बुद्धजयन्ती र कूर्मावतारको प्रसंग, समुद्र मन्थनबाट अमृत

Read Time = 18 mins

✍️ तोयराज नेपाल

वैशाख शुक्ल पूर्णिमामा बुद्धजयन्ती मानिन्छ । बुद्ध नेपालका उज्ज्वल ताराहरूमध्ये एक तारा मानिन्छन् । यसदिन कतिपयले कुलपूजा गर्ने परम्परा पनि छ । यस दिनलाई चण्डीपूर्णिमा भनेर किरात समुदायले धाननाच चण्डी नाच गरी उँभौली पर्व मानाउने परम्परा पनि छ । कूर्मावतार पनि यसै दिन भएको हो । (ध.सि.हेम-८१) बुद्धावतारका विषयमा ततः कलौ सम्प्रवृत्ते सम्मोहाय सुरद्विषाम् । बुद्धो नम्ना क्जनसुतःकीकटेषु भविष्यति ।। (जिनसुतःइति पाठान्तरः ।) (श्रीमद्भागवत १/३/२४) । कलियुगको प्रवृत्ति भएपछि दैत्यहरूलाई मोहित गराउन अजनका पुत्रका रूपमा कीकटदेशमा बुद्धको अवतार हुनेछ भनिएको छ । भागवतमा अन्यत्र पनि बुद्धबारे उल्लेख छ । जस्तै-भा०-२/७/३७, भ०-६/८/१९, भा०- १०/४०/२२ उपर्युक्त स्थलमा बुद्धका विषयमा उल्लेख छ । भविष्यपुराणमा पनि बुद्धको उल्लेख छ । ४/१२/२६, २७, २८,२९ । अग्नि पुराणमा-महामोहस्वरूपोक्सौ, शुद्धोदनसुतोक्भवत् । मोहयामास दैंत्याँस्तान् त्याजिता वेदधर्मकम् ।। अग्नि १६/२ यस्तो उल्लेख छ । महाभारतमा पनि छ-
मत्स्यः कूर्माे वराहश्च नारसिंहोक्थ वामनः । रामो रामश्च रामश्च बुद्धःकल्कीति ते दश ।।
महा शान्तिपर्व (अ.÷३४८) कतै यसै श्लोकमा, रामो रामश्च कृष्णश्च बुद्धः कल्किर्नमो नमः ।। यस्तो पाठ पनि पाइन्छ । छन्नः कलौ यदभवस्त्रियुगोक्थ स त्वम् । श्री० भा.७/९/३८ कलियुगमा अवतार नलिई गुप्तरूपले नै रहनुहुन्छ, भनिएको हुँदा कतिपय व्यक्तिहरू बुद्धलाई अवतार मान्दैनन्, तर पुराणहरूले अवतारका रूपमा स्थापित गरेका छन् । पहिले देवासुरको युद्धमा दैत्यहरूले देवतालाई जितेपछि देवताहरू नारायणका शरणमा गएर देवताहरूको रक्षाका लागि महामोहको स्वरूप लिएर दैत्यहरूलाई मोहित गरी वैदिक धर्मबाट च्युत गर्न वर्तमानकोे लुम्बिनी तात्कालिक तिलौराकोट राज्यमा शाक्यवंशी राजा शुद्धोदनकी रानी मायावतीबाट वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको अवतार भएको हो । उहाँ तुषित लोकबाट अवतरण हुनुभएको हो र अन्त्यमा पनि त्यहीँ नै जानुहुनेछ । पहिले उहाँको नाम सिद्धार्थ थियो, बुद्धत्व प्राप्तिपछि मात्र बुद्ध हुनुभएको हो ।

जबसम्म दैत्यहरूबाट वैदिक धर्मको पालना हुन्छ, तबसम्म दैत्यहरूलाई जित्न नसकिने हुँदा दैत्यहरूलाई मोहित गर्न महामोहको स्वरूप लिनुपरेको हो । किन यसो गर्नुपरेको हो त भन्दा, जसरी सर्पलाई दूध खुवाए पनि त्यो दूध विषै भएर निस्कन्छ, ठीक त्यसैगरी दुष्ट दैत्यहरूले वैदिक धर्मको पालना गरे पनि पछि गएर दुष्टतामा नै परिणत हुने हुँदा त्यसो गर्नुपरेको थियो ।

