क्यामरुनी टोलीमाथि फराकिलो जित

Read Time = 4 mins

काठमाडौं । एएफसी एसियन कप २०२३ को छनोट चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा क्यामरुनी टोलीमाथि फराकिलो जित हात पारेको छ । बन्द प्रशिक्षणमा रहेका नेपाली खेलाडीहरूले दशरथ रंगशालामा भएको क्यामरुनको एभेनिर एफसी डोउला टोलीमाथि ४-१ को सानदार जित हात पारेको हो ।

नेपालको जितमा जर्जप्रिन्स कार्कीले दुई गोल तथा मनिष डाँगी र दर्शन गुरुङले समान एक/एक गोल गर्नुभयो । बन्द प्रशिक्षणका क्रममा एभेनिरमाथि नेपाली टोलीले खेलेको यो तेस्रो अभ्यास खेल हो । यसअघिका दुई अभ्यास खेलमा नेपाल बराबरीमा रोकिएको थियो ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारसँग असन्तुष्टि व्यक्त गर्दै क्याम्पबाट बाहिरिएका १० जना सिनियर खेलाडीबिनै नेपाली फुटबल टोलीको क्याम्प जारी छ ।

प्रशिक्षणका क्रममा एन्फाको सातदोबाटोस्थित होस्टलमा खेलाडीहरूलाई राखिएको थियो । तर, होस्टलको सेवा सुविधा राम्रो नभएको गुनासो गरेका सिनियर खेलाडी तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग गुनासो गरेपछि उहाँलाई प्रशिक्षक अलमुताइरीले टोली बाहिर राख्नुभएको थियो ।

कप्तान किरण चेम्जोेङ विदेशी लिग खेल्न व्यस्त रहेका बेला उहाँको अनुपस्थितिमा रोहितले खेलाडीहरूका तर्फबाट प्रशिक्षकलाई कुरा राख्नुभएको थियो । रोहितलाई कारबाहीपछि त्यसबारे कुरा गर्न गएका अरू नौजना खेलाडीहरूलाई पनि प्रशिक्षक अलमुताइरीले क्याम्प छोडेर जान भनेपछि खेलाडीहरू अनुपस्थित भएका हुन् । रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालगायतले पत्रकार सम्मेलन गर्दै अब अलमुताइरीसँग खेल्न नसकिने बताउनु भएको थियो ।

उक्त विवाद अहिले छानबिनका क्रममा रहेको छ । सोही कारण सिनियर खेलाडीबिना हाल राष्ट्रिय टोलीमा नयाँ र युवा खेलाडीहरूको बाहुल्यता रहेको छ । १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनीहरूको स्थानमा १७ नयाँ खेलाडीलाई मौका दिइएको छ ।

अब नेपाली टोली थप अभ्यास र प्रशिक्षणका यसै साता कतार जाने तयारीमा रहेको छ । कतारमा नेपाली टोलीले अफगानिस्तानसँग मे २५ र २९ मा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । एएफसी एसियन कप छनोटमा समूह ‘ए’ मा रहेको नेपालले आयोजक कुवेत, जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ । ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?