आफ्ना उम्मेदवार जिताउन शीर्ष नेताहरूको अन्तिम कसरत

हिमालय टाइम्स
Read Time = 14 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउन चुनावी देश दौडाहमा रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सोमबार पनि निकै व्यस्त देखिए । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारको अन्तिम दिन मंगलबार गृहजिल्ला डडेल्धुरामै प्रचारप्रसारमा व्यस्त रहने कार्यक्रम छ । सभापति देउवा सोमबार नै गृहजिल्ला पुग्नुभएको थियो । गृहजिल्ला जानुअघि सभापति देउवाले सोमबार दिउँसो कैलालीको धनगढीमा आयोजना गरिएको पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । मोरङको विराटनगरबाट चुनावी दौडाह सुरु गर्नुभएका सभापति देउवाले आज डडेल्धुरामा आयोजना हुने चुनावी सभा र कार्यकर्ता भेटघाट गरेर चुनावी दौडाहलाई समापन गर्दै हुनुहुन्छ । चुनावी प्रचार समापन भए पनि सभापति देउवा केही दिन गृहजिल्लामै बस्नुहुने बताइएको छ । देउवा वैशाख ३० गते मतदान गरेर मात्र काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

यस्तै, चुनावी प्रचार दौडमा अग्रस्थानमा रहनुभएका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको चुनाव प्रचारको अन्तिम दिन पनि निकै व्यस्त कार्यतालिका रहेको छ । यसअघि सोमबार बिहान कास्कीको पोखरामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले सोही दिन दिउँसो ललितपुरमा एमालेले गरेको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । चुनावी प्रचारको अन्तिम दिन २७ गते अध्यक्ष ओलीले उत्तरी मोरङको मिक्लाजुङ र गृहजिल्ला झापाको चुनावी सभालाई सम्बोधन गरेर प्रचारप्रसार अभियानको मैझारो गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, सत्तारूढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चुनावी प्रचारको अन्तिम दिन मंगलबार मधेश प्रदेशतिर व्यस्त रहने कार्यतालिका रहेको छ । सोमबार कैलाली र कञ्चनपुरमा पार्टीले आयोजना गरेका चुनावी सभामा सहभागी हुनुभएका अध्यक्ष प्रचण्डले सोमबार नै सत्तारूढ पाँच दलीय गठबन्धनले कैलालीको धनगढीमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । स्थानीय तह निर्वाचन केन्द्रित चुनावी प्रचारप्रसारको अन्तिम दिन प्रचण्डले मधेश प्रदेशका सिराहा, रौतहट र महोत्तरी लगायतका जिल्लामा आयोजना हुने विभिन्न चुनावी सभामा सहभागी भएर चुनावी अभियानलाई बिट मार्नुहुनेछ । अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो २ बजे बाराको जितपुरसिमरामा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोमबार सत्तारूढ गठबन्धनले कैलालीको धनगढीमा आयोजना गरेको चुनावी सभामा सहभागी हुनुभएका सत्तारूढ गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार नै पार्टीद्वारा रौतहटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । चुनावी सभामा अध्यक्ष नेपालले नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य शिवधारी पटेल र कपिलदेव पटेलसहित नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउनुभयो । मंगलबार पनि अध्यक्ष नेपाल विभिन्न चुनावीसभामा सहभागि हुने कार्यतालिका रहेको छ ।

सत्तारूढ गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशका जिल्लाहरूमा केन्द्रित रहनुभएको छ । गठबन्धनको तर्फबाट विराटनगर महानगरको उपमेयरमा अध्यक्ष यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दिनुभएको छ । विराटनगर महानगरमा अध्यक्ष यादवकै पार्टीबाट गठबन्धनका उम्मेदवारविरुद्ध उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै, विराटनगर महानगरको उपमेयरमा पनि गठबन्धनकै दल माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई भने गृहजिल्ला गोरखामै व्यस्त हुनुहुन्छ । सोमबार गोरखामा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्नुभएका डा. भट्टराई २०७२ सालको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकलगायत क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ । चुनावी प्रचारमा सबैभन्दा बढी दौडधुप गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि चुनाव प्रचारको अन्तिम दिन आज विभिन्न चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

कांग्रेसद्वारा आरोपको प्रतिवाद
नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपको कडा प्रतिवाद गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले आइतबार मतदातालाई ६७ बुँदे अपिल सार्वजनिक गर्ने क्रममा कांग्रेसमाथि लगाएको आरोप झुठको पुलिन्दा भएको टिप्पणी गर्नुभएको हो ।

