गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य

प्रा. देवीभक्त ढकाल
Read Time = 16 mins

अहिले कांग्रेस र माओवादी पार्टीमा गठबन्धन समर्थक र गठबन्धनका विरोधीबीच चर्को अन्तरद्वन्द्व छताछुल्ल भएको छ । गठबन्धनको औचित्य र आवश्यकतालाई तार्किक रूपमा पुष्टि गर्न गठबन्धनका नेताहरू विफल भएका छन् । गठबन्धनलाई, राष्ट्रिय आवश्यकता, संविधानको सुरक्षा, दिगो सरकार र प्रतिगमनलाई परास्त गर्ने कदम भन्ने तर गठबन्धनलाई राष्ट्रिय हितमा भन्दा व्यक्तिगत वा पार्टीगत हितमा सीमित राखेको विषय नेतृत्वको व्यवहारले पुष्टि गरेको छ । गठबन्धनका नेताहरूको चरित्र र व्यवहारले के पुष्टि गरेको छ भने गठबन्धन देश र जनताको हितमा होइन नेताहरूको स्वार्थ सिद्धिका लागि भएकोले यसमा देश र जनताको भविष्यको सरोकार छैन ।

यो स्वार्थमा अलिकति धक्का लाग्ने र अन्य दलबाट स्वार्थ पूरा हुने सम्भावना हुने बित्तिकै पुष्पकमल दहालमा गठबन्धन तोड्न कत्ति अपठ्यारो र लज्जाबोध गर्ने चरित्र नभएकाले यो गठबन्धन पानीको फोका जस्तै हो जतिबेला पनि भत्कन सक्छ । त्यसैले यसको भविष्य छैन । पार्टीहरूका निर्णायक तहमा रहेका नेताहरूको छनौटमा आफ्ना नातागोतालाई धेरै बजेट भएका महानगर र नगरपालिकामा उम्मेदवार बनाएर नेताहरूले सबै पार्टीका कार्यकर्ता र शुभचिन्तकमा असन्तुष्टिको बीजारोपण गरेका छन् ।

नातागोता स्थानीय सरकारको उम्मेदवारका लागि मुख्य प्राथमिकतामा परेपछि देशभरका स्थानीय निर्वाचनको उम्मेदवार छनौटप्रति सबै पार्टीका कार्यकर्तामा असन्तुष्टि हुने विषय स्वाभाविकै भन्नुपर्छ । नेताहरूले निष्पक्ष निर्णय गर्न नसक्दा उनीहरू सबै विवादित बने । सबै नेताहरूमा पक्षपात प्रधान व्यवहर भएको अनुभूति आमकार्यकर्ताले गरेको विषयले प्रायः सबै पार्टीमा असन्तुष्टको संख्या एकाएक वृद्धि भएको छ । यो असन्तुष्टिलाई व्यवस्थापन गर्ने चुनौती र जिम्मेवारी निर्वाह गर्न नेतृत्व असफल देखियो । देश र जनताका लागि राजनीति गर्ने भनिए पनि अहिले प्रायः सबै नेताहरू, परिवार र नातागोताको उत्थानमा नै आफूलाई सीमित गरेका छन् ।

नातावादप्रतिको रुझानका कारण नेताहरू जनताका दृष्टिमा इतिहासमा नै अत्यधिक आलोचित भएको अवस्था छ । आलोचनालाई उल्टै उनीहरूले गलत अर्थ लगाउँदै नातावादको पक्षपोषण गर्दा पार्टीका निर्णय प्रभावकारी ढंगले कार्यान्वयन हुने अवस्था छैन । त्यसैले पार्टी भित्रभत्रै सल्केको असन्तुष्टिको आगो केही जिल्लामा विद्रोही उम्मेदवारको रूपमा देखिए । तर, नेताहरूले पार्टीमा निर्माण गरेको एकलौटी तन्त्रको बलमा अनुशासनको डण्डालाई प्रभावकारी बनाउँदा पार्टीको संगठन भताभुंग छ ।

