राजनीतिमा कुर्सी विनिमयको खेलभित्रको झेल

प्रा. देवीभक्त ढकाल
Read Time = 16 mins

स्थानीय निर्वाचनको वातावरणले अहिले नेपाली राजनीति तरंगित छ । नेताहरूका छोराछोरी, श्रीमती, आफन्तलाई जहाँ–जहाँ उम्मेदवार बनाइएको छ नेताहरूको समग्र ध्यान त्यहीँ हुँदा समाजको ध्यान त्यसतर्फ केन्द्रित छ । कांग्रेस सभापति शेरबहादुरले देशभरका कांग्रेसहरूको भावना र चाहनाविपरीत पुष्पकमल दहालकी छोरीलाई नै फेरि पनि भरतपुरको मेयरको सरकारी उम्मेदवार बनाउँदा चितवनका कांग्रेसका मतदाताहरू आक्रोशित भए । चितवनका कांग्रेसहरूको आग्रहमा जगन्नाथ पौडेल कांग्रेसको उम्मेदवार बने । यसले पुष्पकमलमा उत्पन्न छट्पटी सत्ताको सशर्त विनिमयका कारण शेरबहादुरमा स्थानान्तरण भयो । चुनावी सभामा पुष्पकमल, शेरबहादुर र रामचन्द्रले मात्रै होइन माधवकुमार नेपालसमेतले रेनु दहालको अन्धप्रशंसा गरे । पुष्पकमलले त रेनुको पराजयसँगै देशै दुर्घटना हुने धम्की दिए ।

निर्वाचनमा जित हार स्वाभाविक विषय हुँदा दुर्घटना शब्द अपाच्य बन्यो । प्रधानमन्त्रीको हैसियतमा नेपालमा कृष्णप्रसाद भट्टराईले र भारतमा इन्दिरा गान्धीले चुनाव हार्दा देश दुर्घटना भएन । रेनु दाहाल हार्दा दुर्घटनाको धम्की किन ? नेताहरू सबैको मनोविज्ञान के देखियो भने आफ्ना सन्तानहरूले मात्रै अवसर पाउनुपर्छ र चुनाव जित्नै पर्छ । पार्टीको धर्म र सिद्धान्तप्रति सबै नेताहरू बेखबर भएको सन्देश भरतपुरको गठबन्धनको सभाले दियो । षुष्पकमलकी छोरीको पक्षमा आयोजित चुनावीसभाले जनतामा झन् नकारात्मक सन्देश गयो । पुष्पकमलकी छोरीभन्दा अन्य योग्यता शून्य रेनुभन्दा उत्तम उम्मेदवार कोही हुनै सक्तैन भन्ने अभिव्यक्तिले कांग्रेस नेता शेरबहादुर र रामचन्द्र देशभर आलोचित हुनु कांग्रेसकै दुर्भाग्य भएको आमकांग्रेसको बुझाइ छ ।

कांग्रेस पार्टीको केन्द्रीय सभापतिको निर्वाचनमा मतदान बहिष्कार गर्ने रामचन्द्रले भरतपुरमा हँसिया हतौडामा भोट हाल्ने उर्दी आफैंमा लाजमर्दो बन्यो । माओवादीको प्रवक्ताको जस्तो रामचन्द्रको अभिव्यक्तिलाई देशभरका कांग्रेसहरूले अकल्पनीय दुर्घटनाजन्य विचलनको अनुभूति गरे । यसलाई कांग्रेसको भाग्य र भविष्यको दुर्घटनाको उर्दी ठाने । कांग्रेसको संगठनात्मक संरचनालाई यस्ता अभिव्यक्तिले ध्वस्त पार्छ । संगठन कमजोर हुँदा पार्टीको शक्ति स्वतःघट्छ । कांग्रेसको भविष्यप्रतिको खेलवाड भन्ने आममानिसको बुझाइलाई अन्यथा भन्ने कसरी ?

