‘नमस्ते इद २०२२’ सम्पन्न

Read Time = 3 mins

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित हलमा शनिबार ‘नमस्ते इद २०२२’ मनाइएको छ । जुन ओपन स्पेस नेटवर्कले वार्षिकरूपमा आयोजना गर्दै आएको उत्सवको चौथो संस्करण थियो । नमस्ते इद नेपालमा मनाइने एक मात्र र सबैभन्दा ठूलो बहुसांस्कृतिक उत्सव हो, जसले रमजान उपवास महिनाको अन्त्य भएको र इद-उल-फित्र उत्सवको जनाउ दिने आयोजकको भनाइ छ । इद मूलतः एक महिनाको व्रत पूरा गरेपछि मनाइने पर्व हो ।

नमस्ते इदको मूल उद्देश्य बहुसांस्कृतिक कार्यक्रमका रूपमा इद मनाउने नेपालीहरूको सकारात्मक मनोबल दर्शाउनु रहेको आयोजकले जनाएको छ । उत्सवको मुख्य आकर्षणका नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन शो’ रहेको थियो । साथै नेपालस्थित अमेरिकी दूतावासकी सांस्कृतिक मामिला अधिकृत साराह जास्मिन नाइट, अभिनेत्री ऋचा शर्मा र मिस नेपाल २०१० तथा मिडिया पर्सनालिटी सदिक्षा श्रेष्ठलगायत चर्चित मोडलसँगै र्‍याम्पमा देखिएका थिए । उत्सवमा ‘प्रोजेक्ट सारंगी’ का संस्थापक किरण नेपालको विशेष सांगीतिक प्रस्तुति पनि रहेको थियो भने किड्स जोन, खेलकुद, सुफी तथा कवाली र नृत्य प्रस्तुतिसमेत रहेका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यकाका मेयर उम्मेदवारद्वय बालेन शाह र केशव स्थापितसमेतको सहभागिता रहेको बताइएको छ । कार्यक्रमकी संस्थापक तथा निर्देशक फैजा परविन भन्नुहुन्छ, ‘सबै पृष्ठभूमिका मानिसलाई सहभागी गराउने उद्देश्यले खुला बहुसांस्कृतिक कार्यक्रमका रूपमा सन् २०१७ देखि हामीले नमस्ते इद आयोजना गर्न थालेका हौँ ।

यसको उद्देश्य अन्तरविश्वास, समझदारी, मित्रता र बहुसांस्कृतिक प्रवद्र्धन गर्ने पनि रहेको छ । नेपालका विभिन्न समुदायबीच विविधतामा एकता र मेलमिलाप झल्काउनु र सांस्कृतिक उत्सवको माध्यमबाट स्थानीय समुदायलाई मजबुत र एकताबद्ध बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?