संसद् चल्न नदिनेहरूलाई स्थानीय तहमा मात्रै होइन, संसद्मा पनि जान नदिएर सजाय दिनुपर्छ ।’

एमाले अध्यक्ष ओलीले बाहिर चुच्चे नक्सा देखाउने तर भित्र-भित्र ‘रअ’सँग भेटेर देशलाई धोका दिएको आरोप लगाउँदै पौडेलले भन्नुभयो, ‘राजा महेन्द्रले पनि राष्ट्रवादका नाममा ठग्ने काम गरे । अब देशलाई ठगिनबाट जोगाउनुपर्छ ।’

एमालेका उम्मेदवार जिताउन ओलीको हस्तलिखित अपिल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार जिताउन हस्तलिखित अपिल गर्नुभएको छ । उहाँले शनिबार हस्तलिखित अपिल जारी गर्दै वैशाख ३० मा हुने निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभएको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईको फेसबुक पेजमार्फत सार्वजनिक हस्तलिखित अपिलमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेले तीनवटै तहमा स्पष्ट बहुमतको सरकार बनाउन आवश्यक रहेको उल्लेख छ । अपिलमा भनिएको छ, ‘यसको प्रारम्भ यही २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनबाटै गर्नुपर्ने हुन्छ । नेपालका तमाम समस्या किनारा लगाउन मतदाताको साथ र सहयोगबिना सम्भव छैन । आफ्नो महान् उद्देश्य पूरा गर्न पार्टीलाई यतिबेला तपाईंको न्यानो माया र साथ सहयोगको खाँचो छ । यसैले सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन हार्दिक अपिल गर्दछु ।’

यस्तै, अध्यक्ष ओलीले आज राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ रूपन्देहीको बुटवल जानुहुने छ । निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओली चुनावी दौडधुपमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?