चुनावी माहोलले नछोएका सप्तरीका दुई बस्ती

Read Time = 7 mins

राजविराज । मुलुकभर यतिबेला निर्वाचनको माहोल छ । तर, नेपालकै प्रदेश २ अन्तर्गतको सप्तरी जिल्लाको राजगढ गाउँपालिकाको एक मुसहर बस्तीमा चुनावको कुनै रौनकता छैन ।

मुसहर बस्तीमा चुनावको माहोल छाउन नसकेको कारण हो उनीहरूको गरिबी । हिलाम्मे र साँघुरो बाटो, निबस्त्र बालबालिका, त्रिपाल मुनिको यी त्यहाँका पृष्ठभूमि अवस्थाले गाँजेको छ । राजगढ गाउँपालिकाको वडा न १ झुटकिको सदा टोल हो । २० घरपरिवार बसोबास रहेको उक्त बस्तीमा स्थानीय सरकारले गरिब विपन्नका लागि कुनै पनि तवरबाट लगानी नगरिदिएको खण्डमा उनीहरू निर्वाचनदेखि बेखबर बनेको हो । दैनिक ज्यालादारीले जीवन निवाह गरिरहेका उक्त बस्तीका वासिन्दा साँझ बिहानको छाक खानाको लागि उनीहरू सङ्घर्षरत छन् । बस्तीको बिचमा बतिसलाल मनोज, प्रकाश, सुरेन्द्र ,सन्तोष पाँच दाजुभाइको घर छ । घरको वरिपरि फोहरको थुप्रो अनि छानो फाटेको, टाटी च्यातिएको घरमा उनीहरू बसोबास छ । चुनाव बारे सोध्दा स्थानीय बतिसलाल सदाले भन्नभयो– हजुर मेरो घरको हालत हेर्नुहोस्, घरमा छाना छैन, टाटफरक टुटेको छ हामीले एकछाक खानका लागि ज्यालादारी गर्न जाने हो कि ? नेताको पछि पछि कुद्ने हो ? चुनाव हुन्छ तर के का लागि चुनाव हुँदैछ त्यसबारे हामीलाई कुनै जानकारी छैन । सरकारले गाउँ गाउँमा सिंहदरबार ल्याउने भने पनि गरिव दलितका लागि होइन रहेछ स्थानीय मनोज सदाले भन्नुभयो ।

सरकारले खरको छाना उन्मूलन गरिने परिपत्र गरि बजेट पठाए पनि उनीहरूले छानामा लगाएको त्रिपाल र प्लास्टिकले खेपिरहे । गाउँपालिकाले संघीय सरकारबाट आएको जस्तापाता दिन नसक्नु कारण हो लाभग्राहीको संख्या बढी भएकाले हो । राजगढ गाउँपालिकाको सूचना अधिकृत चन्द्रकिशोर यादवका अनुसार उक्त बस्ती कसैको नम्बरी रहेकाले जस्तापाता नदिएको कथन छ ।

सामान्य वर्षामा ओतलाग्ने ठाउँ छैन, झन् चिसोयाममा के हालत होला । बतिसलाल सदाको पारिवारिक अवस्था निकै कमजोर छ । स्थानीय सरकारले गरिव विपन्नका लागि ल्याइएको जनता आवास कार्यक्रम यहाँ नपुग्नु विडम्बना हो । उनीहरूको बसोबास गरिने राम्रो घर छैन कसरी यो महँगो दैनिकमा नेताका पछि जाने होला । बतिसलाल सदाको परिवारप्रति कुनै पहल नगरिनु दुःखद पक्ष हो । जनताको दुखसुखमा सहयोग नहुनु स्थानीय सरकार गरिव दलितप्रति विभेद गरेको उक्त बस्तीमा भोट माग्न पुग्नुभएको जनमत पार्टी मेयरका उम्मेदवार अशोक साह तर्क गर्नुभयो ।

यस्तै सप्तरीकैे डाक्नेश्वरी नगरपालिकामा गाउँमा चुनावी माहोल रहे पनि वडा नम्बर ५ स्थित मुसहर बस्तीका विपन्न समुदायलाई भने चुनावी सरगर्मीले अझै छुन सकेको छैन । एक सय ५० जति घरधुरी रहेको सो मुसहर बस्तीका चुनाव प्रति उदासिन छन् । कारण हो– उनीहरूका समस्याप्रति जनप्रतिनिधिहरूकोउदासिनता । वर्षामा डुबान, बाटोघाटोको कठिनाइ, गरिबी, बेरोजगारी लगायतका समस्याले पीडित रहेका उनीहरु जसले जिते पनि आफूहरूका लागि केही गरिदेलान् भन्ने आशा मरिसकेको बताउन थालेका छन् । ‘पहिले पनि यसैगरी अनेक सपना देखाउँदै भोट मागेका हुन’ स्थानीय जलेश्वरी देवी सदाले भन्नु भयोे, ‘सपना सपनामै सिमित भयो, काम केही पनि भएन ।’

बस्ती छेउकै पोखरीमा वर्षायाममा पानी जमेर घर डुवानमा पर्ने गरेको बताउँदै उहाँले पानी निकासीका लागि जनप्रतिनिधिलाई भन्दा समेत कुनै सुनुवाई नभएको पीडा पोख्नुभो । ‘हामी जस्ता असहायलाई डुवानमा परेको बेला पनि हेर्दैन भने जनप्रतिनिधिको के काम?’ उहाँले थप्नु भयो–‘काम हुनेछ भने विश्वास जसले दिलाउन सक्छ हामी उसैलाई भोट दिन्छौं ।’

सोही बस्तीकी ७५ वर्षीया बुलो सदाले गाउँमा उपचारको व्यवस्था नरहेको बताउँदै विरामी परेको बेला आफुहरुलाई पैसा तिरेर उपचार गर्न पनि समस्या रहेको पीडा पोख्नुभयो। वडामा रहेको स्वास्थ्य संस्थामा निःशुल्क औषधी दिने भनिए पनि लिन गएको बेलामा रित्तो हात फर्किएर आउनुपरेको उहाँको भनाइ छ ।
चुनावका बेला जुलुसमा जानलाई बोलाएर दिनभरि घुमाउँदै भोकभोकै फर्काइदिएको कारण मुसहर बस्तीकी बुल्नतीदेवी सदा निराशा व्यक्त गर्नुहुन्छ । दलित बस्तीमा कतिपयले जनता आवास कार्यक्रमबाट निःशुल्क पक्की घर पाएको तर आफुहरुकालागि कुनै जनप्रतिनिधिले पहल नगरिदिएकोमा असन्तुष्ट ब्यक्त गर्नुहुन्छ, वहाँ ।

एक सय ५० घर दुरीमा एउटा मात्रै ट्युवेल रहेका कारण पिउने पानीको समेत अभाव खेप्नु परिरहेको उहाँहरुको भनाइ छ । पानीसम्म पिउन नपाएको बारेमा जनप्रतिनिधिहरुलाई भन्दा पनि कुनै व्यवस्था नगरिदिएको जलेश्वरी देवी सदाले गुनासो सनाउनु भयो । ‘रोजगारीको व्यवस्था गर्ने भनि पहिले पनि आश्वासन नदिएका होइन’ उहाँले भन्नुभयो, ‘हाम्रा यावत समस्याको बारेमा समाधान जसले गर्छु भनि विश्वास दिलाउला उसलाई मतदान गर्नेछौं ।’

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?