राजनीति र फोहोर व्यवस्थापन

हिमालय टाइम्स
Read Time = 6 mins

भन्न त राजनीतिलाई पनि फोहोरी खेल भन्ने गरिन्छ । यसका कमीकमजोरी केलाएर यसो भनिएको हुनसक्छ । जसलाई जस्तोसुकै आश्वासन पनि दिनपछि नपर्ने र हुँदैन भने भोटको राजनीतिमा सफल बन्न नसकिने भएका कारण राजनीतिज्ञहरूले जनतालाई दिने आश्वासन तर काम भने भनेको भन्दा धेरै कम गर्ने भएकाले राजनीतिक वृत्तमा यस्तो भनाइ प्रचलनमा आएको हुनसक्छ । यस प्रकार राजनीतिप्रति यसै जनताको विश्वास कम छ, त्यसमाथि पनि अहिले चुनावी चटारो छ । दलहरू सबै चुनाव केन्द्रित प्रचारप्रसारमा तल्लीन छन् । अहिले विकास निर्माणका काम स्थगित छन् भन्दा फरक पर्दैन । दलहरू सबैतिरको बजेट केन्द्रत गरेर चुनावी अभियान चलाइरहेका छन् । स्थानीय तहको निर्वाचन हो यो । स्थानीय तह भनेको राजनीति गर्नेका लागि आधार स्तम्भ हो ।

उनीहरू जसरी पनि आफ्नो राजनीतिको मेरुदण्डलाई मजबुत बनाउन चाहिरहेका छन् । यो निर्वाचनलाई संसदीय निर्वाचनलाई भन्दा कम महŒव दिइएको पाइँदैन । त्यसैले राजनीतिबाहेकका अन्य क्षेत्रतर्फ उनीहरूका आँखा परिरहेका छैनन् । काठमाडौं उपत्यका त्यही कारणले फोहोरको डंगुरमा परिणत भइरहेको छ । वास्तवमा प्रकृतिक रूपमा काठमाडौं उपत्यका सुन्दर छ । यसका साथै सांस्कृतिक रूपमा यहाँ जस्तो सम्पन्नता नेपालको अरू ठाउँमा पाइँदैन । हावापानी तथा बस्न उपयुक्त ठाउँ अन्यत्र छैन । त्यसैले नेपालका अति चिसो हिमाली क्षेत्रका मात्र होइन अति गर्मी हुने तराईका मानिससमेत यहीँ आएर बसोवास गरिरहेका छन् । जसले गर्दा यहाँ अनेक किसिमका समस्या सिर्जना हुन पुगे । जसमध्येको एक हो फोहोर विस्थापनको समस्या ।

प्रत्येक घरबाट उत्सर्जन हुने फोहोर विस्थापन गर्ने ठाउँको अभावले मुख्य रूपमा यस्तो समस्या सिर्जना भएको हो । अर्को कुरा खाली जमिन पनि छैन । जग्गाजमिन भएका खण्डमा त्यस्तो फोहोरमैलालाई त्यहाँ व्यवस्थापन गर्न केही हदसम्म सकिन्थ्यो । एकातिर मानिसको चाप बढी र अर्कोतिर फोहोर फाल्ने ठाउँको अभावले फोहोर विस्थापन गर्ने समस्या हुने नै भयो । तरकारीहरू केलाउँदा निस्कने प्रयोगविहीन वस्तुलाई गाउँघरमा जस्तो गाई, भैंसी र बाख्रालगायत पाल्तु जनावरलाई खुवाउन सम्भव छैन । चेतना र ठाउँको कमीले घरघरबाट उत्सर्जन हुने फोहोरमैलाहरू प्लास्टिकको झोलामा पोको पारेर सडकमा ल्याएर राख्ने गरिन्छ । जनतासँग यसको विकल्प छैन ।

सरकारले वा उसको जिम्मेवारी लिएका नगरपालिकालगायत निकायसमेत फोहोरमैला व्यवस्थापन गर्न असमर्थ बनिरहेका छन् । त्यसैले हालका दिन काठमाडौं उपत्यका दुर्गन्धित बनिरहको छ । अहिले गर्मी याम छ । एकातिर मानिसहरू बिरामी हुने समय नै यही हो भने अर्कातिर बाहिरी वातावरणका कारण बाक्लो बस्तीमा गुम्सिएर बस्ने मानिसका लागि यो अभिसाप भएको छ । सुन्दर शहर कुरूप बनिरहेका छन् । वातावरण दुर्गन्धित बनिरहेको छ । सम्बद्ध निकाय र अधिकारी निर्वाचनको चटारोमा छन् र यस्ता कुरातर्फ तिनको ध्यान जाने कुरै छैन ।

यस्ता समस्या हेर्ने निकायहरूमा जनप्रतिनिधि छैनन् सरकारी कर्मचारीमात्र छन् । तिनको पनि ध्यान यसतर्फ छैन । जनप्रतिनिधि नभएको यही एकदुई महिनाको अवधिमा केही आर्थिक लाभ प्राप्त गर्नेतिर तिनीहरूको ध्यान जान सक्छ । त्यसैले सडकको फोहोर सडकमै रहिरहेको छ, उठाउने प्रयास कतैबाट भएको छैन । उपत्यकाको फोहोर उपत्यकामै विसर्जन गर्न सकिँदैन । उपत्यका नजिनको कुनै ठाउँ हेर्नुपर्छ वा पहिलेदेखि प्रयोग गरिरहेको ठाउँ नै प्रयोगमा लयाउनुपर्छ । यसका लागि त्यहाँका स्थानीय मानिससँग सम्झौता गर्नुपर्छ र तिनका लागि केही सहयोगका काम गर्नुपर्छ । सम्बन्धित निकाय यहीँ चुकेको हुनाले नै अहिलेको अवस्था सिर्जना भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?