केही नेपाली हिमालका विदेशी नाम

Read Time = 10 mins

✍️ निनाम लोवात्ती
विदेशी भाषामा रहेका केही नेपाली हिमालका नामका सम्बन्धमा कुरो गर्दा धेरैजसो नेपाली हिमालका नाम अंग्रेजी भाषामा रहेको देखिन्छ । अंग्रेजी भाषाबाहेक फ्रेन्च, जापानी, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि नेपाली हिमालका नाम छन् । नेपाली भाषाकै सम्बन्धमा भन्नु पर्दा पनि हिन्दू धर्मका भगवान, देवी, देउता, माना, पाथी, फूल, चरा, प्रसिद्ध व्यक्ति आदिका नाममा पनि केही नेपाली हिमालका नाम रहेका छन् । सदीयौंदेखि स्थानीय आदिवासी जनजातिका भाषामा रहेका हिमालका नामहरू विस्थापित भएका वा फेरिएका छन् ।

यहाँ ‘सगरमाथा’ हिमालकै उदाहरण लिऊँ । समुद्र सतहदेखि नाप्दा हालसम्म विश्वकै अग्लो मानिएको शिखर हो ‘सगरमाथा’ । उक्त हिमाललाई आदि-अनादि कालदेखि उक्त हिमालको वरिपरि बस्दै आएका दक्षिणतर्फका आदिवासी जस्तै कुलुङ, खालिङ, शेर्पालगायत र उत्तरतर्फ (तिब्बती)का आदिवासीले ‘चोमोलुङमा’ भन्थे र हालसम्म पनि भन्दैछन् । तर, त्यस बेला विश्वमा आजको जस्तो सूचना प्रविधि र सञ्चारको पहुँच थिएन । त्यसैले त्यस बेला ‘सगरमाथा’ हिमालको जति प्रचारप्रसार हुनुपर्ने हो त्यति भएन ।

फलतः आदि-अनादि कालदेखि स्थानीयस्तरमा बस्दै आएका आदिवासी भए तापनि कुलुङलगायत अन्य जातिले आफ्नै नजिकमा रहेको विश्वकै अग्लो हिमाललगायत अन्य महत्वपूर्ण प्राकृतिक निधि र ऐतिहासिक धरोहरबारे चासो राखेनन् । संयोगले ‘सगरमाथा/एभरेष्ट/चोमोलुङमा’ (विश्वले दिएको मान्यता अनुसारको सबैभन्दा अग्लो पर्वत) नेपालमा रहेको छ । यो हिमालको नयाँ उचाइ गत सालबाट ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको छ ।

नयाँ उचाइको घोषणा नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा गरेको हो । त्यसअघि यसको आधिकारिक उचाइमा एक रूपता थिएन । किनभने, नेपाल सरकारले सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर मान्ने गरेको थियो भने चीन सरकारले ८ हजार ८ सय ४४.४३ सेन्टी मिटरमात्रै मान्नेको थियो । त्यसैले नेपालतर्फ बाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीले ८ हजार ८४८ मिटर भनी आरोहण प्रमाणपत्र पाउँथे भने चीन तर्फबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीले आठहजार ८४४.४३ सेन्टिमिटर भनी आरोहण प्रमाणपत्र पाउने गरेका थिए ।

विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथाको आधिकारिक नाम सगरमाथा नभएर चोमोलुङमा’ हुनुपर्छ भन्ने आवाज सुन्ने गरिन्छ । दोहोर्‍याएर भन्नु पर्दा यो हिमालको फेदी (दक्षिणी पाटोको वरिपरि) आदि-अनादि कालदेखि रहँदै-बस्दै आएका आदिवासी जनजातिले बोलाउँदै आएको असली र पुरानो नाम ‘चोमोलुङमा’ नै हो । तर, यस विषयमा अझै पनि नेपालका मूलधारका भनी चिनिने मिडिया र राज्य पक्षका इतिहासकार, बुद्धिजीवी, विश्लेषक, प्राडा, लेखक आदिले ‘चोमोलुङमा’ नाम सुन्ने/भन्ने बित्तिकै ‘चोमोलुङमा’ त ‘भोटे’ अर्थात् तिब्बती नाम होइन र ? भनी प्रतिप्रश्न गर्ने गरेका छन् ।

जे होस्, आजभोलि ‘चोमोलुङमा’ लाई ‘चोमोलुङमा’भन्दा पनि बढी ‘सगरमाथा र एभरेष्ट’ नामले चिनिन्छ । यो यथार्थ हामीले स्वीकार गर्नैपर्छ । जे होस्, अमेरिका, इटली आदि देशहरूले भने सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर रहेको भन्दै आएका थिए । माथि एक प्रसंगमा भनिएझैँ लामो समयदेखि स्थानीयस्तरमा बस्दै आएका कुलुङ, शेर्पालगायत आदिवासीले आप्mनो वरिपरि रहेके हिमाल र स्थान नामहरूको नामका सम्बन्धमा खासै चासो लिएनन् ।

