धनुषा प्रहरीले भन्यो: मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ

Read Time = 2 mins

धनुषा । धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झुठा भएको बताउनु भयो । ‘बिहानदेखि २० जनाले फोन गरेर सोधिक्नुभयो । उहाँ पक्राउ पर्नु भएको होइन । साथीको घरमा खाना खान गएपछि पैसा बाड्न आएको भन्दै केहीले होहल्ला गर्नुभएको रहेछ । पछि हामीले उहाँको रेस्क्यू गरेका हौँ ।’ प्रवक्ता क्षेत्रीले भन्नुभयो ।

धनुषामा रहनु भएको अध्यक्ष अन्सारी आज बिहान आफ्ना साथी तथा प्रदेशसभा सदस्य हकिम रहिमको घरमा खाना खान जानुभएको थियो। प्रवक्ता क्षेत्रीका अनुसार त्यही खाना खाएर दिउँसो काठमाडौं फर्किने कार्यक्रम थियो । तर, पैसा बाँड्न आएको भन्दै होहल्ला भएपछि प्रहरीले उद्धार गरेको उहाँको भनाइ छ ।

प्रहरीले उद्धार गरेर उहाँलाई काठमाडौं पठाइसकेको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न खोजेको आरोप नेकपा एमालेले लगाएको छ ।

मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले पैसा बाँड्न खोजेको सूचना पाएपछि आफूहरू त्यहाँ पुगेको नेकपा एमालेले जनाएको छ । तर, प्रहरीले भने साथीको घरमा गएको बेला एमाले कार्यकर्ताले पैसा बाँड्न आएको भन्दै होहल्ला गरेको प्रष्ट पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?