पहिले सिद्धार्थको यशोधरा कन्यासँग विवाह भएर राहुल नामक एक छोरा थिए । पछि दुःखी, रोगी, बूढो र मरेको मानिस देखेर सिद्धार्थलाई मानिस के कारणले दुःखी, बिरामी र बुढो हुन्छ ? के कारणले मृत्यु हुन्छ ? भन्ने प्रश्नले उनलाई वैरागी बनायो । यिनै प्रश्नको समाधान खोज्न उनी राति भागेर हिँडी भारतका विभन्न स्थानमा तपस्या र अनुसन्धान गर्दै बोधगयामा गएर एउटा पिप्पलका वृक्षमुनि बसेर तपस्या गरेर बुद्धत्व प्राप्त गरे । अनि दैत्यहरूलाई मायाले मोहित गराई वैदिक धर्मबाट च्युत गराएर देवताहरूलाई राज्य दिलाए । बुद्धले वेदमा रहेको पशुहिंसाको विरोध गरेका हुन्, अरू वैदिक आचरणको त पालना नै गरेको पाइन्छ ।

त्यसपछि पहिले उनले पञ्चशीलको सिद्धान्त प्रतिपादन गरेर त्यसको पालन गर्न र गराउन लागे । पञ्चशीलका सिद्धान्त यस प्रकार छन्- १-अहिंसा, २- अदत्तदानपरिग्रहः, ३- सुरामैरेयः, ४- कामेषु मिथ्याचारः, ५- मृषावादः ।

१- अहिंसा- मन, वचन र कर्मले प्राणीको हिंसा नगर्ने, प्राणीप्रति मैत्री, दया र करुणा गर्ने ।
२- अदत्तदानपरिग्रह- अस्त्येय अचौर्य अर्थात् अर्काको सम्पत्ति उसको सहमति बेगर कुनै हालतमा लिनु हुँदैन र आफूलाई आवश्यकभन्दा बढी सम्पत्ति थुपारेर राख्नु पनि हुँदैन ।
३- सुरामैरेय- कुनै हालतमा जाँड-रक्सी र मादक पदार्थको सेवन गर्नु हुँदैन ।
४- कामेषु मिथ्याचार-ब्रहृमचर्यमा रहनुपर्दछ र व्यभिचार गर्नु हुँदैन ।
५- मृषावादः- सधैं सत्य बोल्नुपर्छ, झूठो बोल्नु हुँदैन । भन्ने ज्ञान गरेपछि अनि काम, क्रोध, लोभ, मोह मद र मात्सर्य यी शत्रुहरूलाई जितेर धेरै समयसम्म तपस्यामा लागेपछि उनलाई बुद्धत्व प्राप्ति भयो । त्यसपछि
१- सम्यक् ज्ञान र सम्यक् समय, (राम्रोसँग ठीक समयमा ठीक-ठीक कार्य गर्नु) २- सम्यक् विचार, ३- सम्यक् वार्तालाप, ४- सम्यक् चलन, ५- सम्यक् जीवन, ६- सम्यक् प्रयत्न, ७- सम्यक् शोच र ८- सम्यक् सुख । आदि कुरालाई व्यवहारमा उतार्न सफल भएपछि बुद्धत्वमा प्राप्त भए । यसरी बुद्धत्व प्राप्त गरेपछि ज्ञान नै सर्वाेत्तम हो भन्ने शोच राखेर थुप्रै मानिसहरूलाई आफूले प्राप्त गरेका ज्ञानको उपदेश गरे। ‘सर्वं क्षणिकम्, सर्वं शून्यम्’ ।।

दृश्यमान सम्पूर्ण संसार असार छ, सबै शून्यमय छ । सांसारिक विषयलाई आसक्ति रहित भएर भोग गर्नुपर्छ । मृत्यु अवश्यम्भावी छ, त्यसैले पाप कर्ममा लाग्नु हुँदैन र मात्र अन्तिम सत्य बुद्धत्व प्राप्त गर्नसकिन्छ र त्यसैमा लीन हुन सकिन्छ । यही नै जीवनको लक्ष्य हो, भन्ने ठान्नुपर्छ । यही नै बुद्धत्व प्राप्ति हो भनेका छन् । अनि सम्पूर्ण जनतामा यसको उपदेश दिएर मानवलाई सही मार्गतर्फ डोर्‍याएका छन् ।

कूर्मावतार
कुनै समयमा देवता र दानवको युद्ध हुँदा दैत्यहरूले जिते । दैत्यबाट हार खाएका देवताहरू ब्रहृमाजीका शरणमा गएर हारेको कुरा बिन्ती गरे । ब्रहृमाजीले देवताको बिन्ती सुनेपछि देवताहरूलाई साथमा लिई वैकुण्ठ धाममा गएर विष्णुसँग यो कुरा बिन्ती गरे । विष्णुले-हे देवताहो ? अब दैत्यहरूसँग सन्धि गर्नु पर्‍यो र अमृत उत्पत्ति गराउने उपाय गर्नु प¥यो । अमृत खाएपछि कहिल्यै मरिँदैन, भन्नुभयो ।

