चिन्ता कसको : दलको र नेतृत्वको कि राजनीतिक प्रणालीको ?

Read Time = 19 mins

यतिखेर स्थानीय सरकार निर्वाचन तीव्र छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसार दोस्रोपटक हुनलागेको यो निर्वाचनमा सबैभन्दा बढी कम्पन नेपाली कांग्रेसभित्र छ । एकप्रकारले यो पार्टीको चुरो मर्दै गएको, आफ्ना घरका निदाल काट्दै छिमेकका टहराबाट जोरजाम भएका बाँसका भाटाबाट घर सजाउन लागेको अवस्था नेपाली कांग्रेसमा देखिएको छ । तैपनि तालमेलका कारण ७५३ पालिका र ६ हजार ७४३ वडा समितिसहित करिब चालीस प्रतिशत भन्दा बढी स्थान कांग्रेसको खातामा जम्मा हुने सम्भावना यथावत् छ । तर, कांग्रेसले पहिलो पटक आफूभित्रको चुरो मारेको छ र बोक्राहरू जम्मा गरेर मोटाएको पुष्टि गर्न लागेको छ ।

चन्द्र सिंह र पुरानो कुरा :
पुरानो कुरो हो । २०३८ साल माघमा कैलालीको धनगढीमा नेपाली कांग्रेसको प्रशिक्षण शिविर थियो । आदरणीय लोकेन्द्रबहादुर शाहको घरपरिसरमा सुदूरपश्चिम क्षेत्रका तीन चार सय सदस्यहरू सहभागी थिए कांग्रेसका । प्रशिक्षणका लागि गणेशमानजी, किशुनजी, गिरिजाबाबु, सिके प्रसाई, वासुदेव रिसाल, योगप्रसाद उपाध्याय र रामबाबु प्रसाई हुनुहुन्थ्यो । म राष्ट्रपुकारबाट समाचारका लागि सहभागी थिएँ । त्यहाँ एकजना अत्यन्त शान्त भलाद्मी, कम बोल्ने, प्रश्नको उत्तर एक शब्दभन्दा बढी नबढाउने, हलुका सेतो पातलो कुर्ता पाइजामा र चप्पल लगाएका सदस्य पनि हुनुहुन्थ्यो ।

उहाँलाई देख्नासाथ प्रसाईजीले भन्नुभयो : बाफरे भारतका प्रख्यात समाजवादी नेता सुरेन्द्रमोहनजी जस्तो प्राणी हुनुहुँदो रहेछ । परिचय नगरी भएन तर सिकेजीले परिचयको प्रस्ताव गर्दैगर्दा उहाँ सिकेजी नजिक आइसक्नु भएको थियो र अत्यन्त विनम्रतापूर्वक भन्नुभयो : ‘जय नेपाल म चन्द्रसिंह भट्टराई कैलालीको मुनुवामा छु । पार्टीको साधारण सिपाही हुँ ।’

ती भट्टराई निरन्तर कांग्रेसको सदस्य र लोकतान्त्रिक संस्कृतिको पर्याय जस्तै हुनुहुन्छ तर मैले उहाँका विषयमा सुनेँ : उहाँले नेपाली कांग्रेसको राजनीति परित्याग गर्नुभए छ । किन होला ? मेरो मनमा प्रश्नको तीव्र बेग चलिरहेको छ । असी वर्षमा पुग्दै गरेका पार्टी सभापति र वरिष्ठ नेताको अझै शासकीय तीर्खा जीवित छ । उहाँहरूको तीर्खा आफ्ना अरू सन्तति र परिवारका लागि कसरी पानी जोहो गर्नेमा समेत केन्द्रित छ । चन्द्र सिंहजीको त शाखासन्तानलाई त्यस्तो शासकीय भोक तीर्खा छैन र आफूले पनि अब विश्राम लिनु भएछ ।

हुन त नेपाली कांग्रेसका जननी गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई स्वयंले नेपाली कांग्रेसका अनेक सदस्य, समर्थकहरूलाई खेल्ने प्रशस्त जमिन प्रदान गर्नुभएपछि त्यही जमिनमा खेल्न पुगेका कांग्रेसहरूकै कारण उहाँहरूले कांग्रेसमात्रै होइन राजनीतिको मौलो नै परित्याग गर्न विवश हुनुपरेको विगत छ । चन्द्र सिंहजीको त के कुरा भयो र ?