संगठन छिन्नभिन्न भएको स्थितिमा एक्लै निर्वाचनमा जाँदा हार निश्चित हुने देखेर सबै पार्टीहरूले गठबन्धन कोसँग कसरी गर्ने चिन्तन गर्दा अहिले सैद्धान्तिक रूपमा नितान्त भिन्न पार्टीबीच पनि अपवित्र गठबन्धनले राजनीति अत्यन्तै प्रदूषित भएको अनुभूति प्रायः सबै दलका कार्यकर्ता र शुभचिन्तकमा छ । यसले सबै पार्टीहरूको संगठनात्मक शक्ति कमजोर भएको पुष्टि गरेको छ । पार्टी कमजोर हुँदा त्यसलाई सशक्त बनाउने हतियार भनेको संगठन हो । तर, नेताहरू आफ्नो संगठनलाई चुस्त दुरुस्त बनाएर पार्टीको भविष्य बनाउने सोचमा भन्दा गठबन्धन गरेर लाभ लिने प्रयासमा क्रियाशील हुँदा पार्टीको भविष्यका सन्दर्भमा चिन्तन गर्ने जमात अत्यन्तै निराश बनेको छ ।

त्यही निराशाको क्षतिपूर्तिको रूपमा गठबन्धनलाई हतियार बनाउँदा नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टीले आस्था, सिद्धान्त र शाखलाई तिलाञ्जलि दिएर सत्तालाई प्राथमिकता दिएको विषयले अहिलेको नेतृत्वसँग आमकार्यकर्ता अत्यन्तै असन्तुष्ट बने ।

जनताको असन्तुष्टिलाई सम्बोधन गर्नभन्दा गठबन्धनका नेताहरूका असन्तुष्टिलाई सम्बोधन गर्दै गर्दा यसले कार्यकर्तामा झन् असन्तुष्टि बढायो । तर, नेताहरूको प्राथमिकता गठबन्धन र सरकारसँग मात्रै हुँदा नेताहरू प्रायः सबैले पार्टीको सैद्धान्तिक विषयलाई बेवास्ता गर्दै भएको गठबन्धनले स्थानीय निर्वाचनमा सबै दलले एक्लै निर्वाचनमा होमिन डराएको अवस्थाले अहिले देश नै गठबन्धनमय बनेको छ । कुनै दल गठबन्धन गरेर पछुताएका छन् भने कुनै दल गठबन्धन गर्न नपाएर पछुताउने क्रममा गठबन्धनप्रति कटाक्ष नै उनीहरूको सिद्धान्त बनेको छ ।

पार्टीहरूका नेताहरूले पार्टीको सिद्धान्तलाई बेवास्ता गर्दा अहिले पार्टीहरूको सैद्धान्तिक भिन्नताको नै अन्त्य भएको छ । पार्टीहरूलाई सबै नेताहरूले सत्ताको फोहोरी राजनीतिमा केन्द्रीकृत गरेका छन् । आफ्ना सन्तति र नातागोताहरू स्वार्थको भरमा उम्मेदवार छनौट हँुदा कांग्रेस पार्टीभित्र विरोधले उग्ररूप लियो । खासगरी कांग्रेसका भुक्तभोगीमध्येका चितवनका नेताहरूले खबरदारी गर्ने काम गर्दा त्यसलाई नेतृत्वले चरम बेवास्ता गर्‍यो । कांग्रेस र माओवादीबीच भएको गठबन्धन भने कार्यकर्ताबीच नितान्त आशंका र अविश्वासमा रुमलिएको छ ।

यसको प्रत्यक्ष प्रभाव निर्वाचनको प्रचारप्रसारमा सबैले अनुभव गरेको विषय हो । नितान्त भिन्न सिद्धान्त, दृष्टिकोण, चिन्तन र गन्तव्य भएका दलहरूबीच भएको गठबन्धनले देश र जनता लाभान्वित हुने सम्भावना नदेखेका कारण दुवै दलका कार्यकर्तामा चरम असन्तुष्टि हुँदाहुँदै पनि शेरबहादुर र पुष्पकमलको व्यक्तिगत र राजनीतिमा परिवारवाद र नातावादको पक्षपोषण गर्न अहिले दुबै नेताहरू र तिनका आसेपासेहरूले कुतर्कको सहारामा गठबन्धनलाई अघि बढाउने प्रयासका रूपमा स्थानीय निर्वाचन सम्पन्न भएको छ । स्थानीय निर्वाचनको परिणामले गठबन्धन फेरि भत्कन पनि सक्छ भन्ने आशंका दुवै दलका नेतामा विद्यमान रहेको निर्वाचनले आशातीत सफलता दिन्छ भन्ने विषयमा नेता र कार्यकर्ता पंक्ति दुवै विश्वस्त छैनन् ।