२०४६ को जनआन्दोलनपछि नेतृत्वमा हुनेहरूले कांग्रेसलाई कमाउने भाँडो नबनाएको भए यो अवस्था हुँदैनथ्यो । सशक्त कांग्रेसलाई यो अवस्थामा ल्याउने जिम्मेवारमध्येका शेरबहादुर र रामचन्द्र आदि हुन् । सधैं रूखमा भोट हालेर सत्तामा पुर्‍याउनेहरूले अहिले रूखमा भोट हाल्न वञ्चित नगरियोस् भन्दा विकास रोक्नेहरूमा गनिए । साथीहरूसँग गञ्जी-कट्टु मागेर लगाउनेहरू जो अहिले नेतृत्वमा छन् ती सबैले कांग्रेसको अपार जनमतलाई आफ्नो निजी आम्दानीको स्रोत नबनाएको भए कांग्रेसको यो दुर्दशा किमार्थ हुँदैनथ्यो ।

२०४६ सालपछि लगातार सत्तासीन शेरबहादुर र रामचन्द्र कम्पनीले दश-पन्ध्र वर्ष आफ्नो घर नबनाएर देश बनाउने काममा मात्रै आफूलाई केन्द्रीकृत गरेको भए न माओवादी जन्मन्थे न एमालेले सत्ताको सुखभोग गरेर आर्थिक अराजकता र कुशासन गर्ने अवसर पाउँथ्यो ? यसको दोषी गिरिजाप्रसादमात्रै होइनन् शेरबहादुर र रामचन्द्र कम्पनी हुन भन्ने तीतो सत्य हामीले अभिव्यक्त नगरे कसले गर्ने ?

व्यक्तिगत लाभमा चुर्लुंम डुबेर कांग्रेसलाई यो दुर्घटनाग्रस्त बनाउनेहरूले निर्लज्जतापूर्वक जनतालाई विकास किन नभएको भन्ने प्रश्न आफैंमा लज्जास्पद भयो । फेरि दोहोर्‍याएर भरतपुरको मेयरको अवसर माओवादीलाई नै दिने निर्णय देशभरका कांग्रेसको भावनाविपरीत छ । व्यक्तिलाई खुशी बनाएर सत्तामा टिक्ने र उम्मेदवारीमा परिवारवादलाई सधैं प्राथमिकतामा राख्ने बीपी कोइरालाको सिद्धान्त हो ?

कृष्णलाल, भीमबहादुर र जगन्नाथभन्दा रामचन्द्रजी आफूलाई बीपी विचारको मर्मज्ञ भएको दम्भ पस्कदा जिम्मेवारहरूले विवेकलाई जिम्मा लगाएको र कांग्रेसको सिद्धान्तलाई कुल्चेको विषयलाई मुख्य एजेण्डा बनाउने जगन्नाथसँग राज्यसत्ता किन त्रसित ?

कांग्रेसको संगठनलाई सुदृढीकरण गरेर कांग्रेसलाई सशक्त बनाउनुपर्नेमा उल्टै जनमतको विपक्षमा गठबन्धन गरेर अवसरलाई अधियाँ गर्दा कांग्रेस इतिहासमै कमजोर बन्यो । जनताले गत निर्वाचनमा कांग्रेसलाई सत्तामा होइन अब संगठन गर्न दिएको अभिमतको सम्मान गरेर यो पाँच वर्ष संगठन गरेको भए आगामी निर्वाचनमा एमालेको कुशासन र कांग्रेसको संठनको बलमा एकलौटी सरकार बन्ने सम्भावनालाई गठबन्धनका नाममा तहसनहस बनाउने कांग्रेसको भविष्यका बाधकहरू हुन् ।

सत्ताविना दुईचार वर्ष संगठन गर्ने धैर्य किन भएन ? एउटा मानिस तीसौं वर्ष सांसद, उपप्रधानमन्त्री, मन्त्री र सभामुख हुँदा पनि अझै राष्ट्रपतिको लोभमा कांग्रेसको बचेखुचेको शाखलाई होली खेल्ने ? कांग्रेसको भविष्य के हुन्छ ? कांग्रेसकी उपमेयर पार्वती शाहको पनि त त्यहाँको तथाकथित विकासमा भूमिका थियो होला किन उनको नाम कसैले उच्चारण गरेनन् ? कांग्रेसहरूको लगानीबाट प्राप्त पदले कांग्रेसको भावनामा प्रहार गरेर वर्गशत्रुको चाहना पूरा गर्ने ?

