सेयर बजार निरन्तर उकालो

Read Time = 3 mins

काठमाडौं । साताको सुरुदेखि उच्च अंकले बढेको सेयर बजारमा साताको तेस्रो दिन मंगलबार पनि ४४. १६ अंकले बढेको छ । यस दिन दोहोरो अंकले बढेर नेप्से २३ सय १३ मा पुगेको छ । दुई सय २६ कम्पनीका ३३ लाख ३० हजार एक सय ५० कित्ता सेयर एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

कारोबार भएकामध्ये छवटा कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढी र तीनवटाको १० प्रतिशतले बढेको छ । वरुण जलविद्युत्, ङादी जलविद्युत् कम्पनी र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने युनिभर्सल पावर कम्पनी, दिव्येश्वरी जलविद्युत् कम्पनी र नेसनल जलविद्युत्को नौ प्रतिशतले बढेको छ ।

यस दिन जीवन बिमा समूहको परिसूचक दुई सय ३६, निर्जीवन बिमा समूहको एक सय २४, विकास बैंक समूहको एक सय तीन, लघुवित्तको ८६, उत्पादनमूलकको ६२ र होटल तथा पर्यटन समूहको परिसूचक ३६ अंकले बढेको छ । सबैभन्दा बढी बैंकिङ समूहको २२ अंकले बढेको छ ।
ङादी जलविद्युत्को नौ करोड ९८ लाख तीन हजार र दोस्रोमा अरुण भ्याली जलविद्युत्को चार करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ङादीको एक लाख ६२ हजार कित्ता र अरुण भ्यालीको एक लाख दुई हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

दुई जलविद्युत् कम्पनीलाई निष्काशन अनुमति
विद्युत् नियमन आयोगले दुई जलविद्युत् कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ । आयोगले वरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावर कम्पनीलाई हकप्रद सेयर निष्काशन अनुमित दिएको हो । वरुण हाइड्रोपावरलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले २६ करोड ७९ लाख सात हजार पाँच सय रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन अनुमति पाएको हो ।

त्यस्तै ङादी ग्रुप पावरले पनि १ः१.५ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । कम्पनीले ७० करोड ६९ लाख ३२ हजार चार सय रुपैयाँ चुक्ता पुँजीको १ः१.५ अनुपातमा हकप्रद बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले एक करोड छ लाख तीन हजार नौ सय ८६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?