दलका शीर्ष नेताहरु वाकयुद्ध गरिरहेका छन् : पूर्वप्रधानन्यायाधीशहरु

Read Time = 3 mins

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको बताउनुभएको छ ।

मंगलबार आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।

स्थानीय निर्वाचनमा स्थानीय स्तरका सरोकार र समस्याको सम्बन्धमा छलफल गर्नुपर्ने भएपनि राजनीतिक दलका शीर्ष नेतृत्वहरुबाट स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने शैली अपनाइएको उहाँले बताउनुभयो । स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र स्थानीय पहिचानलाई परिपोषण गर्नुपर्नेमा नेताहरुले त्यसलाई विस्थापित गरेको उहाँको भनाई छ ।

उहाँले दलका शीर्ष नेताहरुले वाकयुद्ध गरिरहेका बताउनुभयो । नेताहरुका बिचमा सभ्य, सम्मानजनक र जवाफदेही संवाद हुनुपर्नेमा त्यसो हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले लोकतन्त्रको विकासको निम्ति निर्वाचन स्वच्छ हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा उम्मेदवार र जनता अनुशासित भएमा दुईजना व्यक्तिले मात्रै हजारौँ हजारको निर्वाचन गराउन सक्ने बताउनुभयो । स्वच्छ निर्वाचन गराउन निर्वाचन आयोगले पहल गराउनुपर्ने र जनतापनि शिक्षित हुनुपर्ने उहाँले बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)कि अध्यक्ष इन्दिरा श्रेष्ठले निर्वाचन आचारसंहिताको पालना गर्ने मुख्य दायित्व राजनीतिक दलको भएको बताउनुभयो । उहाँले दलका साथसाथै सबै नागरिकको पनि निर्वाचन आचारसंहिता पालना गर्ने दायित्व भएको बताउनुभयो । आचारसंहिताको उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले निर्वाचनलाई विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले निर्वाचनको सवल र दुर्लभ पक्ष देखाउँदै निर्वाचन पर्यवेक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?