चितवनमा चलखेल र चुरो कुरो :
केही दिन पहिले चितवनका दुई जना कांग्रेस नेताहरूको वक्तव्य आयो । उहाँहरूले अत्यन्त गम्भीर आरोपसहितको प्रश्न उठाउनु भएको छ । चितवनमा स्थानीय निकायको टिकट प्रदान गर्दा असाध्य धेरै आर्थिक चलखेल भएको छ । यसतो गम्भीर विषयमा जिल्ला नेतृत्व, प्रदेश नेतृत्व र केन्द्र पनि मौन रहेको छ । यो मौनता बुझ्न सजिलो किन छ भने पार्टीको आन्तरिक निर्वाचन, स्थानीय वा प्रदेश र संघीय निर्वाचनको यथातथ्यसँग उहाँहरू सबै तहका जानकार हुनुहुन्छ । जानकारमात्र होइन त्यसको साक्षीदेखि स्वयं त्यस्तो लेनदेन, क्रयविक्रयको खेलमा उहाँहरूमध्ये धेरै सहभागी हुनुहुन्छ । तत्काल विगतको पार्टी निर्वाचनमा सभापतिका सशक्त दुईजना उम्मेदवारले लगाएको यस्तोआरोप निराधार छैन ।

चितवन यतिखेर नेपाली लोकतन्त्रको वैचारिक राजधानी भएको छ । लोकतन्त्रमा स्वतन्त्र विवेक प्रयोग गर्ने सार्वोच्च, सार्वभौम र संप्रभु अधिकार हुन्छ मतदातालाई । मतदातालाई मात्र होइन कुनै पनि पार्टीको सदस्यता लिएको व्यक्तिले उचित उम्मेदवारका पक्षमा मतदान गर्नसक्छ । यो सार्वभौम लोकतान्त्रिक सत्यहो । र, त्यसतो मतबाट विजयी उम्मेदवार पनि सबै मतदाताको सम्मान र समान व्यवहार गर्ने हुनुपर्छ । कुनै पार्टी विशेषको मात्र काम गर्ने हुनुहुँदैन ।

पाँच वर्ष पहिलेको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी नेतृ रेणु दाहाललाई समर्थन गरेकोमा चितवनमा मात्र नभएर नेपाली कांग्रेसभित्र त्यसको प्रतिक्रिया देशव्यापी भएको थियो । केन्द्रीय सभापतिसमेत पुगेर गोलाकारभित्रको हँसिया हथौडामा मत मागेको घटनाले कांग्रेसजनको तेजोबध हुनु स्वाभाविक थियो । त्यसमा पनि विगत पाँच वर्षसम्म रेणुले कांग्रेस दबाउन, कांग्रेसका मानिसलाई अपमानित गर्न पदको पर्याप्त दुरुपयोग गरेको व्यथा बोकेका कांग्रेसले पुनः माओवादीलाई नै शीर्षस्थानमा राख्न नचाहनु अन्यथा थिएन । पाँच दशकभन्दा बढी कांग्रेसमा रगत पसिना बगाएका जगन्नाथ पौडेल अहिले विचार आन्दोलनको प्रतिनिधि पात्र हुन पुग्नुका कारण पनि यही नै हो ।

कांग्रेसको आदर्श, सिद्धान्त नीति र निर्वाचनका आधारमा चुनावमा भाग लिन पाउनुपर्छ भन्ने आवाजलाई दमन गर्दै अतिरिक्त सहमति भएको हुनाले कृष्णलाल सापकोटा, टीकाराम न्यौपानेहरू पनि अब कांग्रेसबाट अलग हुने निर्णयमा पुग्नुभयो । सापकोटा त करिब सात दशकदेखि नै कांग्रेसको सदस्य हुनुहुन्छ र उहाँ ८४ वर्ष पुगिसक्नु भएको छ । चितवनको यो वैचारिक तरंग र पार्टी नेतृत्वको अहंकारी र सत्ताकेन्द्रित रणनीतिले ल्याउने दुर्भाग्यपूर्ण परिणाम हो : कांग्रेसमा वैचारिक चुरोको मृत्यु र क्रेक्राहरूको उदय तर हेक्का हुनुपर्छ : बाहिरी बोक्राले रूख धानिँदैन ।