पुष्पकमल दाहालमा अन्तरनिहित ढुलमुले चरित्र र स्वार्थ केन्द्रित व्यवहारका कारण गठबन्धनप्रति उनी आफैं पनि विश्वासको संकटमा छन् भने कांग्रेस र माओवादीभित्रै पनि गठबन्धनका विरोधीहरूले गठबन्धनको भविष्य छैन भन्ने तर्क पेस गरेका छन् । कांग्रेसका लागि गठबन्धन राजनीतिक आत्मसमर्पण हो । यसले कांग्रेसको राजनीतिक भविष्यलाई नकारात्मक प्रभाव पार्ने तर्कलाई चिरफार गर्ने आधार नदेखिएको अवस्थामा गठबन्धनप्रति दुबै पक्ष विश्वस्थ नहुँदा नहुँदै पनि आशंका र अन्यौलका बीच स्थानीय निर्वाचन सम्पन्न त भयो तर यसले दुवै दलका कार्यकर्ताको असन्तुष्टिलाई भने बढाएको छ ।

चितवनमा सरकार समर्थित र सरकार विरोधीबीच तीव्र ध्रुवीकरणको परिणामस्वरूप असन्तुष्टले भरतपुरको मेयरको पदमा छुट्टै उम्मेदवारी दिँदा यसले पार्टीभित्र र गठबन्धनका दलबीच चरम असन्तुष्टिको बीजारोपण भएको छ । विश्वास नभएको दलको नेतासँग भएको गठबन्धनप्रति पूर्णविश्वस्त नहुँदा नहुँदै पनि प्रधानमन्त्री पदको लोभका कारण शेरबहादुरजी गठबन्धनको आवश्यकता र औचित्य पुष्टि गर्न व्यस्त छन् भने कांग्रेसको ठूलो हिस्साले गठबन्धनलाई पूर्णतः अविश्वास गरेको हुँदा दुवै दलमा गठबन्धन विवादको विषय बनेको छ ।

चितवनका कांग्रेसले नेतृत्वको तानाशाही चरित्रको विद्रोहको नेतृत्वमा अहिले जगन्नाथ पौडेललाई उभ्याएका छन् । सरकारी पक्ष र माओवादी पार्टी सत्ताको चर्को दबाबलाई उम्मेदवारी फिर्ताको सन्दर्भमा जगन्नाथले देखाएको अडानले उनी इतिहासमा नै सर्वाधिक चर्चित नेता बने । उनीप्रति देशविदेशमा रहेका कांग्रेस र कांग्रेस इतर दलका व्यक्तिहरूको अपार समर्थन प्राप्त भयो । निर्वाचन अगावै जनताको मनमा भने उनी मेयर बने । उनको उम्मेदवारी सबै पार्टीका नेताहरूमा भएको दलीय तानाशाही प्रवृत्तिको विरोध हो । देश र जनता अहिले दलीय तानाशाहको उत्पीडनमा पिल्सिएका छन् ।

सबै पार्टीका जनताको अन्तर मनको असन्तुष्टिलाई प्रतिनिधित्व अहिले जगन्नाथले गरेका छन् । कांग्रेसले पार्टीबाट उनलाई निलम्बन गरेर विस्थापित गरे पनि उनी कांग्रेस पार्टीको विद्रोही शक्तिको रूपमा स्थापित भएका छन् । उनी अब कांग्रेस पार्टीभित्रको असन्तुष्टको मात्रै नेता नभएर सबै पार्टीहरूका असन्तुष्टको राष्ट्रिय नेता बनेका छन् । हाम्रा परिवर्तन चित्र फेर्न सफल भए तर चरित्र फेर्न असफल हुँदा जनताको उत्थान र विकासको सपना अलपत्र पर्‍यो । त्यो अलपत्र अवस्थाको चर्को खबरदारीको नेतृत्वको खाँचोलाई पूरा गर्ने जिम्मेवारी समयले जगन्नाथलाई दिएको छ ।

