उम्मेदवार नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलासा

Read Time = 3 mins

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका-८ को वडा अध्यक्ष पदमा उम्मेदवार छन्, शेरबहादुर नेम्बाङ । नेकपा एमालेबाट दोस्रो पटक अध्यक्ष हुन उम्मेदवार बन्नुभएका नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार नेम्बाङले गाउँकै खेमराज गुरुङलाई यसअघि अध्यक्ष हुँदा दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको हो ।

गुरुङ राहधानी बनाउन आएको र सो क्रममा उनको ‘फिङ्‍गर प्रिन्ट’ मिलेको थियो । त्यसपछि अनुसन्धानको क्रममा नागरिकताका लागि नेम्बाङले दोहोरो सिफारिस गरेको र सोही आधारमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी भएको पाइएको हो ।

कार्यालयको ढड्‍डामा उल्लेख भएको विवरणअनुसार १ चैत २०७२ मा गुरुङले नागरिकता लिएको देखिन्छ । उक्त नागरिकतामा उनको जन्म मिति २०५५ माघ २० गते उल्लेख छ ।

तर, फेरि नेम्बाङले नाम र जन्म मिति परिवर्तन गरेर अर्को नागरिकता दिलाउन सिफारिस गरेको पाइएको हो ।

नेम्बाङले गरेको सिफारिसअनुसार गुरुङले २८ माघ २०७८ मा सुरेश गुरुङको नामबाट नागरिकता लिएको पाइएको हो ।

उक्त मितिमा जारी नागरिकतामा उनको जन्म मिति ५ माघ २०५९ उल्लेख छ । दोस्रो पटक नागरिकता लिँदाको नागरिकता नम्बर २-०१-७८-०४१८७ रहेको छ । दोहोरो नागरिकता दिन सिफारिस गरेका नेम्बाङले भुलवस सिफारिस गरेको बताउनु भएको छ ।

यसअघि वडा अध्यक्ष निर्वाचित हुनु पहिले गुरुङले नागरिकता बनाइसकेको तर आफूलाई त्यसबारे थाहा नभएको पनि बताउनु भयो । उहाँले भन्नुभएको छ, ‘पहिले नागरिकता लिएको मलाई थाहा थिएन । भुलवस सिफारिस गरेको रहेछु ।’नागरिकतामा गुरुङको बाबुको नाम रमेश गुरुङ र आमाको नाम पदममाया गुरुङ रहेका छन् ।

कुनै व्यक्तिले गलत विवरण बुझाएर नागरिकता लिन र दिन कानुनतः मिल्दैन । जुन दण्डनीय छ । तर, नेम्बाङलाई भने कानुनी दायरमा ल्याउन प्रशासन मौन छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?