कोरोनाबाट बालबालिकाको पठनपाठनमा अवरोध

Read Time = 10 mins

✍️ रमेशप्रसाद गौतम

कोभिड-१९ महामारी अझै पनि समाप्त भइसकेको छैन । यसबाट विश्व नै एउटा कठिन मोडमा उभिन पुग्यो । धनी र विकसित मुलुकले प्रसस्त कोभिडविरुद्ध खोप उत्पादन गरे तापनि अधिकांश मुलुकहरूमा पर्याप्त खोप नपाउँदा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलन सक्ने डरले त्रसित बनायो । जुन मुलुकमा खोप नपाएका जनता छन् तिनबाट भाइरसको नयाँ भेरियन्ट उत्पन्न भई विश्वका अन्य मुलुकमा तीव्रता साथ फैलने गरेको छ । यो स्थितिमा विश्वव्यापी समझदारीको खाँचो छ । खोप निर्माता मुलुकहरूले अन्य मुलुकमा खोप वितरण गर्दा समानताको सिद्धान्तलाई ख्याल गरिनु त्यत्तिकै जरुरी छ ।

खोप निर्माता मुलुकहरू अमेरिका, बेलायत युरोपेली मुलुकहरू, चीन, रुसले अन्य खोप उत्पादन नगरेका मुलुकलाई आवश्यक डोज खोपहरू प्रदान गर्न सकिरहेका छैनन् । एशिया, अफ्रिका र अन्य मुलकका कतिपय आयस्रोत कम भएकाले खोपको अभाव झेलिरहेका छन् । यो समस्या समाधान गर्न संयुक्त राष्ट्र संघको सकृयता जरुरी छ ।

यस किसिमको विश्वव्यापी कोरोना महामारीका कारण विगत झण्डै दुई वर्षदेखि सानो ठूलो लकडाउनले विश्वभरका शिक्षण संस्था प्रभावित भएका छन् । यतिमात्र नभई हरेक नागरिकले एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न निषेधआज्ञासमेत भोग्न बाध्य भए । बालबालिका विद्यालय जान पाएनन् । सर्वसाधारण नागरिकमा कोभिड १९ को आतंकै चल्यो । अझै पनि त्यसको प्रभाव छँदैछ । विद्यालयहरूमा अनलाइन कक्षा सञ्चालन हुन्छ भने, कैयौं मिटिङ, सेमिनार, गोष्ठी अन्तक्रिया आदि जुम वा भर्चुअलमा हुने गरेका थिए ।

कोभिडकै कारण वैशाखबाट सुरु हुनुपर्ने शैक्षिक सत्र कक्षा १ देखि १० सम्म असारदेखि सुरु गरियो । हुन त अहिले धेरै जसो ठाउँमा कोरोना संक्रमण संख्या घट्दै आएको र मृत्युदरमा पनि कमी देखिएकाले यसै महिनादेखि विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने सरकारले अनुमति जारी गरेको छ । नेपालमा कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहरमा निक्कै आतंकित तुल्यायो । घर घरमा रुघाखोकी तथा ज्वरोका बिरामी अस्पतालमा पनि कोरोनाका बिरामीको अत्यधिक चाप वढ्दै आएको थियो ।

विद्यालयमा पनि एउटै कक्षामा कम्तीमा ३-४ जना रुघाखोेकी र ज्वरोका बिरामी भेटिन्थ्यो । प्राय बिरामी भएपछि विद्यालय आउँदैन थिए । कोरोनासँगै मिल्दाजुल्दा लक्षण देखिए तापनि परीक्षण गराउने कम संख्याका बिरामीमात्र जाने गर्दथे । हुनत अहिले कोरोनाका संक्रमितको संख्या कमी देखिँदै आएका विद्यालय खुल्दै आउन थालेका छन् ।

कोभिड संक्रमणको दर घट्दै आएकाले लकडाउनको परिस्थिति छैन । प्रायःजसो सबै विद्यालय, रेष्टुरा, होटल पार्टी प्यालेसलगायत सबैजसो क्षेत्र खोल्दै आउन थालेका छन् । कोराना संक्रमणको दर घटे तापनि यसको जोखिम भने हटिसकेको छैन । हाम्रा १८ वर्षमुनिका बालबालिकाका लागि जोखिम छँदैछ ।

कोरोना मानव जातिकै एउटा अभिसाप हो । यसबाट बच्न सबै स्वास्थ्य सावधानी अपनाउन जरुरी छ । यसको निधानका लागि खोप नै ठूलो समाधान हो । विद्यालयका हर बालबालिकासम्म खोप पुर्‍याएर भौतिक दुरी कायम गरेर कक्षा सञ्चालन गर्नु सरकारको दायित्व हो । विद्यार्थीहरूले कहाँ जान्छन के के खान्छन्, पानी खादा खाजा खाँदा मास्क खोल्छन् त्यत्ति बेला अरू साथीसँगै जोडिएर दूरी कायम नगरी रहेका हुन्छन् कि सबै निगरानी शिक्षकले गर्नुपर्छ । विद्यालय समयपछि अभिभावकले आफ्ना केटाकेटीको रेखदेख गर्नु सक्नुपर्छ । सानो कक्षाका बालबालिकाप्रति बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।

