नेपालले जित्यो एकदिवसीय शृंखला

Read Time = 3 mins

काठमाडौं । जिम्बाबेको ‘ए’ टोलीविरुद्धको एकदिवसीय क्रिकेट शृंखला नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा जित हात पार्दै नेपालले शृंखला दुई÷एकले आफ्नो पक्षमा पारेको हो । नेपालले जिम्बाबे ‘ए’ लाई ६ विकेटले पराजित गरेको थियो । जितका लागि २१४ रनको लक्ष्य पछ्याएको नेपालले ३१ औँ ओभरमा लक्ष्य हासिल गरेको थियो । वर्षाका कारण ३३ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्नुभएपछि जित सम्भव भएको थियो ।

कुशलले ६१ बलमा सात चौका र चार छक्कासहित ८४ रनसहित सानदार पारी खेल्नुभयो । यस्तै अर्का ओपनर आसिफ शेखले ३७ बलमा २९ रन जोड्नुभएको थियो । सुनिल धमलाले ६ रनमात्रै बनाउन सक्नुभयो । त्यसपछि दीपेन्द्र र विनोद भण्डारीले नेपाललाई अघि बढाउनुभयो ।
दीपेन्द्रले ४३ बलमा ६० रन जोड्नुभयो । उहाँले चार चौका र तीन छक्का प्रहार गर्नुभयो । २६ बलमा २८ रन जोड्नुभएका विनोदसमेत नटआउट रहनुभयो ।

गए राती परेको वर्षाका कारण तोकिएको समयमा मैदान खेल्नयोग्य नहुँदा खेल ३३ ओभरमा घटाइएको थियो । नेपालले टस जितेर जिम्बाबेलाई पहिलो ब्याटिङ गर्न निम्तो दिएको थियो । जिम्बाबेले ३२ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै २१३ रनको योगफल बनायो । जिम्बाबेका लागि टाडीवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिनुभयो ।

यस्तै कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वीले १९ रन जोड्नुभयो । बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिनुभयो भने सोमपाल कामीले दुई विकेट झार्नुभयो । त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट हात पार्नुभएको थियो । प्रतियोगितामा नेपालका करण केसी प्लेयर्स अफ दि सिरिज घोषित हुनुभयो ।

जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलेको हो । टोनी मुनिओगांको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?