कोरोना शिथिल भएसँगै पर्वतारोहीको संख्यामा वृद्धि, एक लाख बढीले लिए अनुमति

Read Time = 7 mins

रिता बस्नेत/हिटा
काठमाडौं । नेपालले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेसँगै संसारभरि फैलिएको कोरोना भाइरस संक्रमणका कारण ठूलो क्षति हुन पुग्यो । सोही वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटकले नेपालको भ्रमण गरेका थिए । तर, त्यसपछि भने सो संख्या घट्दै गएर शून्यमा पुगेको थियो । कोरोनाले गर्दा वायुसेवा, होटल क्षेत्र, यातायात, रेष्टुराँलगायत पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भएकाले धेरैले नोक्सानी व्यहोर्नुको साथै प्रायः विस्थापितसमेत हुनु परेको थियो । तर, पछिल्लो समय कोरोना संक्रमणको अवस्था शिथिल भएकाले पुनः पर्यटन क्षेत्र फस्टाउन थालेका छन् ।

पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी मोहनबहादुर जिसीले कोरोनाका कारणले सबैभन्दा बढी थिलोथिलो पारेको नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय सुधार हुँदै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाले नेपालको सबैभन्दा बढी नकारात्मक असर परेको क्षेत्र नै पर्यटन थियो । पर्यटकहरूको आगमनमा कमी भएको कारणले गर्दा पर्यटन व्यवसायीहरू निकै मार्कामा परेको र पर्यटन उद्योग नै धराशायी भएको अवस्था थियो । तर, अहिले आएर शुभ संकेत देखिएका छन् । पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएसँगै होटल बुकिङ आदिमा उल्लेखनीय चहलपहल बढेको छ ।’

निर्देशक जिसीका अनुसार हाल पर्यटन क्षेत्रका गतिविधिहरूमा वृद्धि भएकाले सो क्षेत्रमा रोजगारीको अवसरहरू पनि खुल्दै गएका छन् । सगरमाथालगायत नेपालका अन्य हिमालहरूको पर्वतारोहीहरूले आरोहण गर्दै गरेको हालको अवस्था रहेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘नेपालको समग्र आर्थिक अवस्था र नेपालको अर्थतन्त्रमा नै यसको सकारात्मक प्रभावहरू पर्न थालेको संकेतहरू देखा पर्न थालेका छन् । पर्वतारोहण प्रयोजनको लागि आउने पर्यटकहरूको संख्यामा पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । गत सालभन्दा यस वर्ष धेरै नै पर्वतारोहीहरूको संख्यात्मक वृद्धि भएको छ । हालसम्म हामीले एक हजार ६४४ जनालाई पर्वतारोहणको अनुमति दिएका छौँ । करिब-करिब एक सय २० वटा पर्वतारोहण दलहरूले त्यस्तो अनुमति प्राप्त गरेका हुन् ।’

उहाँका अनुसार नेपालमा भएका हिमालहरूले गर्दा विभिन्न पर्यटन गतिविधिमा वृद्धि भएकाले रोजगारीको अवसरहरू बढेको, आयआर्जन बढेको, विदेशी मुद्राको आयआर्जन केही हदसम्म वृद्धि भएको र राजस्व संकलन बढ्दै गएको हुँदा हाल पर्यटन क्षेत्रमा सकारात्मक संकेतहरू देखा परेका छन् । निर्देशक जिसीले नेपालमा एउटा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदा ट्राफिक, एयर ट्राफिक बढी भएर प्रभावित हुने गरेको अन्तर्राष्ट्रिय उडानहरू अब भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै ठूलो सहयोग हुने बताउनुभयो । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलले आगामी जेठ २ गतेबाट व्यावसायिक उडानहरू सुरु गर्ने कार्यक्रम रहेको छ । उक्त उडान सुरूपछि नेपालमा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटी (हवाई सम्पर्क)मा अपेक्षित वृद्धि हुनुको साथै पर्यटकहरूको आगमनको संख्यामा पनि उल्लेखनीय वृद्धि हुने उहाँको भनाइ छ ।

कोभिडले थिलोथिलो पारेको अर्थात् करिब धराशायी अवस्थामा पुगेको पर्यटन क्षेत्रलाई पुनःप्राप्त, पुनःउत्थान गर्नको लागि पर्यटक मन्त्रीको संयोजकत्वमा हाल राष्ट्रिय निर्देशक समिति बनेको र त्यसअन्तर्गत डा.राजाराम गिरीको अध्यक्षतामा प्राविधिक समितिसमेत बनेको निर्देशक जिसीले जानकारी गराउनुभयो । उहाँका अनुसार उक्त समितिले केही उपायहरू निकालेर भर्खरै विभिन्न सुझावहरू सहितको प्रतिवेदनसमेत बुझाइसकेको छ । प्रतिवेदनमा पर्यटन क्षेत्रमा के-कस्ता पूर्वाधारहरूको विकास गर्ने, के कस्ता प्रक्रियागत सुधारहरू गर्ने, नेपालको बजारको प्रचारप्रसार गर्न के कस्ता उपायहरू अवलम्बन गर्र्नेे आदि विभिन्न बृहत् सुझावहरू प्रस्तुत छन् । ती सुझावहरूको आधारमा नेपाल सरकारले कुनै निर्णय गरी यस सम्बन्धमा ठोस कदम अगाडि बढाउने विश्वास रहेको उहाँले बताउनुभयो । साथै, निर्देशक जिसीले सरकारले कर्मचारीहरूलाई दिन लागेको हप्ताको दुई दिन बिदाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गर्ने बताउनुहुन्छ । उहाँका अनुसार सरकारी कर्मचारीहरू नेपालभित्रका विभिन्न स्थानमा आन्तरिक पर्यटकको रूपमा परिवारसहित घुम्न जाने क्रममा वृद्धि भई नेपालको आन्तरिक पर्यटनलाई हप्ताको दुई बिदाले ठूलो योगदान गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?