केटाकेटीलाई खेल्न, चल्न, बस्न, हिँड्न साथीभाइसँग हाँस्न, नाच्न, गाउनबाट रोक्न सकिँदैन । केटाकेटीको स्वतन्त्रता नखोस्न समयमै खोपको बन्दोबस्त गरी सबै तहका बालबालिकालाई भ्याक्सिन लगाइदिनु पर्ने सबैभन्दा उत्तम उपाय हो । तर, हाम्रो देशमा सबै बालबालिकाको खोप आइनपुगेकाले विद्यालय खुले पनि विद्यालय पठाउन अभिभावक अझै पनि डराइरहेका छन् ।

सम्पूर्ण विद्यार्थीलाई भौतिक उपस्थितिमा कक्षा कोठामा नै पठनपाठन व्यवस्था नहुन्जेल तमाम विद्यार्थीमा प्रतिकूल प्रभाव परिनै रहन्छ । पढ्न पाउने विद्यार्थीको नैसर्गिक अधिकारलाई सुनिश्चितता दिन पनि कोरोना महामारी जस्तो विसम परिस्थितिमा कठिन भएको थियो । विद्यार्थीलाई नयाँ ज्ञान र सीपको विकाससँगै इन्टरनेटको विस्तार स्मार्ट फोनको पहुँच हरेक विद्यार्थीसम्म पुर्‍याउन सकिएको छैन । यस किसिमको प्रविधि समानरूपले सबैमा प्रयोग हुन नसक्दासम्म पठनपाठन सुचारु हुनसक्ने अवस्था देखिँदैन ।

कोरोनाका कारण बालबालिकाको जीवन रक्षाका साथै पठन-पाठन अवरुद्ध भएबाट केटाकेटीले राम्ररी पढ्न पाएनन् । हाम्रा समाजका शिक्षित र हुनेखानेका बालबालिकाले सहजै घरमा बसेर सुरक्षित तरिकाले अनलाइन माध्यमबाट पढ्नपाए पनि सबैले यस्तो सुविधा पाएनन् । सामुदायिक विद्यालयका अधिकांश विपन्न वर्गका केटाकेटीको पढाइ अस्तव्यस्तै भयो । केटाकेटीमा निरासा र कुण्ठा व्याप्त भयो ।

कोरोना महामारीको त्रासमा बालबालिका मात्र होइन युवा, बुढा सब परे । यसको मानसिक तनावबाट उत्पन्न पीडाले धेरै मानिसले डिप्रेसनमा पुगी आत्महत्यासमेत गरे । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष १० लाख मानिसले आत्महत्या गर्छन् । नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढिरहेको छ । कोभिड महामारीले बढाएको बेरोजगारी स्वास्थ्य समस्या आर्थिक अभाव जस्ता जटिल समस्याले चालु वर्षमा अझ मानिसमा तनाव र पडा बढ्ने र आत्माहत्याको संख्या पनि थपिने चुनौती देखिन्छ । गरिबी, अभाव र विभेदले थिचिएका मुस्किलले बाँच्न बाध्य छन् । यिनैमध्येका कतिपय यस्तो नियतिबाट मुक्तिका लागि आत्माहत्या गर्न पुग्दछन् ।

यस किसिमको संकटमा विद्यालय आधारभूत तहमा विद्यार्थीमा बढी असर पर्‍यो । यसले शिक्षा क्षेत्रमा ठूलो हलचल ल्यायो । कोरोनाको प्रभावबाट सिर्जित समस्याको समाधानका लागि के गर्ने, कसरी गर्ने र सहज कसरी बनाउने भनेर गम्भीरतापूर्वक सरोकारवाला पक्षले विचार पु¥याउनु जरुरी छ । हुन त संघीय सरकारले विद्यालय सञ्चालनसम्बन्धी ढाचा २०७७ जारी गरे तापनि कार्यान्वयन फितलो भएबाट प्रभावकारी बन्न सकेन ।

दैनिक पठनपाठनको सवालमा संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयका बालबालिका बढी मारमा परे । अझ दुर्गम पहाड गाउँ र देहातका बालबालिकाको पढाइ अस्तव्यस्त भयो । यहाँका विद्यार्थी त्यसै पनि पठनपाठनमा कमजोर छन् । यिनमा भाषिक र गणितीय सीपसमेत कमजोर छ । त्यसमाथि लामो समय विद्यालयमा उपस्थित हुन नपाउनु र शिक्षकसँग प्रत्यक्ष सिक्ने अवसरबाट वञ्चित हुनाले झनै तिनलाई कमजोर बनायो । (गौतम शिक्षाविद् हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?