जरुवा र जर्किहाको भोज जस्तै भयो चुनाव

Read Time = 15 mins

✍️ मणि शर्मा
तानाशाहहरू जुनसुकै उपाय अपनाएर आफू र आफ्नो परिवार सत्तामा रहिरहन जस्तोसुकै उपायहरू अवलम्बन गर्ने गर्छन् । सत्तामा रहेर राष्ट्रलाई दुहुनेमात्र उनीहरूको एकमात्र उद्देश्य हुन्छ । गाईलाई दुहन त उनीहरूले जानेका छन् । थुनवाट रगत आउने गरी दुहन्छन् तर गाईलाई जिउँदो राख्न घाँस था कुँडो दिनुपर्छ भनेर उनीहरू सोच्दैनन् । एक्काइसौं शताब्दीका तानाशाहहरू प्रजातन्त्रको नाममा जनतालाई अगाडि सारेर लुट्ने गर्छन् । एकजना तानाशाह थिए इदी अमिन, युगाण्डाका राष्ट्रपति ।

सन् १९७१ मा सत्तामा आएका उनले अगष्ट १९७२ मा एउटा घोषणा गर्दै युगाण्डामा बस्ने साठी हजार एशियालीहरूलाई देश छाडेर जाने उर्दी जारी गरे । आफूसँग केबल पचास पाउण्ड र दुई सय पचास केजीमात्र सामान लग्न पाउने आदेश दिए । यो उर्दी जारी गर्ने बिहान उनले टोरोरो शहरको सैन्य अड्डामा सेनाहरूलाई सम्बोधन गर्दै भने ‘मलाई सपनामा अल्लाहले सम्पूर्ण एशियालीलाई देशबाट तुरुन्त निकाल्न आदेश दिनुभएको छ ।’

यो सन्दर्भ पुष्पकमल दाहालसँग मिल्छ । उनले भरतपुरमा उनको पुत्री रेणु दाहाललाई चितवनवासीले नजिताए देश दुर्घटनामा जाने भविष्यवाणी गरेछन् । शायद उनलाई पनि सपनामा प्रभुबाट यस्तै कुनै आदेश भएर भरतपुरवासीमार्फत देशवासीलाई प्रभुको सन्देश सुनाएका होलान् । तानाशाहहरूको आदेशको पालना नगर्नेहरूप्रति उनीहरू कति क्रुर हुन्छन् एउटा उदाहरण इदी अमिन शासन कालको । एशियायीहरूले तोकेको भन्दा बेसी सामान लिएर नजाऊन् भनेर बाहिरिनेको चेकजाँच कडा गरिएको थियो ।

कसैले पनि सुनचाँदी, हिरामोती लग्न मनाही थियो । युगाण्डाबाट निस्कने क्रममा भएको घटनाबारे एकजना यात्री गीता वाट्सको अन्तर्वार्तामा उनले भनेकी थिइन् उनीहरू एनतेबे विमानस्थलमा पुग्दा उनीहरूको सुटकेसमा भएका सबै सामान चेक गरेपछि उनको औंलामा भएको औंठी झिकेर दिन सुरक्षाकर्मीले भने तर उनको औंलाबाट औंठी निस्किरहेको थिएन । अन्त्यमा सुरक्षाकर्मीले उनको औंला काटेर औंठी लिए ।

कुनै पनि व्यक्ति जन्मैदेखि तानाशाह बन्छु भनेर जन्मिदैनन् । जब कुनै व्यक्तिलाई सत्ता र शक्ति जसरी भए पनि प्राप्त गर्ने भन्ने महत्वाकांक्षा बढ्दै जान्छ तब यो प्राप्तिका लागि उसमा क्रूरता बढ्छ त्यसपछि सत्ता प्राप्तिका लागि जे पनि गर्न सक्छ । उदाहरणका लागि दश वर्षे क्रूरतम हिंसात्मक गतिविधिलाई लिन सक्छौं । जब ऊ सत्तामा पुग्छ तब त्यहाँ टिकिरहन तथा आफ्नो शेषपछि आफ्ना सन्तान त्यहाँ टिकिरहन उसले नैतिक तथा अनैतिक सबै हतियार प्रयोग गर्न थाल्छ । तानाशाह बन्ने व्यक्तिमा विशिष्ट प्रतिभाको दर्कार हुन्छ । उसले अन्य राजनीतिक दलका नेताहरू हुन् वा जनता, सबैलाई आफ्नो कुराले मुर्ख बनाउन सक्नुपर्छ ।

