तेक्वान्दोको थप २० खेलाडी छानिए

Read Time = 2 mins

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताबाट थप २० खेलाडी पहिलो चरणलाई छनोट भएका छन् । यसअघि २४ खेलाडी छनोट भएका थिए । कुल ४४ खेलाडीको छनोट गरिएको छनोट समितिका संयोजकसमेत रहनुभएका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाउनुभएको थियो । प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी प्रारम्भिक छनोटमा परेका हुन् ।

पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका वीरबहादुर महरा, नेपाल आर्मीका सगुन श्रेष्ठ तथा बागमती प्रदेशका रोहित महर्जन र रञ्जित साउद छनोट हुनुभयो । ६३ केजीमुनि प्रहरीका गोविन्दबहादुर आले, मधेश प्रदेशका विक्रान्त डंगोल, बागमतीका रोजिन बमजन र एपिएफका मोहम्मद रफिक छानिनुभयो । ८० केजीमाथि आर्मीका भुपेन श्रेष्ठ, एपिएफका निरज देउवा, बागमतीका मिलनकुमार बलामी र लुम्बिनी प्रदेशका आशुतोष बराल छनोट हुनुभयो ।

एकल पुम्सेको पुरुषमा प्रहरीका कमल श्रेष्ठ, प्रहरीकै जितबहादुर बोट, आर्मीका कृष्णबहादुर तामाङ र प्रहरीका प्रेमबहादुर लिम्बू प्रारम्भिक छनोटमा अटाउनुभयो । सो स्पर्धाको महिलामा प्रहरीकी पार्वती गुरुङ, प्रदेश १ की स्वस्तिका तामाङ, प्रदेश १ की सुशिला राई र आर्मीकी प्रशंसा क्षेत्री छानिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?