पञ्जाबमाथि दिल्लीको जित

Read Time = 3 mins

नयाँदिल्ली । क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पञ्जाब किंग्सलाई १७ रनले पराजित गरेको छ । यो जितसँगै दिल्ली १४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । जितका लागि १६० रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाउन सकेको थियो । पञ्जाबका विकेटकिपर जितेश शर्माले ३४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४, राहुल चाहर २४ बलमा २ चौका र १ छक्कासहित २५ रन जोड्नुभयो ।

यस्तै ओपनर जोनी बेयरस्टो १५ बलमा ४ चौका र १ छक्कासहित २८, शिखर धवनले १९ रन थप्नुभयो । दिल्लीका शार्दुल ठाकुरले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिनुभयो । स्पिनर अक्षर पटेलले ४ ओभरमा १४ रन खर्चेर २ तथा कुलदीप यादवले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभएको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । दिल्लीका मिचेल मार्शले ४८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाउनुभयो । शरफराज खान १६ बलमा ५ चौका र १ छक्कासहित ३२, ललित यादव २४, ऋषभ पन्त ७, रोभम्यान पावेल २ र शार्दुल ठाकुर ३ रनमा आउट हुनुभयो ।

पञ्जाब किंग्सका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ तथा लियाम लिभिङस्टोनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिनुभयो । दिल्लीले अब अन्तिम खेल २१ मेमा मुम्बई इन्डियन्ससँग खेल्नेछ । उक्त खेलमा विजयी हुँदा १६ अंक हुनेछ । दिल्लीसँगै १६ अंकका साथ रोयल च्यालेन्जर्स बैंग्लोर पनि प्लेअफमा पुग्ने सोचमा छ । बैंग्लोरले १९ मेमा शीर्षस्थानको गुजरात टाइटन्ससँग खेल्नेछ । उक्त खेलमा बैंग्लोर पराजित भएमा र दिल्ली विजयी भएमा सहजै प्लेअफमा पुग्नेछ । अन्यथा नेटरनरेटमा निर्भर रहनुपर्छ ।

पञ्जाबले अन्तिम खेल २२ मेमा सनराइजर्स हैदराबादसँग खेल्नेछ । पञ्जाब प्लेअफमा पुग्न अन्तिम खेलमा नाटकीय नतिजा आउनुपर्छ । अन्तिम खेलमा दिल्ली, बैंग्लोर र कोलकाता भारी अन्तरले पराजित हुँदा र पञ्जाबले फराकिलो जित हात पार्न सके १४ अंकका साथ अन्तिम चारमा रहँदै प्लेअफमा पुग्न सक्छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?