बरु केही दिन वा केही महिनाका लागि हिमालमा घुम्न, हिमाल हेर्न, हिमालबारे खोज-अनुसन्धान गर्न आएका, सकेदेखि चढेरै जानका लागि योजना बनाएर आएका आगन्तुक विदेशी पर्यटकहरूले स्थानीय हिमाल, डाँडा-काँडा, गाउँघर खोलानाला आदिको नाम पनि आफूले बुझ्ने/आफ्नै भाषा राखे । सात समुद्रपारिका मान्छे आएर आफ्नै वरिपरिका हिमाल, डाँडाकाँडा, ठाउँ आदिको नाम फेर्दा पनि स्थानीयस्तरमा बस्दै आएका आदिवासीले वास्ता गरेनन् । त्यसको परिणाम स्वरूप आज आफ्नै वरिपरि रहेका, आफ्नै मातृभाषामा आदि-अनादि कालदेखि पुकार्दै आएको राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका हिमाल, डाँडा-पाखा, गाउँ-घर, खोलानाला, वनजंगललगायत स्थानको स्थानका नामहरू अरूको भाषामा सुन्नुपरेको छ ।

त्यही पराइ भाषाको नामलाई नै आफ्नो ठान्नुपर्ने बाध्यता पनि आइपरेको अवस्था छ । फलतः आजभोलि ‘चोमोलुङमा’ हिमाललाई यस नामले होइन, ‘सगरमाथा’ वा ‘एभरेष्ट’ नामले बढी चिनिन्छ ! माथि नै एक प्रसंगमा भनिसकियो कि नेपाली हिमालका नामहरू अंग्रेजी भाषाबाहेक, फ्रेन्च, जापानी, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि रहेका छन् । यहाँ त्यस्ता केही हिमालका उदाहरण दिइएको छ ।

नेपालको पूर्वी भेगमा रहेको कञ्चनजंघा क्षेत्रमा रहेको ‘किरात चुली’ लाई आजभोलि ‘टेन्ट पिक’ भनी चिन्ने गरिन्छ । कञ्चनजंघा हिमाललाई आदिवासी लिम्बूले आफ्नो मातृभाषामा ‘सेन्छेलुङ/सेवालुङ’ भन्छन् । त्यस्तै नेपाली भाषामा कुम्भकर्ण भनिने हिमाललाई लिम्बू जातिले ‘फक्ताङलुङ’ भन्छन् । स्मरणीय छ, यो हिमाललाई लिम्बू किरातीले आफ्नो आराध्यदेवको रूपमा पनि पुज्ने र मान्ने गर्छन् । तर, अधिकांश विदेशीहरूले भने उक्त हिमाललाई ‘फक्ताङलुङ’ वा ‘कुम्भकर्ण’ नामले भन्दा ‘जान्नु हिमाल’ भनेर चिन्ने गरेका छन् ।

त्यस्तै मकालु हिमाललाई कुलुङ जातिले ‘सेसेलुङ’ भनी पुकार्छन् । सगरमाथा क्षेत्रमा पनि केही हिमालको नाम विदेशी भाषामा रहेका छन् । जस्तो आइल्याण्ड पिक, पिक-२९ आदि । उता लाङटाङ र अन्नपूर्ण हिमाली क्षेत्रमा पनि विदेशी भाषामा नाम रहेको हिमाल रहेका छन् । लाङटाङमा एउटा हिमालको नाम जापानी पर्वतारोही मोरीमोतोको नाममा ‘मोरीमोतो’ राखिएको छ भने, अर्को उर्कीमाको नाम स्काउटका जन्मदाता बाडेल पावेलको नाममा ‘बाडेल पावेल’ राखिएको छ । त्यस्तै अन्नपूर्ण हिमालमा टेन्ट पिक, फ्ल्युटेड पिक, डोम ब्लँ, फिसटेल, बराह शिखर, बुद्ध हिमाल नामका हिमाल छन् ।

उता गणेश हिमाल क्षेत्रमा पनि पावेल/पाविल नाम दिइएको अर्को एक हिमाल छ भने, धौलागिरि हिम शृंखलामा मानापाथी, पुतली, धाम्पुस, थापा पिक आदि नाम भएका हिमाल छन् । त्यस्तै तत्कालीन बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको नाममा पनि मनाङ जिल्ला पेरी हिम शृंखलाको एक हिमालको नाम ‘रत्नचुली’ राखिएको छ । ‘रत्नचुली’ नाम नेपाल प्रहरीको टोलीले प्रथमपटक आरोहण गरेपछि राखिएको हो भन्ने भनाइ पर्वतारोहण क्षेत्रमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?