सर्लाहीमा अधिकांश मतदानस्थल संवेदनशील

Read Time = 3 mins

प्रकाश मैनाली/हिटा
सर्लाही । आसन्न स्थानीय तहको निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९० प्रतिशतभन्दा बढी संवेदनशील मानिएको छ । कुल ३१८ मतदानस्थलमध्ये १०३ मतदानस्थल अति संवेदनशील तथा १८४ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको हो ।
सुरक्षा समितिले जिल्लाको ३१ मतदानस्थल मात्र सामान्यको सूचीमा राखेको छ । ती ३१ मतदानस्थलमा ५५ मतदान केन्द्र रहेको छ । मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई ध्यानमा राखेर आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा प्रबन्ध मिलाइने सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, यातायातको असुविधा, विगतका निर्वाचनमा दलहरूबीचमा भएका झडप तथा आपराधिक क्रियाकलाप भएको आधारमा वर्गीकरण गर्दा १०३ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो । ती मतदानस्थलमा २०५ मतदान केन्द्र रहेका छन् । अति संवेदनशील मतदानस्थलहरू अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन् । यस्तै, जिल्लामा १८४ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ । संवेदनशीलको सूचीमा रहेका १८४ मतदानस्थलमा ३३९ मतदान केन्द्र रहेका छन् ।

सुरक्षाको दृष्टिले जिल्लाका अधिकांश मतदान केन्द्रहरू संवेदनशील देखिएकाले विगतमा भएको क्रियाकलापको आधारमा सुरक्षा समितिले निकालेको छ । अति संवेदनशील र संवेदनशील मतदान केन्द्रहरूमा सोही अनुसारको सुरक्षा प्रवबन्ध मिलाइको सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।

यसअघिको निर्वाचनमा जिल्लामा ३१८ मतदानस्थलमा ५१८ मतदान केन्द्र राखिएको थियो । यसपटकको निर्वाचनमा भने ३१८ वटै मतदानस्थलमा ५९९ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदाताको संख्या बढेकाले ८१ मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?