चाहे धम्कीले होस्, चाहे प्रलोभन, चाहे उटपट्यांग कुराहरूले उसले जनतालाई मुर्ख बनाइरहेको हुन्छ । गलत कुरालाई सही र सही कुरालाई गलत सावित गर्नसक्ने क्षमता हुन्छ तानाशाहमा । तर, कमजोर राष्ट्रका तानाशाह अन्तर्राष्ट्रिय सहयोग र समर्थनविना तानाशाह बन्न सक्दैनन् । यसका लागि चाहे उसले आफ्नो देशलाई विदेशी शक्तिकेन्द्रको उपनिवेश बनाउनु परोस् आफ्नो देशको मौलिक धर्म, परम्परा र सभ्यताको विनाश नै गर्नु नपरोस् । उसले गरेको राष्ट्रघातलाई उसले राष्ट्रहितमा भएको प्रमाणित गर्दै आफू राष्ट्रवादी नेता भइटोपल्छ । यस्ता तानाशाहहरूले लोकतन्त्रको छाता ओढ्ने गर्छन् तर आफू सकिने अवस्थामा गएको देखिएपछि पुनः आफ्नै रूपमा फर्कन बेर गर्दैनन् ।

विश्वमा थरिथरिका तानाशाह थिए । एक थिए तुर्कमेनिस्तानका तानाशह सपरमुरात नियाजोव जसले रुह्रम नामक धार्मिक प्रपोगण्डाको किताब लेखेर विद्यार्थीहरूलाई अनिवार्यरूपमा पढ्न बाध्य गरेका थिए । उनी यस्तो सन्की थिए कि यो किताब एलियनले पढ्छ भनेर आकाशमा पनि पठाएका थिए । आकाशभन्दा डाँडाको चुचुरोमा भ्यु टावर बनाउनेहरूको पनि यसरी नै सम्झना हुन्छ । आफैं चुच्चे नक्सा थपेर राष्ट्रवादी बन्ने, आफैं पाठ्यक्रमबाट त्यसलाई हटाउने ।

बेनिटो मुसोलिनी एउटा शिक्षकबाट इटलीको खुंखार तानाशाह बन्न सफल भएका थिए । उनले पनि कार्ल माक्र्सको दर्शन निकै नै पढेका थिए । उनले पनि मजदुर र गरिब तथा सर्वहारा वर्गलाई न्याय दिलाउन हिंसा आवश्यक छ भनेका थिए । उनले पनि आफ्नो लगानीको मिडियाबाट आफ्नो पकड बनाएका थिए । उनले पनि आफ्नो सुरक्षाका लागि प्यारामिलिट्री फौज नै राखेका थिए । उनले पनि सत्ता प्राप्तिका लागि जमेरै उत्पात मच्चाएका थिए, विरोधीहरूको नाममा विरोधीमात्र नभएर निर्दोषको पनि हत्या गरेका थिए ।

सत्तामा गएपछि आफूलाई देखाउन भए तापनि सुधार्ने कोसिस गरेका थिए । फासिष्ट मुसोलिनीका कारण देश बर्बाद भएकाले जनता उसको विरुद्धमा उत्रे । उनी जर्मनीको सहयोगमा पत्नीसहित स्वीट्जरल्याण्ड भाग्न लाग्दा विरोधीले उनीहरूलाई समातेर एउटा फार्महाउसमा बन्द गरे र भोलिपल्ट दुवैजनाको गोली हानी हत्या गरे । त्यसपछि उनको लाशमाथि जनताले ढुंगा हाने । जे गरे तापनि जुनसुकै आवरण तथा संरक्षणमा भए तापनि तानाशाहहरूको अन्त्य दुःखद् नै हुन्छ ।

