अमानवीयताको परकाष्ठा : अपांगता सरोकारवाला

Read Time = 3 mins

काठमाडौं । अपांगता सरोकारवाला २३ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा मदतानका क्रममा अमानवीयताको परकाष्ठा देखिएको बताएका छन् । ह्विलचेयर प्रयोगकर्ता अपांगता भएका नागरिकलाई ह्विलचेयर मतदान केन्द्रभित्र लान नदिई हिलोमा घस्रिएर मतदान गर्न जानुपर्ने अवस्था सिर्जना गरिनु अमानवीयताको परकाष्ठा भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अपांगता भएका व्यक्तिको सहभागिता र समावेशिताको विषयमा संविधानले नै स्पष्ट व्यवस्था गरेको अवस्थामा निर्वाचन आयोग र मातहतका निर्वाचन कार्यालयले पहुँचविहीन बनाई मतदानको अधिकारबाट वञ्चित गरिएको विज्ञप्तिमा भनिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-२० राँझास्थित आदर्श माविको मतदान केन्द्रमा एकजना अपांगता भएका व्यक्ति घस्रिएर मतदान गर्न गएको भिडियो समाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो भाइरल भएसँगै अपांगता सरोकारवाला संघसंस्थाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू र बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारी, जिल्ला निर्वाचन कार्यालय प्रमुख रमा पन्त, स्थानीय सुरक्षा अधिकारीसहितका जिम्मेवार व्यक्तिलाई घृणा, हेला र तिरस्कारको अपराधमा कानुनी कारबाही गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भीर मानव अधिकार उल्लंघनको घटनाप्रति हामी राष्ट्रिय मानव अधिकार आयोग, समावेशी आयोगसहित अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी निकायहरूको पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ र भविष्यमा हुने कुनै पनि निर्वाचनहरूमा यस्ता विभेद नदोहोरिने, अपांगता भएका व्यक्तिको सहज सहभागिताका लागि आवश्यक पूर्वाधार तयार पार्न र उचित व्यवस्था तत्कालै
मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

यस घटनाप्रति सार्वजनिक रूपमा निर्वाचन आयोगले तत्काल माफी माग्ने, स्थानीय निर्वाचन अधिकृतमाथि कारबाही गर्ने प्रक्रिया नथालेमा कानुनी उपचारमा जाने र आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?