एमालेसँग कांग्रेसको विरोध गर्ने कुनै नैतिक आधार नभएको जिकिर गर्दै महतले अघिल्लो चुनावमा जनतासँग गरेका वाचा पूरा गर्न नसकेको एमालेले अहिले कुन नैतिकताले भोट माग्दै छ ? भनेर प्रश्नसमेत गर्नुभयो । महतले संविधान, संसद्, अर्थतन्त्र र परराष्ट्र सम्बन्ध लगायतका विषयमा एमालेमाथि विभिन्न आरोप लगाउनुभएको छ ।

कांग्रेसले बनाएको नीतिको ब्याज र साँवा खाने पार्टी एमाले : डा. महत
प्रवक्ता महतले नेपाली कांग्रेसले बनाएको नीतिको साँवा र ब्याज खाने पार्टी भएको भन्दै एमाले र त्यसका अध्यक्ष ओलीको चर्को आलोचना गर्नुभयो । एमालेको अगाडि कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको जिकिर गर्दै महतले भन्नुभयो, ‘ब्याज साँवासहित खाने पार्टी स्थापना भएको उहाँले बिर्सनुभयो । उहाँहरूको अगाडि नेपाली कांग्रेस पार्टीको विरोध गर्ने कुनै आधार छैन ।’ कांग्रेसमाथि लगाएको आरोपको प्रतिवाद गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘झुठो आरोपको पुलिन्दा ओलीले लगाउनुभएको छ । कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले जताततै निजी उद्योग फस्टायो, उहाँले बाँसबारी छाला जुत्ता उद्योग बन्द भएको उदाहरण दिनुहुन्छ । तर, त्यहाँ मुटुरोग अस्पताल बनेको बिर्सिनुभयो । नेपालको आर्थिक अवस्था नै कांग्रेसले खडा गरेको हो । भ्याट लागू गरेर प्रशस्त राजस्व उठाउने कांग्रेस नै हो, उद्यम, शिक्षा, पूर्वाधारको क्षेत्रामा अग्रणी भूमिका खेलेर कांग्रेसले दुई प्रतिशतबाट आर्थिक वृद्धिदर सात पु¥यायो ।’

उत्तरबाट रेल ल्याउने भनेको, आयो ?
एमालेले अघिल्लो चुनावमा गरेका वाचाहरू पूरा नगरेको कांग्रेसले आरोप लगाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता महतले केपी ओलीले गरेको वाचाहरूको फेहरिस्त लामो हुने टिप्पणी गर्दै भन्नुभयो, ‘उहाँ त कुरा गर्नुहुन्छ । कुराको लामो फेहरिस्त छ उहाँको, पानीजहाज ल्याउने । पानीजहाजको कार्यालय त खुल्यो । उहाँका ठूलठूला तस्बिर काठमाडौंको सडकमा फूल साइजमा त लगाइए । तर, पानीजहाज आयो ?

पानीजहाज त कलकत्तामै छ । त्यस्तै, रेल आयो ? उत्तरबाट रेल ल्याउने भनेको होइन ? रेल ल्याउनु त कता हो कता सर्वेक्षण लाइसेन्सको सम्झौता पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अस्ति चिनियाँ विदेशमन्त्री आउँदाखेरि भयो ।’

अध्यक्ष प्रचण्ड र नेतृ आरजूको अभिव्यक्तिको बचाउ
कांग्रेसले केन्द्रीय सदस्य डा. आरजू राणा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको बचाउ गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले आरजूको अभिव्यक्तिमा स्पष्टीकरण दिँदै भन्नुभयो, ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरूको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’ प्रधानमन्त्री पत्नी आरजूले डडेल्धुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पठाउँदैनौँ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रवक्ता महतले चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नेक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको समेत बचाउ गर्दै भन्नुभयो, ‘प्रचण्डले कुनै धम्की नदिएको तर एमालेकै सरकार आएमा अवस्था खराब हुने आशयमा प्रचण्डले विचार व्यक्त गर्नुभएको हो । ओलीको सरकार आएर फेरि खराब हुन्छ भन्न त मिल्छ नि । त्यो सोच्नुस् भन्नुभएको हो ।’ चितवनको भरतपुरमा आयोजित चुनावी सभामा अध्यक्ष दाहालले गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्ने बताउनुभएको थियो ।

पोखरामा कांग्रेसका स्वतन्त्र उम्मेदवारद्वारा गठबन्धनलाई समर्थन
कास्कीको पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्नुभएको छ । निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते सकिए पनि कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले उम्मेदवारी निष्क्रिय गरेर सत्तारूढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको घोषणा गर्नुभएको हो ।

कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको तर साथीहरूको सल्लाह र अग्रज नेताहरूको आग्रहअनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । सत्तारूढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?