मलाई धादिङबाट विगत तीनदशकदेखि नेपाली कांग्रेसको संगठनमा निरन्तर संघर्ष गरिरहेकी बहिनी कल्पना अधिकारीले फोनमा भन्नुभयो : सदा अन्याय सहनुभन्दा बीपी कोइरालाको विचारलाई सम्मान गर्दै विद्रोह गर्नु उचित लाग्यो । नीलकण्ठ नगरपालिकामा उहाँ यतिखेर गुलाबको फूल लिएर मैदानमा उत्रनु भएको रहेछ । नेपाली कांग्रेसले उहाँको योगदानको सम्मान नगरेपछि अब उहाँ वैचारिक संघर्षको अर्को चरणमा लाग्नुभएको छ । डडेल्धुराले कांग्रेसको आधा भाग नै गुमायो कर्णबहादुर मल्लको नेतृत्वमा । तनहुँमा कुनै दिन सपनामा पनि सोचिएको थिएन : गोविन्दराज जोशीको लय एमालेसँग मिल्न जानेछ । कांग्रेसबाट देशव्यापी यो असम्भव सम्भावना विकसित भइरहेको छ ।

शक्ति केन्द्रमा नेकपा एमाले :
सत्तारूढ गठबन्धनको सम्पूर्ण विरोधको केन्द्र नेपाल कम्युनिष्ट पार्टी एमाले भएको छ । यो चुनावी तालमेल एमालेलाई स्थानीय निकायमा टिक्न र टेक्न नदिने र संघीय निर्वाचनमा कमसेकम पाँच वर्षसम्म विस्थापन गर्ने रणनीति देखिन्छ तर अर्को रणनीतिक खेल के पनि हो भने विगत १५ वर्षको खुला राजनीतिक यात्रामा अत्यन्त कमजोर हुनपुगेको माओवादीका अध्यक्षको शक्ति सञ्चिति र संगठन सामथ्र्यको विकास तथा एमालेसँग पृथक भएका माधव नेपाल समूहको राजनीतिक अस्तित्व रक्षा । जसका लागि संघीय निर्वाचनसम्म नै गठबन्धन अनिवार्य भएको छ । पुष्पकमल दाहालले चितवनमा पुगेर दिनुभएको नत्र भन्ने धम्कीको अर्थ योभन्दा फरक केही होइन ।

गठबन्धनले स्थानीय, प्रदेश र संघीय चिनर्वाचनमा निश्चय पनि अत्यन्त राम्रो परिणाम ल्याउनेछ यसमा कुनै सन्देह छैन । केही सथानमा सैद्धान्तिक र वैचारिक प्रश्न उठाउने साहस गरिए पनि अधिकांश स्थानमा उम्मेदवारले आफ्नो विजयका लागि ढुक्क हुने वातावरण खोजेको अवस्था छ । पाँच दलका सदस्यहरूको आक्रामक चुनावी प्रचारका सामु अरू निश्चय पनि निरीह हुने छन् र भइरहेका छन् । तर एमाले भने शीर ठाडो पारेर मैदानमा छ । उसको राजनीतिक सफलता सायद यसैमा छ । पाँच दलीय गठबन्धन र चुनावी तालमेलकै कारण एमालेका हिजो सत्तामा बसेर गरेका गैरसंवैधानिक, गैरन्यायिक कामहरू छायाँमा परिरहेका छन् । अन्यायको पुनरावृत्ति ओली कार्यकालसरह भइरहेको छ ।

अहिले प्रहरी महानिरीक्षक नियुक्तिमा भएको अन्यायपूर्ण निर्णय र अदालत समेतको आश्चर्यलाग्दो प्रक्रियाले ओली कार्यकालको सेटिङको पुनरुत्थान भएको अनुभव गराएको छ । विश्वराज पोख्रेल वा धीरजप्रताप सिंहको प्रश्न होइन, प्रश्न हो सरकारको समान निरंकुश र हुकुमी चरित्रको । ओलीभन्दा भिन्न वर्तमान सत्ता र गठबन्धन छ भन्ने अनुभव नहुनुको अर्थ हो ओली पक्षको राजनीतिक विजय । अर्थात् यो सत्तागठबन्धन भत्कने बित्तिकै मुसाकी छोरी मुसैलाई भन्ने उखान चरितार्थ हुनेछ ।