मेयरको उम्मेदवारी र त्यसपछिको विकसित परिस्थितिमा उनले लिएको अडानले गर्दा नेपाली राजनीतिमा पद र पैसामा नबिक्ने पनि मानिस छन् भन्ने उदाहरण जगन्नाथ बने । त्यागले उनलाई लोकप्रियता र चर्चाको शिखरमा पुर्‍यायो । धम्की, धन र पदको प्रलोभनलाई यसरी तिलाञ्जलि दिने व्यक्तिको नितान्त खडेरीमा हुर्केको विद्रोही चिन्तन यो अल्पकालीन विषय नभएर यो राजनीतिको कोर्ष परिवर्तन गर्ने अस्त्रको रूपमा क्रियाशील हुने आशा नेपालीमा जगायो । कांग्रेसभित्र र अन्य पार्टीमा रहेका असन्तुष्ट पक्षको नेतृत्व गर्ने दायित्व र जिम्मेवारीले अहिले जगन्नाथलाई पच्छ्याएको छ ।

जसरी पञ्चायत कालमा विद्रोहीको नेतृत्व गर्न स्नातक मतदाताले रामराजाप्रसाद सिंहलाई पत्याए त्यस्तो अवस्था चितवनका मतदातामा नदेखिए पनि देशभरका परिवर्तनका पक्षधरका सबै पार्टीका कार्यकर्ता र शुभचिन्तकले गरेको विश्वासलाई जगन्नाथ जीले निर्वाचनमा पराजय नै हुनुपर्दा नेतृत्व गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । कांग्रेसमा पद नपाएको व्यक्तिगत असन्तुष्टिले उनी उम्मेदवार बनेका होइनन् । यदि त्यो दृष्टिकोण भएको भए उनी गएको निर्वाचनमा पनि उम्मेदवार हुनसक्थे । पुष्पकमल दाहालले यो निर्वाचनमा आफ्नी छोरीबाहेकको योग्य उम्मेदवार दिएको भएपनि सायद असन्तुष्टहरूको छुट्टै उम्मेदवार नबन्ने स्थिति पनि बन्न सक्थ्यो ।

यो उम्मेदवारी पार्टीभित्रको दलीय तानाशाही प्रवृत्ति र राजनीतिक अवसरहरूमा नातावादप्रतिको तीव्र असन्तुष्टिलाई एकैसाथ सम्बोधन र विद्रोह गर्ने हतियार हो भन्दा अत्युक्ति हुँदैन । जगन्नाथ पौडेले दलीय तानाशाहको विरोधमा आन्दोलनको नेतृत्व गर्ने अवसरलाई उनले ऐतिहासिक दायित्वको रूपमा स्वीकार गर्दै आन्दोलनको रणनीति र आन्दोलनपछिको सरकारका रणनीतिहरू अख्तियार गर्न अब छिट्टै सबै दलहरूका असन्तुष्ट पक्षको राष्ट्रिय भेलाको तयारीमा लाग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

जगन्नाथको अनुभव, योग्यता र भोगाइले अब आन्दोलनको पूर्वतयारी गर्ने देशभरका परिवर्तनका पक्षधरहरूको साथ र समर्थनलाई ऐक्यबद्धता गर्ने अभियानको खाका तयारीमा जुट्न प्राप्त अवसरलाई कति सदुपयोग गर्छन् यसले जगन्नाथको योग्यता र क्षमताको परीक्षण गर्नेछ । आशा र विश्वास गरौं यो परीक्षामा उनलाई समयले उम्दा विद्यार्थी प्रमाणित गर्ने नै छ ।

Subscribe
Notify of
guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गाेविन्द राज जाेशी कैलाली
गाेविन्द राज जाेशी कैलाली
2022-05-18 1:52 am

लेख समय सान्दर्भिक र प्रेरणादायी छ।काँग्रेसमा जीवन अर्पण गरेका व्यक्तिका लागि मार्ग निर्देशक छ।

गणेशप्रसाद नेउपानेलाई
गणेशप्रसाद नेउपानेलाई
2022-05-20 8:56 am

लेख राम्रो छ।नेतृत्व वर्गले ध्यान दिनुपर्दछ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?