निरन्तर साधनापछिको कलाकारिता साँच्चिकै जीवन्त हुन्छ : कठायत

Read Time = 16 mins

डोटी शिखर नपा-३ स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर सनम कठायतले नेपाली कला क्षेत्रमा आफूलाई समर्पित गर्दै आउनुभएको छ । उहाँ ८०० भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनयमार्फत् धेरै मनमष्तिस्कमा राज गर्न सफल हुनुभएको छ । सूक्ष्म जीवविज्ञानमा स्नातकोत्तर गर्नुभएका सनम स्वास्थ्य अनुसन्धानकर्तासमेत हुनुहुन्छ । सनमले सांगीतिक सहकार्य नगरेका राष्ट्रका अग्रजदेखि अनुज कलाकार, मोडल, गायकगायिका, निर्देशक तथा प्राविधिक सायदैमात्र होलान् । विन्धवासिनी म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, राष्ट्रिय समावेशी म्युजिक अवार्ड, एपिक नेपाल म्युजिक अवार्डलगायत दर्जनौँपटक सर्वोत्कृष्ट अभिनय मोडलको अवार्ड उहाँले चुम्न सफल हुनुभएको छ । म्युजिक भिडियो कलाकार संघको स्थापक कार्यसमिति सदस्यसमेत रहनुभएका सनमले थुप्रै मानसम्मान, पुरस्कार पनि प्राप्त गर्नुभएको छ । निरन्तर साधनापछिको कलाकारिता साँच्चिकै जीवन्त हुन्छ भन्नुहुने सनम कठायतसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

व्यस्त हुनुहुन्छ है ?
हजुर, दशकौंदेखिको मेरो अभिनय यात्रा जारी छ, उही पेशागत ऊर्जा अनि मेरा भगवान्रूपी दर्शकको अपार माया साथै सम्पूर्ण स्रस्टा तथा सर्जकको अनवरत साथले गर्दा व्यस्त नै छु । साथै अग्रजदेखि अनुज प्रतिभा सबैसँग सहकार्यको सु–अवसर पाइरहेको छु, खुसी लाग्छ ।

कसरी आउनुभयो यो क्षेत्रमा ?
सानैदेखिको कलाकारिताप्रतिको मोह अनि एउटा सफल र सक्षम कलाकार बन्ने सपनाले सञ्चार क्षेत्रका विभिन्न अनुभव तथा अनुभूतिहरूसँग साक्षात्कार गर्दै कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँ ।

डोटीको मुडभरा हालको शिखर नपादेखि हालसम्मको यात्रालाई कसरी लिनुहुन्छ ?
सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला एक पहाडी जिल्ला हो । र, मैले बालापन बिताउँदासम्म सञ्चार, विद्युत्, यातायात कुनै पनि सुविधा लिएको अनुभव छैन । सञ्चारको माध्यम भनेकै रेडियोमात्रै थियो । यद्यपि मैले बाँचेको परिवेश मौलिक कला संस्कृतिमा निकै धनी थियो, सानैदेखि मेला चाडपर्वमा हुने विभिन्न देउडा, सांस्कृतिक कार्यक्रममा मेरो सक्रिय सहभागिता हुने गर्दथ्यो । त्यही संस्कृतिप्रतिको मोहले जन्माएको कलाकार हो म, अहिले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली म्युजिक भिडियो पारखीको मायाले राष्ट्रिय कलाकारको परिचय बनेको छ, सबैको निरन्तर माया र साथ पाएको छु । आफूलाई निकै भाग्यमानी ठान्छु ।

पढाइमा अब्बल यहाँ मेडिकल साइन्स विज्ञ, सञ्चार हुँदै अभिनय, मोडलिङ क्षेत्रमा आकर्षित हुनुभयो ?
म गाउँमै हुर्के पनि एक शिक्षित परिवारबाटै प्रतिनिधित्व गर्दछु । बुबा र अंकल दुवैजना शिक्षक, पढाइमा उत्कृष्ट हुन मेरा लागि अवसर र चुनौती दुवै थियो । म पनि सानैदेखि निकै मिहिनेती नै थिएँ तर मभित्र रहेको कलाकारिताको लगाव स्थानीय कार्यक्रममा सहभागी भएर मन बुझाउँथँे । पछि एसएलसीको पढाइ सकेर महेन्द्रनगरमा अवस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा आइएस्सी अध्ययन गर्ने बेलादेखि सञ्चार क्षेत्रमा पनि आबद्ध भएपछि यो यात्रा राजधानीको गोर्खा एफएमसम्म नै निरन्तर रहृयो । निकै समय एक कार्यक्रम प्रस्तोताका हैसियतले कलाकार र कलाकारितालाई अझै नजिकबाट नियाल्ने अवसर पाएँ । आफूसँगै हुर्किंदै गएको कलाकारिताको मोह र परिकल्पनाले सार्थक रूप लियो । त्यसैले पढाइसँगै सञ्चार क्षेत्रले दिएको पहिचानले कलाकारिताको यात्रामा निकै सहयोग पुर्‍यायो ।

