मतदातालाई एमालेको ६७ बुँदे अपिल, सत्ता गठबन्धन र नेपाली कांग्रेसको चर्को आलोचना

Read Time = 13 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि एमाले उम्मेदवारहरूलाई विजयी गराउन ६७ बुँदे अपिल सार्वजनिक गर्नुभएको हो । सरकारमा रहँदा एमालेले जनहितमा थुप्रै राम्रा काम गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाली जनताको आकांक्षा,सुख र समृद्धिका लागि अझै दुई अवधि एमालेलाई विश्वास गर्न आग्रह गर्नुभएको छ । करिब १० वर्ष सरकारमा रहँदा नेपालको इतिहासमा पहिलो पटक मुलुकको समग्र विकास निर्माण, सामाजिक सुरक्षा, परिवर्तन र रूपान्तरण, राष्ट्रिय सामथ्र्य र प्रतिष्ठाको अभिवृद्धिलगायत क्षेत्रमा युगान्तकारी एंव गौरवपूर्ण उपलब्धि हासिल भएको अपिलमा जिकिर गरिएको छ ।

कांग्रेसले लामो समय सरकारमा रहँदा पनि जनहितका कामहरू नगरेको आरोप लगाउँदै अध्यक्ष ओलीले अपिलमा कांग्रेसले एमालेसँग सहकार्य गर्नसमेत नचाहेको जिकिर गर्नुभएको छ । अन्य पार्टीसँग मुलुकको विकासका लागि स्पष्ट योजना, नीति तथा कार्यक्रम, स्पष्ट परराष्ट्र नीति नभएको भन्दै एमालेसँग नेपाललाई सर्वश्रेष्ठ मुलुक र सुखी नेपाली बनाउने स्पष्ट नीति र योजना रहेको अपिलमा दाबी गरिएको छ ।

अपिलमार्फत अध्यक्ष ओलीले आफ्ना विरोधी राजनीतिक दल र शक्तिहरूमाथि आक्रोश पोख्नुभएको छ । लिखित धारणा सार्वजनिक गर्दै ओलीले सत्ता गठबन्धन, गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत आफ्ना विपक्षीमाथि आक्रोश पोख्दै एमाले आगामी पाँच वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवम् समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञाका साथ आम मतदातासमक्ष प्रस्तुत भएको दाबी गर्नुभएको छ ।

एमालेमा मात्रै देश विकास गर्ने राष्ट्रिय आँट, संकल्प र आत्मविश्वास भएको दाबी गर्दै अध्यक्ष ओलीले सार्वजनिक गरेको अपिलमा भनिएको छ, ‘हामी नेपाललाई राष्ट्रिय स्वाभिमान सहितको दरिलो एंव गर्विलो राष्ट्र बनाउन चाहन्छौँ, त्यो एमालेबिना सम्भव छैन । कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय होइन, हाम्रो मुख्य ध्येय त नेपालको विकास गर्ने हो, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने हो, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने हो । राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई कुनै हालतमा स्वीकार्य हुँदैन ।’

कांग्रेसकै कारण एमालेले अघि बढाएको विकास र समृद्धिको यात्रामा अवरोध पुगेको आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘यसैबीच नेपाली कांग्रेसको षड्यन्त्रले चरम उत्कर्ष लियो । कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीति र देश हितका सन्दर्भमा उल्टो बाटो समात्यो । कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार ग¥यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्‍यो ।’

निर्वाचन आयोगको निष्पक्षतामाथि ओलीको प्रश्न
अध्यक्ष ओलीले निर्वाचन आयोगको निष्पक्षतामाथि फेरि प्रश्न उठाउनुभएको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले जे गर्दा पनि आयोग गम्भीर नबनेको आरोप लगाउँदै भन्नुभयो, ‘प्रचण्डजीले सिर्जनाजीलाई प्रकाशमानजीको श्रीमती भन्नु ठिक होइन भन्छन् । ल श्रीमती नभनुँला । उहाँको भोट त माग्नुभयो नि प्रचण्डजीले । अरू जीहरूले । चित्रबहादुर पनि आइपुग्नुभएछ लौरो टेकेर । अनि उहाँहरूलाई के हुन्छ त कारबाही ? उहाँहरूले क-कसको झण्डा बोक्नुभएको छ ? उहाँहरूले क-कसको भोट माग्नुभएको छ ? उहाँहरूप्रति निर्वाचन आयोग कालो चस्मा मात्र होइन पट्टी लगाएर बस्ने ?’

निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘देशभरि त गठबन्धनमा एउटाको चिन्ह अर्काले अर्काको चिन्ह एउटाले । रेनु दाहाललाई भोट माग्न शेरबहादुरजी भरतपुर जानुभयो । एउटा दलले अर्को दलको प्रचार गर्न पाइँदैन । राजनीतिक दल भनेको कांग्रेस मात्रै हो नेपालमा । उसकै अनुकूलता जे पनि गर्दिनुपर्ने । रङ फेर्दा अरू राजनीतिक दलसँग पनि कुरा गर्नुपर्ने । हामीले मुद्दा हालेनौँ यो विषयमा । मुद्दा हाल्नुपर्ने र बदर गराउनुपर्ने विषय हो यो । रातो सूर्य पनि हरियो बनाउनुपर्ने । यो कुनै न्यायको कुरा होइन ।’

सत्ता गठबन्धनको लागि वैशाख ३० सबैभन्दा ठूलो खड्गो
एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका लागि वैशाख ३० गते सबैभन्दा ठूलो खड्गो रहेको जिकिर गर्नुभएको छ । पार्टी कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ज्यातिषलाई उद्धृत गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ज्योतिषीहरूले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० हो भनेका छन् । कस्तो दिन जुराएर निर्वाचन मिति तोकेछन् । त्यही दिन गठबन्धनलाई ढाड नै भाँचिने गरी क्षति हुन्छ । यो ज्योतिषीहरूले भनेका हुन् ।’

गठबन्धनलाई वैशाख ३० गते ठूलो खड्गोबारे पत्रकारले गरेको प्रतिपश्नको जवाफमा अध्यक्ष ओलीले आफूले भनेका कुरामा विश्वास नभए प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्न आग्रह गर्दै भन्नुभयो, ‘मैले भनेको कुरामा विश्वास नभए प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, ज्योतिषीलाई बोलाएर सोध्नुस् । प्रधानमन्त्रीज्यूले ठयाक्कै-ठयाक्कै मिलाउने उहाँको आफ्नै ज्योतिषीलाई बोलाएर सोध्नुभए हुन्छ । मैले त्यही भनेको हुँ ।’

गठबन्धन सात दिनमै भत्काउन सक्ने दाबी
पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि नलाग्ने दाबी गर्दै भन्नुभयो, ‘हामीले चाह्यौँ भने यो एक हप्तामा त ढल्छ, ढल्छ । केही भन्नै परेन नि ! बिरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उसैकहाँ जान्छ । त्यसको कुनै सवाल जवाफ छ ?’ माओवादीलाई कांग्रेसले भन्दा राम्रो प्रस्ताव गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ‘बिरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ ।’

सत्ता गठबन्धनलाई अलच्छिनको संज्ञा
नेकपा एमालेले आइतबार रूपन्देहीको बुटबलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनपछि देशमा अलच्छिन पसेको आरोप लगाउनुभएको छ । गठबन्धन सरकार बनेपछि एमाले नेतृत्वको सरकारले अघि सारेका योजनामा बजेट कटौती गरेकोप्रति आक्रोश पोख्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले अघि सारेका योजना र कार्यक्रममा योमा पनि पैसा छैन, त्योमा पनि पैसा छैन भनेका छन्, एमालेले कहिल्यै पैसा छैन भनेन । गठबन्धन आएपछि अलच्छिन पस्यो देशमा, यसलाई जनताले वैशाख ३० गतेको चुनावमा जरादेखि टकटक्याएर फ्ँयाक्नेछन् ।’

असन्तुष्ट कांग्रेस नेता/कार्यकर्ताको मत तान्ने प्रयास
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा असन्तुष्ट नेपाली कांग्रेसका नेता÷कार्यकर्ताको मत आफ्नो पार्टीतिर तान्ने प्रयास गर्नुभएको छ । नेकपा एमालेले चितवनमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस नेताहरूले प्रधानमन्त्री पदका लागि आफ्नै पार्टी सिध्याउन लागेको आरोप लगाउनुभएको छ । नेताहरूले पार्टी सिध्याउँदासमेत कांग्रेस कार्यकर्ता के हेरेर बसेका होलान् ? भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘विचरा कति पीर परेको होला कार्यकर्तालाई । छाती समातेर बसिरहनु भएको होला पीडाले, कांग्रेसका कार्यकर्तालाई सहानुभूति प्रकट गर्न म चितवन आएको हो । प्रकाश सपूतको गीतले भनेजस्तै कांग्रेसका कार्यकर्ताले पीर बिसाउन कहाँ जाने विचरा ? एमालेका कार्यकर्ता त यसै उत्साही हुनुहुन्छ । तर, कांग्रेसका कार्यकर्ताले कसरी मन थामेका होलान् । सहानुभूति दर्शाउन चाहन्छु ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै अध्यक्ष ओलीले धम्क्याएको भरमा भोट लिन कसैले नपाउने चेतावनी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?