सत्ताको भाग पाउनेहरूले माओवादीका ज्यादतीका विषय बिर्सन सजिलो छ तर आमनागरिक जसले, हत्या, हिंसा, अपहरण, चन्दा असुली, धम्की र असंख्य ज्यादतीलाई आफैंले भोगेको छ त्यसैको प्रतिनिधित्व गर्ने पार्टीको चुनाव चिहृनमा हामी भोट बारम्बार हाल्दैनौं भन्नु के अपराध हो ? कि जबर्जस्ती भोट हाल्नैपर्छ भन्नु अपराध हो ? लोकतन्त्र भन्ने भोट माग्ने अस्त्र धम्की ? के यस्तै संस्कृति स्थापित गर्न राजनीतिक परिवर्तन भएको हो ?

लोकतान्त्रिक शासनमा धम्कीको भरमा निर्वाचन जित्नुपर्छ भन्ने संस्कार हुर्काउन कांग्रेस साझेदार बन्ने ? कांग्रेसको शाख लिलाम गर्नेलाई खबरदारीको नेतृत्व गर्छु भन्ने जोखिम मोल्ने जगन्नाथलाई जनताले मतदान गरेर दलीय तानाशाहलाई जबर्जस्त चुनौती दिने सकारात्मक परिणामको अपेक्षा देशभरका विवेकशील नागरिकको छ । त्यस भावनालाई भरतपुरका मतदाताले पक्कै पनि कुठाराघात गर्ने छैनन् ।

राजाहरूले पनि नदिने धम्की पुष्पकमलले किन दिए ? वंशानुगत तानाशाहभन्दा निर्वाचित तानाशाह क्रुर हुन्छ भन्ने भनाइमा सत्यता भएको अनुभूति अहिले भरतपुरवासीलाई भएको छ । शेरबहादुरजी पुष्पकमलकी छोरीको जितसँग साटिएको प्रधानमन्त्रीको पद जोगाउन र रामचन्द्रलाई राष्ट्रपति बनाउने उधारो आश्वासनको लागि भरतपुरका कांग्रेसले हामी आत्मसमर्पण गर्दैनौं आफ्नै उम्मेदवार चाहिन्छ भनिरहँदा शेरबहादुरकै बलमा रेनु उम्मेदवार भएको भन्ने अभिव्यक्ति शेरबहादुरबाट आउनु दुर्भाग्य हो । कांग्रेसलाई तहसनहस पार्ने देशीविदेशी शक्ति क्रियाशील भएको विषयलाई बुझेर भरतपुरका मतदाताले देशभरका मेयर उम्मेदवारमध्ये सर्वाधिक योग्य व्यक्तिलाई मतदान गरेनन् भने देश नै दुर्घटना हुन्छ भनेर त म भन्दिन तर कांग्रेसको शाख गिर्छ र दलीय तानाशाहको बिगबिगी भने निःशन्देह बढ्छ ।

जगन्नाथबागी, विद्रोही उम्मेदवार होइनन् । प्राविधिक रूपमा उनीसँग रूख चिहृन नभए पनि उनी रूखको सच्चा प्रतिनिधि हुन् । सभापतिको निर्वाचन जितेपछि पार्टी विधानअनुसार र जनभावनाअनुसार चल्नुपर्ने कि पार्टीलाई आफ्नो स्वार्थ पूरा गर्ने साधन बनाउने ? विधि, मर्यादा, जनभावना र सिद्धान्तलाई अवज्ञा गर्ने ? सबै दलभित्रका दलीय तानाशाहरूलाई एकमुष्ट चुनौती जगन्नाथ पौडेलको जित भएकाले सबै पार्टीका मतदाताले हाल देशमा भएको भ्रष्टाचार र कुसंस्कारविरोधी नेतृत्वको जिम्मेवारी जगन्नाथलाई दिन पक्कै चुक्ने छैनन् । जगन्नाथले पनि भ्रष्टहरूको विद्रोहको नेतृत्व गर्न कसैसँग झुक्ने, चुक्ने र थाक्ने छैनन् ।

शेखर कोइराला वा शेरबहादुरमध्ये एकलाई मतदान गर्नुपर्ने प्रजातान्त्रिक कर्तव्यबाट रामचन्द्र हिजो चुकेकाले उनलाई भोट रेनुलाई दे भन्ने अधिकार नै छैन । भोट हाल्ने कर्तव्य जसले पूरा गरेन उसले भोटका विषयमा टीकाटिप्पणी गर्ने हक हुँदैन । हक राजीनामा गरेपछि भोटको उर्दी गर्ने हक हुँदैन भन्ने सामान्य हेक्का नहुनेहरू नेतृत्वमा रहँदा कांग्रेस पार्टीलाई तहसनहस नै पारे । कतै यो कांग्रेस पार्टी शक्तिकेन्द्रलाई बुझाउने रणनीति त होइन ?