कलाकारिता र सिकाइको सीमा हुँदैन । सामाजिक अवधारणा परिवर्तनका लागि समर्पित छु । प्रेम, वियोग अनि समसामयिक घटनाको प्रतिबिम्बित पात्रसँगै समाजमा व्याप्त कुरीतिहरू छाउपडी प्रथा, भेदभाव, बाझोपनलगायत विभिन्न सीप तथा स्वास्थ्यमूलक जनचेतनालाई आफ्नो अभिनयमार्फत् पनि प्रस्तुत गर्दै आएको छु ।

पहिलोपटक म्युजिक भिडियोमा अभिनय गर्दाको अनुभव कस्तो रहृयो ?
मैले म्युजिक भिडियोमा अभिनय सुरु गरेको एक दशक बढी समय बितिसकेछ । करिब १२ वर्षअघि नेपाली सदाबहार नायिका निरुता सिंहको स्वर रहेको ‘लुट्यौ तिमीले..’ बोलको गीतको भिडियो औपचारिक अभिनय यात्राको पहिलो म्युजिक भिडियो हो । त्यसपछि अनवरत अभिनय यात्रामै छु ।

अहिलेसम्म कति जति म्युजिक भिडियोहरूमा अभिनय गर्नुभएको छ ? केही नाम लिनुपर्दा ?
म जहिले पनि स्तरीय संगीत अनि दीर्घकालीन गुणस्तरलाई आत्मसात गर्दै आएको छु । अफर आए जति सबै भिडियो गरेको भए त अझै धेरै नै संख्या हुन्थ्यो तर मैले संघर्षका दिनदेखि नै एक उत्कृष्ट म्युजिक भिडियो बन्न सर्वप्रथम अडियो नै उत्कृष्ट हुनुपर्छ भन्ने अवधारणालाई अनुशरण गर्दै छानेर अभिनय गर्दै आएको छु । विभिन्न विधाका करिब ८०० भन्दा बढी म्युजिक भिडियोमा मेरो अभिनय छ । नेपाली संगीतका शिखर गायक स्व. प्रेमध्वज प्रधानलगायत नेपालका सम्पूर्ण अग्रजदेखि अनुज गायकगायिकाका स्वरमा रहेका सयौं सफल गीतका म्युजिक भिडियोमा अभिनय गर्ने सु–अवसर पाएको छु । ‘अपार माया’, ‘आफू दुखी बनेर’, ‘तिम्ले भुल्न सके पनि’, ‘अन्त माया’, ‘पहिलो माया’, ‘तिम्रो संसार’, ‘किन मरिन म’, ‘दोष’, ‘भूपू माया’ लगायत धेरै-धेरै छन् । सयौं म्युजिक भिडियोहरू संगीतका विभिन्न विधामा कीर्तिमानसमेत कायम गर्न सफल छन् ।

तपाईंले प्रायः वियोगान्त गीतका म्युजिक भिडियोहरूमा अभिनय गरेको पाइन्छ । यहाँको रोजाइ यस्तै हो वा अन्य कुनै कारण छ ?
हजुर, यो मेरो रोजाइभन्दा पनि मेरा दर्शकहरूको रोजाइ हो । म स्वभावैले पनि गहन स्वभावको अनि अभिनय यात्राको सुरुवातमा सुगम संगीतका गीतहरूबाटै अभिनय थालनी गरेको हुनाले पनि वियोगान्त अभिनयको बानी नै प¥यो । बुझ्दै जाँदा वियोगान्त गीतमै दीर्घकालीन सांगीतिक स्थायित्व देखेँ र मेरा लागि दर्शकहरूको माया पनि यतै पाएँ ।

अभिनय गर्दा यहाँको प्राथमिकतामा के पर्दछ ?
सर्वप्रथम अडियो, उत्कृष्ट अडियोसँगै दक्ष निर्माण टिम र सहकर्मी कलाकार साथै भिडियोमा प्रस्तुत गरिने विषयवस्तु अनि यसको सामाजिक प्रभावकारिताबारे बुझेर मात्रै काम गर्छु ।

कलाकारको रियल लाइफ र रिल लाइफलाई कसरी समायोजन गर्नुहुन्छ ?
एक कलाकार रिलका लागि पात्र हो भने रियल लाइफमा समाजको एक परिचित व्यक्ति हो । जसको व्यक्तिगत जीवन शैली र सामाजिक जीवनयापनको तरिकाले समाजमा प्रत्यक्ष असर पर्ने हुँदा निकै सचेत हुनु आवश्यक छ । रिलमा विभिन्न पात्रका रूपमा अभिनय गरे जस्तो रियल लाइफलाई लिनुहुन्न । यो व्यक्ति र पेशा समायोजनलाई निकै सजग भएर लिनुपर्दछ ।

आफ्नो अभिनयबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु । सबैको माया र साथ पाएको छु । तर, अझै गर्न र सिक्न धेरै बाँकी छ भन्ने लाग्छ । कलाकारिता र सिकाइको सीमा हुँदैन । सामाजिक अवधारणा परिवर्तनका लागि समर्पित छु । प्रेम, वियोग अनि समसामयिक घटनाको प्रतिबिम्बित पात्रसँगै समाजमा व्याप्त कुरीतिहरू छाउपडी प्रथा, भेदभाव, बाझोपनलगायत विभिन्न सीप तथा स्वास्थ्यमूलक जनचेतनालाई आफ्नो अभिनयमार्फत् पनि प्रस्तुत गर्दै आएको छु ।

