तीन बिमा कम्पनी गाभिने

Read Time = 3 mins

काठमाडौं । तीन जीवन बिमा कम्पनीबीच मर्जर सम्झौता भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता भएको हो । पुँजीका आधारमा आगामी दिनमा सहमति गरेर अघि बढ्ने सहमति भएको कम्पनीका अधिकारीहरूले बताएका छन् । बैंकहरूको जसरी नाम, पदलगायत विषय केन्द्रमा राखेर मर्ज गरिने बताइएको छ । मर्जरपछि बन्ने बिमा कम्पनी नयाँ नामबाट सञ्चालन हुनेछ । जीवन बिमा कम्पनीमा सबैभन्दा अब्बल कम्पनीका रूपमा अघि बढ्ने गरी तीन बिमा कम्पनीबीचमा मर्जर सम्झौता भएको कम्पनीका अधिकारीको भनाइ छ ।

यसैबीच जलविद्युत् कम्पनीबीच पनि मर्जर प्रक्रिया सुरु भएको छ । विद्युत् नियमन आयोगले पहिलोपटक रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गाभिने सहमतिका लागि स्वीकृति प्रदान गरेको छ । दुई कम्पनीले एकआपसमा गाभिने सहमतिका लागि २०७८ पुस २६ गते निवेदन दिएका थिए । सो सम्बन्धमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्टबीच सम्झौता भएअनुसार आयोगको वैशाख १९ गते बसेको १५६औँ बैठकले मर्जरका लागि स्वीकृति प्रदान गरेको हो । मर्जपछि दुई हाइड्रोपावरको संयुक्त चुक्ता पुँजी एक अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ पुग्ने बताइएको छ ।

चालु आव २०७८/०७९ को तेस्रो त्रैमाससम्म रैराङ हाइड्रोपावरको चुक्ता पुँजी ५६ करोड र जगेडा कोषमा पाँच करोड ७८ लाख ९८ हजार रुपैयाँ रहेको छ । चैतसम्म रैराङले पाँच करोड ४९ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दैै वार्षिक प्रतिसेयर आम्दानी १३.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.३४ रुपैयाँ रहेको छ ।

त्यस्तै रिडी हाइड्रोपावरको चालु आव २०७८/०७९ को तेस्रो त्रैमाससम्म चुक्ता पुँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ र जगेडा कोषमा ४८ करोड ४१ लाख ३६ हजार रुपैयाँ रहेको छ । चैतसम्म रिडीले ४८ करोड ३८ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाउँदै वार्षिक प्रतिसेयर आम्दानी ११०.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८२.६८ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?