‘अरयोक् पि हि सन्धेयाः सति कार्यार्थगौरवे । अहिमूषकवद् देवा हृयर्थस्य पदवीं गतैः ।। (श्री.भा.८/६/२०) हेर देवता हो ठूलो काम सम्पन्न गर्न शत्रुसँग पनि सन्धि गर्नुपर्छ । काम सम्पन्न भइसकेपछि ता सर्प र मूसाको जस्तो व्यवहार गरेपनि हुन्छ । कुनै बेला सर्प खेलाउने मदारीका टोकरीमा एकदिन एउटा मुसो पर्न गएछ । अनि सर्पले मुसालाई भनेछ- हेर मुसा भाइ तिमीले यस टोकरीलाई काट्यौ भने ता हामी दुवै यहाँबाट भाग्न सक्नेथियौं भनेपछि मुसाले सर्पको विश्वास गरेर टोकरी काट्यो । टोकरी काटिसकेपछि ता सर्पले पहिले मुसालाई खाएर टोकरीबाट भागेको थियो । त्यस कारण दैत्यहरूसँग सन्धि गर । कार्य सम्पन्न भएपछि ता आआफ्नो बाटो लाग्दा भइहाल्छ नि ! भन्नुभयो । देवताहरू दैत्यहरूसाथ गएर समुद्रमा अमृत मथन गर्ने प्रस्ताव राखे ।

बराबरी बाँड्ने सर्तमा दैत्यहरूले पनि प्रस्ताव स्वीकार गरी हुन्छ भने । अनि जंगलका सम्पूर्ण जडीबूटीहरू समुद्रमा हालेर मन्दराचल पर्वतलाई मधानी र वासुकी नागलाई नेती बनाएर समुद्र मन्थन गर्न लाग्दा भगवानको सल्लाह अनुसार हरि भगवान् समेतका देवताहरूले वासुकीको टाउकातिर समात्ने कुरा गरे । भगवानको यो चेष्टा दैत्यहरूलाई ठीक लागेन र भने सर्पको पुच्छर अमंगल, अशुभ अंग हो, हामी ठूला कुलीन हौं, त्यसकारण हामी टाउकातिर समात्छौं भने । अभिमानी दैत्यहरूले कुरा बुझेका थिएनन्, त्यसैले त्यसो भने । भगवान्ले अभिमानी दैत्यहरूको भाव बुझेर गरेको त्यो छल थियो । त्यसकारण मनमनमा खुशी हुँदै हुन्छ-हुन्छ हामी पुच्छरतिर नै समात्छौं भन्नुभयो । जोस जाँगरका साथ समुद्र मन्थन सुरु भयो तर अचानक मन्दराचल पर्वत समुद्रको गहिराइमा डुब्यो । भगवान् विघ्नेश्वरले विघ्न गर्नुभयो भन्ने बुझी विघ्नेश्वरको पूजा अर्चना वन्दन गर्न लगाई समस्त देव दानव र जगत्को कल्याणार्थ भगवान् नारायणले वैशाखशुक्ल पूर्णिमाको त्यो पवित्र दिन कूर्मको (कछुवाको) अवतार लिएर मन्दराचल पर्वतलाई पिठिउँमा थाम्नुभयो ।

मुन्मथ्नताममृतलब्धय आदिदेवः।
पृष्ठेन कच्छपवपुर्विदधार गोत्रं,
निद्राक्षणोक्द्रिपरिवर्तकषाणकण्डूः।।
श्री.भा.२/७/१३

विलोक्य विघ्नेशविधिं तदेश्वरो,
दुरन्तवीर्याेक्वितथाभिसन्धिः ।
कृत्वावपुः काच्छपमद्भुतं महत्
प्रविश्य तोयं गिरिमुज्जहार ।। (श्री.भा.८/७/८)

त्यसपछि भगवान् नारायणले हतार हतार जलभित्र बस्न सक्ने र पिठिउँको हाड अत्यन्तै कठोर हुने बडेमाको कूर्मको रूप लिएर त्यो पर्वतलाई आफ्नो पिठिउँ थापी त्यसैमाथि पर्वतलाई थामिदिनुभयो । यसरी भगवान्ले कूर्मावतार लिनुभयो । त्यसपछि ‘रूपेणान्येन देवानां मध्ये चक्रगदाधरः । चकर्ष नागराजानं दैत्यमध्येक्परेण च ।। उपर्याक्रान्तवाञ्छैलं बृहदू्रूपेण केशवः। तथापरेण मैत्रेय यन्न दृष्टं सुरासुरैः ।। (विष्णुपुराण,अंश-१) (अध्यय-९, श्लोक-८९,९०)