नेपाली जनताले प्रत्येक पाँच (पाँच वर्षमा चुनाव गराएर, नेताहरूलाई इदी अमिन जस्तै यो सन्तानको मासु खान्छौं वा यसलाई हुर्काउँछौं भन्दै दिनुपर्ने बाध्यता छ, चाहे त्यो सन्तान जन्माउन असैहृय पीडा नै किन नखपेको होस् । वैशाख ३० गते हुने चुनाव स्थानीय निकायको हो, न कि संसदको तर अचम्म के छ भने राष्ट्रको ढुकुटीको दुरुपयोग गर्दै गठबन्धन सरकारका शीर्ष नेताहरू, मन्त्रीहरू र अन्य नेताहरू एक अर्कालाई जिताउन देश दौडाहामा छन् ।

स्थानीय जनताले आफ्नो ठाउँको जसले विकास गर्छ, जनताको समस्याको समाधान गर्छ, जो इमानदार छ त्यस्तो उम्मेदवारलाई भोट दिन पाउनुपर्ने हो । निर्णायक शक्ति जनता हो तर भरतपुरमा गएर देउवाले हँसिया हतौडामा भोट नहाले गठबन्धन टुट्ने, आफू र पार्टी खत्तम हुने बताए । देशको प्रधानमन्त्री कुनै गठबन्धन वा दलको हुनु हुँदैन ऊ सबै जनताको हो । उनले कसैका लागि भोट माग्न मिल्दैन तर देउवा अपवाद निस्के ।

नेपाली कांग्रेसको मतलाई सुरक्षित राख्न जगन्नाथ पौडेलले मेयरको उम्मेदवारी दिएका हुन् । दश वर्षसम्म हँसिया हतौडामा कांग्रेसहरूले मत हाल्दै गए उनीहरूले त रूख चिहृन नै बिर्सनेछन् । झन्, पुष्पकमल दाहालले यो गठबन्धन बीस वर्षसम्म रहन्छ भनेका छन् । त्यसो भए बीस वर्षसम्म कांग्रेसलाई मत दिनेहरूले हँसिया हतौडामा मत दिएर कांग्रेस परित्याग गर्ने ? बरू माओवादी र कांग्रेसको एकीकरण गर्दा नेता तथा कार्यकर्ताका लागि उत्तम हुने थियो । पुष्पकमल दाहालले धम्कीको भाषा बोल्दै रेणु दाहाललाई नजिताए देश नै दुर्घटनामा जानसक्ने धम्की दिए ।

के यो देश भनेको रेणु दाहाल वा पुष्पकमल दाहाल हुन् । उनीहरू सत्तामा नआए देश डुब्छ भने उनीहरू कस्तो देश डुब्ने व्यवस्था ल्याएको हो ? देउवा तथा दाहाल र उनका परिवार नजिते देश र गणतन्त्र डुब्ने ? यसको मतलब त यो व्यवस्थाको जरो ने कुहिसकेको रहेछ । जबरदस्ती माटो र खाद थपेर बचाउने कोसिस गर्दैछन् यिनीहरू । विराटनगरमा गएर देउवाले भाषण गरे, गठबन्धनलाई नजिताए ओली सत्तामा आउँछन् । एमाले तथा ओली यो व्यवस्थाको पक्षधर होइनन् र ? भ्रष्टाचार, नातावाद, कृपावाद, राष्ट्रघातमा सबै गणतन्त्रवादीको एउटै मत छ, एउटै सिद्धान्त छ ।

प्रजातन्त्रमा जुनसुकै दल सत्तामा जान पाउनुपर्छ, कुनै एकलौटी दल वा गठबन्धनमात्र होइन । गठबन्धनका नेताहरूलाई चुनावमा हारको मानसिकताले सताएको छ जो उनीहरूको बोलीबाट फुटिरहेको छ । डर अचम्मको कुरा हुन्छ । रुमानियका राष्ट्रपति निकोलाई चाउचेस्कुलाई ओस्मोसिस कपडाको माध्यमबाट विरोधीले उनको हत्या गर्छन् भन्ने डर थियो । त्यसैले उनी सधैं एकचोटि लगाएको लुगा र जुत्ता दोस्रो पटक लगाउँदैनथे बरू त्यसलाई जलाउन लगाउँथे ।

