सुजन र वियंकालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ललितपुरका सुजन गेडाल र एभिएम टेबलटेनिस क्लबकी वियंका राईल दोस्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । यु-१९ सिंगल्सको ब्वाइजमा सुजन तथा गल्र्समा वियंकाले स्वर्ण जित्नुभएको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोस्रो तथा मोरङका विश्व बानियाँ र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका गनञ्जय दाहाल तेस्रो हुनुभयो । गल्र्समा एभिएमकी इभाना थापा तथा मोर्डन कलेजकी दिया देउला र सुनसरीकी अञ्जलीकुमारी ठाकुर तेस्रो बन्नुभयो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु-१५ ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो, बुटवल टेबलटेनिस एकेडेमीका सौरव खड्का दोस्रो तथा एभिएमका एरिश शाक्य र गल्कोपाखा समाज सेवाका आर्यन शाही तेस्रो हुनुभयो । उक्त स्पर्धाको गल्र्समा स्ट्यागकी सुस्मिता खड्काले स्वर्ण, नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले रजत तथा प्रभातकी करिना सुवाल र सुनसरीकी सुलेखाकुमारी ठाकुरले कांस्य जित्नुभयो । चारै स्पर्धामा शीर्ष तीनस्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार हात पार्नुभयो ।

विजेतालाई काठमाडौं महानगरपालिककी मेयर सुनिता डंगोल, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र उपमहासचिव सुवर्ण श्रेष्ठ, आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभागका प्रमुख महेन्द्र लिगललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । आयोजकका अनुसार तीन दिने प्रतियोगितामा १६० खेलाडी सहभागी थिए ।

यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरिने विभाग प्रमुख लिगलले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?