बीपीका विचारको उच्चारण गर्दै जगन्नाथ र कृष्णलाललाई बीपी विचार पढेका छौं भन्दै गर्दा बीपीका विचारमा निर्वाचनमा रूखमा होइन हसिया हतौडामा भोट हाल्न कहाँ लेखेको छ भनेर सामान्य कार्यकर्ताले सोध्दा नाजवाफ हुन बाध्य हुने व्यक्तिका अगाडि वरिष्ठ झुण्डिएको नसुहनउने उक्त अभिव्यक्तिले प्रमाणित ग¥यो । सच्चा राजनीति गर्नेले आफूलाई यो हदसम्म अवमूल्यन गर्दैन ।

कृष्णचन्द्रको मुख्यमन्त्री पदलाई उपलब्धि भन्ने रामचन्द्रलाई यो पनि थाह हुनुपर्छ कि कांग्रेसले प्राप्त गरेको दुई दुई पटकको अपार जनमतलाई दुरूपयोग गर्नेले गठबन्धनलाई उपलब्धि भन्नु त घर पोलेर खरानीको व्यापारबाट फाइदा भयो भन्नु जस्तै हो । विकास किन भएन भनेर सधैंभरि सत्ताको सुखभोग गर्ने रामचन्द्रले जनतालाई सोध्ने कि दुई दुई पटक जनताले दिएको अपार समर्थनले पनि किन विकास भएन भनेर जनताले रामचन्द्रलाई सोध्ने ? शेरबहादुरजीले जारी गरेको हँसिया हतौडामै भोट हाल्ने फरमान सबैले मान्नुपर्ने किन ?
हामी शेरबहादुरलाई दलीय तानाशाह भनेर मान्ने भए त यीभन्दा धेरै ठीक थिए वंशानुगत तानाशाह । त्यसैले भनिन्छ कि निर्वाचित तानाशाह वंशानुगत तानाशाहभन्दा धेरै खतरनाक हुन्छन् । वंशानुगत तानाशाहलाई नेपाली जाति र माटोको माया थियो । यो भूमिलाई पूर्वजको आर्जनको रूपमा सम्मान गर्थे । किनभने परिस्थिति प्रतिकूल भयो भने मेरो सन्तति राजा हुन पाउँदैनन् भनेर डराउँथे ।

निर्वाचित तानाशाहको मुख्य काम पदमा रहँदा राज्यकोष र अन्य सम्भावित ठाउँबाट धन जम्मा गर्ने । जम्मा पनि कति गर्नेभन्दा असीमित गर्ने ? धन जम्मा गर्ने यिनीहरूको विधि भनेको पदहरूको मोलमोलाइबाट हो । समानुपातिक त यिनीहरूको मुख्य आम्दानी हो । पुलिस, सेना, न्याय प्रमुख र राजदूत जस्ता सम्पूर्ण संवैधानिक पदबाट गर्ने आम्दानी त इतिहासमै विशेष रेकर्ड बनाए । भ्रष्ट संस्कार र संस्कृतिका विरुद्ध विद्रोहको नेतृत्व लिने ऐतिहासिक कदम हो जगन्नाथको उम्मेदवारी ।

उनले जिते पनि हारे पनि कांग्रेसभित्र खबरदारीको नेतृत्व गर्नैपर्ने बाध्यता जगन्नाथमा आयो । उनी वास्तवमा कांग्रेसबाट निष्काशित नभएर विद्रोहको नेतृत्व गर्ने निर्विवादित र स्थापित नेता बने । समयमै कांग्रेसले भरतपुरको मेयरसँग प्रधानमन्त्रीको कुर्सी विनिमय नगर भन्दाभन्दै गरेपछि अहिलको असन्तुष्टिको जिम्मेवार शेरबहादुर र रामचन्द्र नभएर जगन्नाथ कसरी हुन्छन् ?

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Cholendra kumar pandit
Cholendra kumar pandit
2022-05-12 2:56 pm

यश लेखले नेपाली कांग्रेसको आँखा खोलि दिएको छ।आगे जो बिचार ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?