डडेल्धुरामा गएर आरजुले धम्कीपूर्ण भाषामा कांग्रेस नजितेको स्थानीय निकायमा बजेट पठाउँदिन भनिन् । के राष्ट्रको बजेट आरजुको पेवा हो र ? कैलालीमा आएर प्रलोभनको भाषा बोल्दै कांग्रेसलाई जिताए पाँच/छ जनालाई निःशुल्क मलेसिया पठाउने भनेकी छन् । नेपालमा उद्योगहरू खोलेर रोजगारी दिने कि विदेशमा श्रमदास बनाएर युवाहरूलाई पठाउने ? कहिलेसम्म नेपाललाई भाडाको श्रमदास जन्माउने मुलुक बनाउने हो यो व्यवस्थाले ?

नेताहरूको धम्कीपूर्ण भाषाले उनीहरू कुनै शक्तिको बलमा तानाशाहीतिर गइरहेको आभाष हुन्छ । भाषा ओलीको पनि सभ्य छैन । गणतन्त्रवादी दलहरूसँग अहिले चुनावी एजेण्डा छैनन् । यिनीहरूको वाकयुद्ध हेर्दा लाग्छ मुलुकमा स्थानीय निकायको निर्वाचन नभएर महाभारत नै भइरहेको छ । यो देशका लागि दुर्भाग्य हुनेछ ।

करिब पैंतीस छत्तीस वर्षअगाडिको कुरा हो । म एउटा थारू गाउँमा गएको थिएँ । त्यहाँ केही पञ्च भलादमी सम्मिलित एउटा सभा बसेको थियो । उत्सुकता जाग्यो र त्यहाँ गएँ, केको सभा रहेछ भनेर बुझ्न । एकजना थारूले अर्काकी थरूनी भगाएर ल्याएको रहेछ । त्यसबारेमा न्याय सम्पादन गर्न बसेको सभा रहेछ त्यो । जरुवा (जार) र जर्किहा (दोस्रो मानिससँग पोइल आएकी महिला) र ती महिलाको थारू पनि त्यहीँ थिए । अन्त्यमा पञ्च भलादमीले फैसला गर्छन् जरुवाले आफ्नो जरुवालाई केही पैसा तिने, एउटा खसी काटेर मासु र जाँडसहितको भोज खुवाउने । यति भएपछि जर्किहा उसको हुन्छे । जर्किहाको थारूले पनि प्रस्तावलाई स्वीकार गर्‍यो ।

भोलिपल्ट खसी काटेर भोज भयो । खसीको एउटा ठूलो फिल्ला गाउँको प्रधानकहाँ पठाइदिएका थिए । जरुवाको घरमा पहिलो पति पनि छोरासहित भोज खान आउँछन् । जर्किहाले पकाएर सबैलाई ख्वाउँछे । भोज खान्छन्, जाँडको सुरमा जरुवा-जरुवा र जर्किहासहित सबैले ख्याल ठट्टा गर्छन् । पहिलो पतिले स्वास्नी पोइल गएको खुशीयाली मनाउँछ ।

अहिलेको गठबन्धन पनि जरुवा जर्किहाको भोज जस्तो लाग्यो । आफ्नो दलको सट्टा गठबन्धनको अर्कै दलमा भोट हाल्नु भनेको जारको पक्षमा मतदान गरेजस्तै हो । जो आफ्नी स्वास्नीलाई आफूसँग राख्न नसकेर अरूले लग्दा खुशीयाली मनाउँदै भोज खान्छन् । आफ्नी स्वास्नीलाई अरूले लग्दा पैसा र भोजमा बिकेर खुशी मनाउनेको कमी छैन यहाँको राजनीतिक वृत्तमा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?