जनताको सेवा समर्पित गर्ने उम्मेरवारलाई जिताउनुहोस् : नेत्री भुसाल

Read Time = 3 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गर्नुभएको छ । उहाँले परिवर्तनको मुद्दा शिरोधार्य गरेर जनताका आवश्यकतालाई सही तवरले बुझ्ने पार्टी माओवादी केन्द्रका उम्मेदवार जताउन र गठबन्धनको पक्षमा दरिलो भएर उभिन आम जनसमुदायलाई आग्रह गर्नुभयो ।

माओवादीले काठमाडौँको पूर्वी नगर शङ्खरापुरमा आज आयोजना गरेको ‘बृहत् चुनावी सभा’लाई सम्बोधन गर्दै नेत्री भुसालले भन्नुभयो, “जनतालाई सीप उपलब्ध गराउने र सोहीअनुसारको व्यवसाय तय गरेर आर्थिक सामाजिक उन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई मत प्रदान गर्न आग्रह गर्दछु ।” उहाँले शिक्षा र स्वास्थ्यले समाजको वर्गीय धरातल झनै फराकिलो बनाउँदै लगेको भन्दै स्थानीय तहले सो क्षेत्रको गुणस्तर सुधारेर आफ्ना जनतालाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “सबैले सबैसँग प्रतिस्पर्धा गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्छ, अनिमात्र सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्छौँ । संविधानले निर्दिष्ट गरेको समाजवादको बाटोमा जान सक्छौँ । सोही जिम्मेवारीलाई उम्मेदवारले गहनरूपमा लिनुपर्छ ।” जनताको इच्छा र आकाङ्क्षामा एकाकार भएर आफ्नो पार्टी अगाडि बढ्ने विश्वास दिलाउँदै उहाँले माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जिते कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा नगरको विकास गर्ने र एतिहासिक शङ्खरापुरलाई ‘हेरिटेज सिटी’का रुपमा विकास गरिने बताउनुभयो ।

कार्यक्रमा शङ्खरापुर मेयरका उम्मेदवार मधु केसी (नीरज)ले आफूले निर्वाचन जितेमा नगरका जनताको आधारभूत आवश्यकतालाई सहज तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कृषि, पर्यटनलाई केन्द्रमा राखेर नगरको विकास गर्ने र त्यसका लागि आफूले केन्द्रसँग पहल गर्ने विश्वास दिलाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?