रोचक काठमाडौं र भरतपुर :
राजधानीको मेयरपदमा यो पटक मिति सकिएको औषधि र आयुर्वेद औषधिका बीचमा रोचक प्रतिस्पद्र्धा हुँदैछ । नेपाली कांग्रेसले सिर्जना सिंहलाई मेयर पदमा मनोनयन गरेपछि उनलाई गणेशमान सिंहकी बुहारी, प्रकाशमान सिंहकी पत्नीका रूपमा मात्र बुझ्नेहरू धेरै भए । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देउवालाई निर्णायक समर्थन गरेको हुनाले प्रकाशमानलाई पुरस्कृत गरिएको मान्नेहरू पनि छन् । तर, राजधानी जस्तो महत्वपूर्ण स्थानमा एक शालीन र सदा लोकतान्त्रिक आन्दोलनकी सहयोगी सिर्जनाको बेग्लै व्यक्तित्व पनि छ ।

सायद परिवारवादको मृगतृष्णा प्रकाशमान सिंहमा होला तर सिर्जना त्यही मृगतृष्णाको परिणाम मेयरकी उम्मेदवार हुन् भन्न सकिँदैन । सिर्जनाको प्रतिस्पर्धी छलकपट, साधना, योग, अपराध औषधि सबैका विशेषज्ञ केशव स्थापित छन् । उनी आफैंले यी सबै कुरालाई नलुकाइकन स्वीकार गरिरहेका छन् । उनका नपल्टाइएका अनेक अरू यस्ता पृष्ट पनि होलान् । मिटुले त केशव स्थापितलाई विस्थापित गराउँन सजिलो बनाएको छ । २०५१ सालदेखि अनेक रूपरंग परिवर्तन गर्दै एमालेको सारथी बन्न लागेका स्थापितमा कल्पनाशीलता अध्यक्ष केपी ओलीको भन्दा निकै बढी छ ।

उनी आकाश पाताल सबै देखाउँन सक्छन् । तर, उनका बारे कसैले सही टिप्पणी गरेका छन् : केशव स्थापित डेट एक्स्पायर्ड औषधि हुन् । बिरामीले खायो भने विषसरह हुन्छ । यसका विपरीत सिर्जना सिंह शान्त र विनम्र भएको हुनाले उनी आयुर्वेदिक औषधि जस्तो राजधानीका लागि हुन सक्छिन् । विष पिउनुभन्दा आयुर्वेद औषधिकै सेवन गर्नु उचित हुन्छ ।

राजधानीमा युवा पुस्तामा बालेन, स्वतन्त्र मतदाताका लागि समीक्षा र अलि पुरानो सोच राख्नेहरूका लागि मदनदास श्रेष्ठ विकल्पमा छन् तर सिधा प्रतिस्पर्धा सिर्जना र स्थापितकै बीचमा हुने देखिन्छ । राजधानीको इतिहासमा पहिलो पटक महिला मेयर बन्नसक्ने सौभाग्य मिल्दैछ । राजधानीका मतदाता यसमा चुक्दैनन् होला ।

भरतपुर महानगरपालिका त यस पटक नेपाली कांग्रेसको जीवनका लागि निर्णायक बिन्दुमा छ । त्यसमा पनि संयुक्त सभालाई सम्बोधन गर्न भरतपुर पुग्नुभएका पुष्पकमल दाहालको धम्कीले आगोमा घ्यू थपेको अनुभव हुन्छ । पाँच वर्षमा उनकी छोरी रेणुबाट के विशेष काम भए ? किन उनलाई मेयरमा समर्थन नगरेमा नेपाली कांग्रेसको भविष्य असुरक्षित हुने हो ? चितवनका मतदाताहरूले रेणुलाई नै स्वीकार नगरी नहुने किन ? जस्ता प्रश्नको उत्तर खोज्नुभन्दा धम्कीको भाषा कसरी स्वीकार्य होला र ?

