निर्वाचनप्रति प्रतिबद्ध मतदाता

Read Time = 6 mins

निर्वाचन पनि एकप्रकारले पर्व नै हो । सांस्कृतिक वा सामाजिक उत्सव वा पर्व समानकै महत्व हुन्छ निर्वाचनको । यो राजनीतिक उत्सव हो, जनताले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने एउटा महान अवसर पनि हो । आज नेपालका ७७ वटै जिल्लामा एकै पटक स्थानीय निकाय निर्वाचनको मतदान भइरहेको छ । तर धेरै मतदाताहरू विभिन्न कारणले मतदानको अवसरबाट वञ्चित भइरहेका छन् । धेरै ठूलो संख्यामा नेपालीहरू नेपालबाहिर वैदेशिक रोजगारीमा रहेकाले तिनको मत निष्क्रिय रहनेछ । केही नेपालीहरूमाथि भनिए झैँ यसलाई उत्सवका रूपमा लिएर आफ्नो मतदाता नामावली भएको ठाउँ छोडेर अर्को ठाउँतिर गएका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्ने र नामावलीसमेत यहीँ भएका केही मतदाता रमाइलोका लागि गाउँतिर लागेका छन् ।

यस्तो अवस्थामा तिनको मत निष्क्रिय रहने निश्चित छ । गाउँ जान विभिन्न राजनीतिक पार्टी तथा उम्मेदवारले लाने ल्याउने र खाने बस्ने व्यवस्था मिलाएकाले उनीहरू त्यतै आकर्षित भएका हुनसक्छन् । त्यसैगरी मौसमी कारणले केही मतदाता मतदान गर्न नजाने सम्भावना छ । किनकि निर्वाचन हुने दिन आज मौसम प्रतिकूल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै काबुबाहिरको परिस्थितिले मतदान गर्न नपाउनेहरूको संख्या निकै नै हुनसक्ने अनुमान गर्न सकिन्छ । यी विविध कारणले खस्ने मतको प्रतिशत धेरै नहुने अनुमान गर्न सकिन्छ । तैपनि पहिले नै निराशाका कुरा गर्नु अन्यथा हुन्छ । धेरै ठूलो संख्यामा मतदाता राष्ट्रिय सांस्कृतिक पर्व दशैँ र तिहारमा जसरी नै आआफ्नो मतदाता नामावली भएको स्थानतर्फ गएका छन् ।

विशेषगरी शहरको बसाइ र गाउँमा मतदाता नामावली भएका मतदाता गाउँ फर्किएका छन् । त्यतिमात्र होइन भारतमा रोजगारीमा रहेका धेरै नेपाली मतदान गर्न नेपाल फर्किएका छन् । मतदान गर्नु नागरिक हकको उपयोग गर्नु हो भन्ने यसबाट देखिएको छ । नेपालमा अझै पनि नागरिक हकको प्रयोग गर्नुपर्छ भन्ने चेतनाको राम्रो विकास भइनसकेको अवस्थामा मतदाताको यो प्रयासलाई यसप्रतिको चासो बढ्न थालेको रूपमा हेर्नुपर्ने हुन्छ । उम्मेदवारहरूप्रतिको वितृष्णका कारण मतदान नगर्ने प्रचलन हामीमा अझै रहिरहेको छ तर विदेशतिर भने यस्तो अवस्थामा पनि मतदान गर्न चाहिँ जाने तर कसैलाई पनि मत नदिने गरिन्छ र ‘नो भोट’मा छाप लगाइन्छ ।

नेपालमा पनि ‘नो भोट’ को व्यवस्था गरिनुपर्छ भनेर आवाज उठाइएको हो तर हाम्रो नागरिकको चेतनास्तर लगायत कुरालाई ध्यान दिएर यस्तो व्यवस्था गरिएको छैन । वास्तवमा मतदानका दिन एक दिन एक छिन् गरिएको निर्णयबाट त्यसको परिणामले पाँच वर्षसम्म प्रभाव पार्छ । अझै भन्ने हो भने पाँच वर्षमात्र होइन पचासौं वर्षसम्म एक पटक गरिएको गल्लीको राजनीतिक प्रभाव रहिरहन्छ । एकजना राजनेताले एक पटक गरेको एउटा गल्ती र वा राम्रो कामको प्रभावले देशको गति कता मोड्ने हो भनेर निर्धारण गर्ने गर्छ । हाम्रो देशमा हेर्ने हो भने यस्ता केही दृष्टान्त दिन सकिन्छ ।

आफू प्रधानमन्त्री हुन आफ्नै पार्टीका समकर्मी साथीलाई पराजित गर्न अर्को पार्टीको निर्वाचन चिहृनमा छाप लगाउन लगाएका कार्यबाट देशमा माओवादी विद्रोह सिर्जनालगायत अन्य अनेकौं उथलपुथल हुँदा देशको बाटो नै अर्कोतिर मानेडिएको अवस्था हामीले भोगिरहेकै छौं । यसैगरी मतदानमा मतदाताले सही निर्णय गर्न नसक्दा सही मानिस पराजित हुने र असक्षम व्यक्ति विजयी हुनाले आफ्नै भाग्य र भविष्यमा नकारात्मक प्रभाव पर्ने निश्चित हुन्छ । त्यसैले चुनावलाई एउटा रमाइलोका रूपमा मात्र नलिई सक्षम व्यक्तिको छनोट गर्ने अवसर हो भन्ने दृष्टिकोणले हेरिनुपर्ने हुन्छ । ठूलै संख्याका मतदाता पुराना पार्टीहरूको चुनाव चिहृनमा मतदान गर्न बाँनी परिसकेका छन् । ती मतदाताका छोराछोरी पनि पारिवारिक वातावरणको कारण अग्रज र अभिभावकले छानेको पार्टी र चुनाव चिहृनमा मतदान गर्न अभिप्रेरित बन्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?