यहाँका अधिकांश गीतका भिडियोले लोकप्रियता हासिल गरेका छन्, कस्तो अनुभूति हुन्छ ?
मैले रोजेको क्षेत्र अनि आफ्नो इच्छाले थालिएको विधामा यसरी बर्सेनि सर्वोत्कृष्टको उपाधि पाइरहँदा अत्यन्तै खुसी लाग्छ साथै मेरो पेशागत जिम्मेवारी अझै बढेको महसुस हुन्छ । र, म मेरा शुभेच्छुक दर्शक, सहकर्मी, सम्पूर्ण स्रस्टा र सर्जकहरू कसैलाई पनि निराश बनाउने छैन ।

चलचित्रको नायक भएर अभिनय गर्ने सोच बनाउनुभएको छैन ?
चलचित्र होस् या म्युजिक भिडियो, जहाँ भए पनि अभिनय नै गर्ने हो । केवल क्यानभास फरक हो । थुप्रै चलचित्रको अफर नआएको होइन तर मलाई समय र प्रभावकारिताका हिसाबले म्युजिक भिडियो नै उत्तम लाग्छ । अहिले हाम्रो देशमा चलचित्रभन्दा म्युजिक भिडियोहरू नै बढी लोकप्रिय भइरहेका छन् । अनि दर्शकको माग पनि दिनहुुँ बढिरहेको छ । र, आर्थिक तवरले पनि एक पेशागत कलाकारलाई म्युजिक भिडियो नै उत्कृष्ट छ ।

एउटा कलाकारमा हुनुपर्ने मुख्य गुणहरू के-के हुन् जस्तो लाग्छ ?
कलाकारिता समाजको दर्पण हो साथै अर्थपरक कलाकारिता एक सामाजिक संस्कारसमेत हो । अनुशासन, धैर्यता र लगनशीलता कलाकारको सफलताका सूत्र हुन् । रिजल्टभन्दा पनि दीर्घकालीन योजनासहितको कलाकार अनि समयसापेक्षिक र साधनासहितको कलाकारिता जीवन्त रहन्छ । अध्ययनलाई जोड दिएर निरन्तर साधनापछिको कलाकारिता साँच्चिकै जीवन्त हुन्छ ।

यहाँले कलाकारितासँगै सामाजिक तथा स्वास्थ्य कार्यहरूमा पनि आफूलाई संलग्न गराउँदै आउनुभएको पाइन्छ नि ?
स्वास्थ्य मेरो पेशागत विज्ञता हो र सामाजिक स्वास्थ्य मेरो जिम्मेवारी नै हुन आउँछ अनि केही संघ संस्था र आश्रमहरूमा आबद्ध रही असहाय, अनाथ बालबालिकाहरूको सेवा र सहयोग । म यही समाजको जिम्मेवार नागरिक भएको हुनाले आफूले सक्ने जति आत्मसन्तुष्टिका लागि गरिरहेको छु ।

यहाँले यो क्षेत्रमा लागेर थुप्रै मानसम्मान, अवार्ड र पुरस्कार प्राप्त गरिसक्नुभएको छ, कस्तो लाग्छ फर्केर हेर्दा ?
दर्जनौँपटक विभिन्न राष्ट्रिय म्युजिक अवार्डहरूमा सर्वोत्कृष्ट मोडलको अवार्डले सम्मानित भइसकेको छु साथै दशक अभिनय सम्मान, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७९’लगायत दर्जनौँ सम्मान साथै पेशागत योगदानको उच्च कदर गर्दै नेपाल सरकार गृह मन्त्रालय र विभूषण समितिको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट प्रदान गरिने राष्ट्रकै विशिष्ट सम्मान ‘जनसेवा श्री’ लगायतका राष्ट्रिय विभिन्न ओजपूर्ण उपलब्धिहरूले मेरो अभिनय जीवनबाट सन्तुष्ट छु । यी सम्पूर्ण उपलब्धिहरूलाई अभिनय जीवनको उपजका रूपमा लिएको छु साथै ऊर्जाशील प्रेरणा र थप जिम्मेवारीसमेत हुन् ।

अबको यहाँको योजना के छ ?
जबसम्म मेरा भगवान्रूपी दर्शकहरूको माया र साथ मसँग रहन्छ निरन्तर अभिनयमै रहनेछु । अग्रजदेखि अनुज पुस्ताका सम्पूर्ण प्रतिभाशाली कलाकारहरूसँगको सहकार्यमा अझै उत्कृष्ट र दर्शकमुखी कार्यहरू गर्दै जानेछु । विभिन्न नवप्रवेशी कलाकारहरूको सहयोग र सहकार्यका लागि एभरेष्ट ग्यालरी स्थापना गरेको छु । अभिनय र गीत संगीतका माध्यमबाट समाज परिवर्तनको अभियानमा समेत सक्रिय रहनेछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?