हो, रेणुको पराजय भएमा माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिष्ठा कमजोर हुने र उनको अहंकारमाथि आघात पुग्ने निश्चित छ । त्यति नै हो । यदि स्वतन्त्र मूल्यांकन गर्ने हो भने भरतपुर नगरपालिकामा सबैभन्दा योग्य उम्मेदवार जगन्नाथ पौडेल हुनुहुन्छ । त्यसपछि विजय सुवेदी र अन्तिममा पर्नुहुन्छ रेणु दाहाल । योग्यलाई समर्थन गर्ने कि पार्टीको, गठबन्धनको मुख हेर्ने त्यसको जिम्मा भरतपुरका मतदातालाई नै छ ।

महिला अधिकारको प्रश्न :
महिला उम्मेदवारहरू पालिका प्रमुख वा उपप्रमुखमा यसपटक अत्यन्त कम छन् । देशको संविधान समेतलाई कुल्चदै गरिएको निर्णयले महिलालाई पालिकाबाट नेतृत्व गर्ने स्थान संकुचित भएको छ । तर कुनै पनि महिला संघ, संगठन र महिला अधिकारकर्मीले देशव्यापी रूपमा संविधानको मर्मअनुसार उम्मेदवारी दिने भए चुनावमा भाग लिने अन्यथा नलिने भनेर सरकार र निर्वाचन आयोग सामु उभिन सकेनन् । सधैँ खटाएको भाग लिने र अघिपछि रुन्चे स्वरमा कराउने काम महिला अधिकारकर्मी र नेतृको भयो । महिला उम्मेदवार थोरै भएको अवस्थामा जति पनि प्रमुख उपप्रमुख छन् तिनीहरूको विजय भएमा वर्गीय सम्मान भने केही हदसम्म हुनेछ ।

अन्तिममा मेरो मनमा एउटा प्रश्न उठिरहेको छ । आजको समग्रता र परिवर्तनपछिको अवस्थालाई समीक्षा गर्दा चिन्ता कसको गर्ने दलको, नेतृत्वको कि प्रणालीको ? कि यी सबैभन्दा सार्वभौम जनता र देशको ? के यी प्रश्नमाथि विमर्श गर्नु आवश्यक भएको छैन र ?

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रामचन्द्र सुबेदी हाल अमेरिका
रामचन्द्र सुबेदी हाल अमेरिका
2022-05-08 7:54 pm

सान्दर्भिक तथा कटुसत्यता पनि यहि हो । केन्द्रिय नेताहरुको सत्तालोलुपतामा सबै दलहरू बन्धक भएको बर्तमान अबस्था छ । यिनका निष्टा सिध्दान्त , विचार मरिसकेको छ । यिनमा म नै पार्टी र बिचार हुं भन्ने मैमत्व पशुपन ले यिनलाई गांजेको छ । यसलाई सच्चिानै चिर्ने हो भने मात्र भरतपुरमा जगन्नाथ पौडेलको विजय अनि काठमांडौ केसव स्थापित र नेता पत्नी सिर्जना सिंहको पराजय खाफी छ ।यति भएमा मात्र पनि यि नेताका अहंवादमा केही बिराम आउने थियो ।

Lkb
Lkb
2022-05-11 10:40 am

Good logic

jeeban sharma
jeeban sharma
2022-06-07 12:06 pm

सिद्दान्त विचार र राजनीतिक प्रणालीमाथि नै खतरा हुनेगरी दलका नेताहरूले आफ्नाे पद जाेगाउँने अभिष्ट पुरा गर्न हरेक तिकडमबाजि गरिनै रहन्छन । यस पटककाे निर्वाचनमा पनि त्याे देखियाे । चुनाव शैद्दन्तिक बैचारिक हिसावले काे कति विसाैलिका छन भनेर मापन गर्ने तुलाे हाे तर तुलाेलाइ तुहाउने काम नेताहरूले गरे । आलेख समय सान्दर्भिक र मर्मस्पर्सी छ । दलका नेताहरूले पढेर केही सिक्नु जरूर छ ।

छुटाउनुभयो कि ?