लेस्टरको सानदार जित

Read Time = 3 mins

लन्डन । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले वाट्फोर्डमाथि ५-१ को सानदार जित हात पारेको छ । लेस्टरको जितमा जेमी भार्डी र हार्भे बार्नेसले समान दुई तथा जेम्स म्याडिसनले एक गोल गर्नुभयो । वाट्फोर्डका जोओ पेड्रोले एक गोल फर्काउनुभयो ।

छैटौँ मिनेटमा जोओ पेड्रोको गोलबाट वाट्फोर्डले अग्रता लिएको थियो । १८औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । २२औँ मिनेटमा जेमी भार्डी र ४६औँ मिनेटमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई खेलमा ३-१ ले अघि बढाउनुभयो ।

त्यसपछि ७०औँ मिनेटमा जेमी भार्डी र ८६औँ मिनेटमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई सानदार जित दिलाउनुभयो । यो जितसँगै लेस्टर ३६ खेलबाट ४८ अंक जोडेर नवौँ स्थानमा रहेको छ । पराजित वाट्फोर्ड २३ अंक जोडेर १९औँ स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले वेस्टहृयाम युनाइटेडसँग २-२ गोलको बराबरी खेल्यो । वेस्ट हृयामका लागि दुवै गोल जारोड बोवेनले गर्दा सिटीका लागि ज्याक ग्रेलिसले एक गोल तथा एक गोल आत्मघाती उपहार पाएको थियो ।

यो बराबरीसँगै सिटीको ३७ खेलबाट ९० अंक तथा दोस्रो स्थानमा रहेको लिभरपुलको ८६ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ । वेस्ट हृयाम ५६ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

यस्तै एभर्टन ब्रेन्टफोर्डसँग ३-२ गोल अन्तरले पराजित भयो । खेलको दशौँ मिनेटमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाउनुभएको थियो । १८औँ मिनेटमा जरार्ड ब्रान्थवेटले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो । कोलम्यानले ३७औँ मिनेटमा आत्मघाती गोल गरेपछि ब्रेन्टफोर्डले खेलमा १-१ गोलको बराबरी गर्‍यो ।

पहिलो हाफको इन्जुरी समयमा रिचार्लीसनले पेनाल्टीबाट गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाउनुभएको थियो । ६२औँ मिनेटमा योअने विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई २-२ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि खेलको ६४औँ मिनेटमा रिको हेनरीले गोल गर्दै ब्रेन्टफोर्डलाई ३-२ को जित दिलाउनुभएको थियो ।

यस हारसँगै एभर्टनले ३६ खेलमा ३६ अंक जोडेको छ । एभर्टन १६औँ स्थानमा रहेको छ । ब्रेन्टफोर्ड ४६ अंक जोडेर ११औँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?