त्यसपछि पनि समुद्र मथन गर्दै जाँदा भगवान्ले चक्रगदाधर रूप लिएर देवतातिर र अर्काे रूपले दैत्यतिर मिलेर नेतीरूप वासुकीलाई तान्न लाग्नुभयो । फेरि मन्दराचल डुब्न लाग्दा भगवान्ले बृहत् विश्वरूप लिएर पर्वतलाई माथिबाट च्याप्पै पक्डिएर थाम्नुभयो, अनि आफैं समुद्रमथन गर्न लाग्नुभयो । तर त्यो विश्वरूपलाई देवता र दानव कसैले पनि देखेनन् । मन्थनको क्रम चलिरहेको थियो, सर्व प्रथम समुद्रबाट अति भयानक कालकूट नामक विष निस्कियो । जसबाट समस्त जलचर, थलचर, अपितु सम्पूर्ण जीव भयभीत भए ।
निर्मथ्यमानादुदधेरभूद्विषं, महोल्वणं हालहलाहृवमग्रतः। सम्भ्रान्तमीनोन्मकराहिकच्छपात्, तिमिद्विपग्राहतिमिङ्गिलाकुलात् ।। (श्रीमद्भा.महापु.८।७।१८) । उपस्थित देव दानव भगवान् भोलेनाथका शरणमा पुगे । देव देव महादेव भूतात्मन् भूतभावन । त्राहि नः शरणापन्नांस्त्रैलोक्यदहनाद् विषात् ।। (श्रीमद्भा.महापु.८।७।२१) करूणाकर दयासागर भगवान् शिवले जगद्रक्षार्थ कालकूट नामक त्यो विषलाई अँजुलीमा लिई पान गर्नुभयो । ततः करतलीकृत्य व्यापि हालाहलं विषम् । अभक्षयन्महादेवः कृपया भूतभावनः ।। (भागवत ८ । ७ । ४२)

शिवले पनि त्यो विष निलौं भने आफ्ना उदरमा रहेका समस्त जगत्को नाश होला भन्ने सम्झी घाँटीमा नै स्थापित गर्नुभयो । अति शक्तिशाली विषको प्रभावले पूरै घाँटी नीलो भयो । फलस्वरूप प्रभुको नीलकण्ठ नाम रहन गयो ।

त्यसपछि समुद्रमथन गर्दै जाँदा कामधेनु गाई, ऐरावत हात्ती, उच्चैः श्रवा घोडा, कौस्तुभ मणि, पारिजात, कल्पवृक्ष, अप्सराहरू, भगवती लक्ष्मी, अनि वारुणी मदिरा, निस्किसकेपछि हातमा अमृले पूर्ण भएको घडा लिएर धन्वन्तरि अवतार लिएर भगगवान् निस्किनुभयो । त्यो अमृत देखेपछि देवताहरू हामी लिने भन्ने, दैत्यहरू हामी लिने भन्नेमा ठूलो झगडा भयो । अनि भगवान्ले मोहिनी अवतार लिएर दैत्यहरूलाई मोहित गराई देवताहरूलाई अमृत बाँडिदिनुभयो । देवताका पंकितमा घुसेर राहुले अमृत पान गर्न लागेको सूर्य र चन्द्रले भगवान्लाई संकेत गरेपछि मोहिनीरूप भगवान्ले राहुको शिर काटिदिनुभयो ।

टाउको काट्ता पनि अमृत घाँटीमा पुगिसकेको हुँदा टाउको र जिउ दुवै नमरेको हुँदा धडको भागको राहु र टाउकाको भगको केतु भन्ने नाम राखी दुवैलाई ग्रह भनेर देवताकै सरह ग्रहमण्डलमा स्थान खटाइदिनुभयो । यसरी भगवान्ले कूर्मावतार लिएर अमृतमथन गर्ने कार्यमा ठूलो सहयोग गर्नुभयो । दशावतारभित्र कूर्मावतारलाई लिइन्छ । यसरी भगवानले कूर्मावतार लिनुभएको प्रसंग पुराणहरूमा वर्णित छ । कूर्मावतार भगवान्का दशावतार मध्ये द्वितीय अवतार मानिन्छ ।

भगवान्का चतुर्विंशति अवतारभित्र माथि वर्णित मोहिनी अवतार र धन्वन्तरि अवतार पनि पर्दछन् । समुद्र मथन गर्दा निस्किएका सबै रत्नहरू पनि भगवान्कै विभूतिहरू हुन् ।
श्रीकृष्णार्पणमस्स्तु ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?