-विवेक खड्का
दाङ । दाङको बबई गाउँपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका भूवनेश्वर पौडेल अत्यधिक मतका साथ अध्यक्षमा निर्वाचित हुनुभयो । कांग्रेसका उम्मेदवारभन्दा धेरै मतान्तरले बबईमा एमालेले आफ्नो गढ सावित गर्दै विजयको झण्डा फहरायो । त्यसपछिका संसदीय निर्वाचनमा पनि बबई एमालेकै गढ बनेर उभियो । प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवारका लागि बबई नै निर्णायक शक्तिका रूपमा देखियो । त्यो बबईकै कारण विजय प्राप्त पनि गर्यो । प्रदेश सभाको ०७६ मा भएको उप-निर्वाचनमा पनि बबईको मत नै नेकपाका उम्मेदवारका लागि सती सावित भयो ।
यस पटकको स्थानीय निर्वाचनमा पनि एमालेले जित्ने पालिकाका बबई एक नम्बरमै थियो । उम्मेदवारी दर्तादेखि मत गणनासम्मको अवस्थासम्म एमालेले बबई गुमाउनेमा कुनै शंकासमेत गरेको थिएन । तर, अहिलेको स्थानीय निर्वाचनमा बबईमा एमालेले लज्जास्पद हार बेहोरेको छ । एमालेको गढमा नेपाली कांग्रेसले विजयको झण्डा फहराएको छ । कांग्रेसका कुलबहादुर खत्री ठूलो मतान्तरसहित बबईमा उदाउनुभएको छ । उपाध्यक्ष, बहुमत वडा अध्यक्षसहित बबईमा कांग्रेसले धेरैपछि विजयको झण्डा गाडेको छ ।
दाङको राप्ती गाउँपालिका कांग्रेसको गढ हो । गाविस हुँदादेखि नै कांग्रेसको एकछत्र राज रहेको राप्ती गाउँपालिका यो स्थानीय निर्वाचनले कांग्रेसको गढ भत्किएको छ । यस पटकको निर्वाचनमा कांग्रेस राप्तीमा तेस्रो शक्तिको रूपमा देखिनु नै गढ भत्किएको प्रमाण हो । राप्तीमा कांग्रेसको गढलाई माओवादी केन्द्रले भत्काएर आफ्नो विजयको झण्डा गाडेको छ ।
०७० पछिका सबै निर्वाचनमा राप्ती गाउँपालिका कांग्रेसका लागि महŒवपूर्ण क्षेत्र र निर्णायक मत भएको क्षेत्रका रूपमा रहँदै आएको थियो । तर, यसपटक दुई हजारभन्दा बढी मतान्तर राखेर माओवादी केन्द्रले पालिकामा विजयको झण्डा फहराएको छ । दाङको दंगीशरण गाउँपालिका एमालेको गढ भएको पालिका हो । २०७४ सालको स्थानीय निर्वाचनमा पालिका जितेको एमालेले त्यसपछिका दुईवटा निर्वाचनमा पनि एमालेमय नै भयो । तर, यसपटकको निर्वाचनले कांग्रेसलाई दंगीशरणमा फर्काइदिएको छ ।
दंगीशरणमा अहिले अध्यक्ष उपाध्यक्षसहित बहुमत वडा अध्यक्षमा कांग्रेसका उम्मेदवारहरूले शानदार मतान्तरमा विजय प्राप्त गरेका छन् । यसपटकको निर्वाचनले एमाले गढ भत्काएर कांग्रेसको उदय गराइदिएको छ । शम्भु गिरी अध्यक्षसहित उपाध्यक्ष र बहुमत वडा अध्यक्ष दंगीशरणमा कांग्रेसले जितेको छ । गढवा गाउँपालिका पनि २०७४ मा एकालेकै गढ सावित भयो । २०७४ पछिका निर्वाचनमा पनि एमाले राम्रो पकेट भएको क्षेत्रका रूपमा गढवालाई चित्रण गरियो । निर्वाचनमा निर्णायक मत गढवाले प्रस्तुत गर्यो । तर, यस पटकको निर्वाचनमा गढवा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसले जित हात पारेको छ । यहाँ एमाले तेस्रो स्थानमा झरेको छ ।
शान्तिनगर गाउँपालिका र राजपुर गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नो गढ प्रमाणित गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा जितेका यी दुई पालिका अहिले निर्वाचनमा पनि नेपाली कांग्रेसले जोगाएर राख्न सफल भएको हो । राजपुरमा शरद बुढाथोकी अध्यक्षमा र धनपति यादव उपाध्यक्षमा निर्वाचित भइसकेका छन् । शान्तिनगरमा पनि अध्यक्षमा प्रमोद बस्नेतसहितको टिम निर्वाचित भइसकेको छ । बहुमत वडा अध्यक्ष उपाध्यक्षसहितले जित हात पारेका छन् ।
लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । लमहीका नौ वडामध्ये आठ वडा कांग्रेसले जितेको छ । वडा नम्बर ५ मा मात्रै माओवादी केन्द्रले जितेको छ । २०७४ मा मेयर जितेको एमाले भने यसपटक शून्य भएको छ । दाङमा यसरी हेर्दा फरक दलको गढलाई भत्काउँदै आफ्नो विजयको यात्रामा दलहरू लागेका छन् भने कति दलहरूले आफ्नो विरासत जोगाउन यो निर्वाचनमा सकेका छैनन् । नेपाली कांग्रेसले पश्चिम दाङ अर्थात् संघीय निर्वाचन क्षेत्र नं. ३ मा आफ्नो पकड स्थापित गरेको छ । अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ मा आफूले गुमाएका दंगीशरण गाउँपालिका र बबई गाउँपालिकामा पुनः विजय हासिल गरेपछि पश्चिम दाङ पूरै नेपाली कांग्रेसको पकडमा छ । तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु भएको छ ।
सल्यानमा पनि यसपटक माओवादीका गढ भत्काएर कांग्रेसले विजयको झण्डा फहराउन थालेको छ । ५१ सालपछि लोप भएको कांग्रेस ७४ सालमा देखिएको छ । माओवादीको गढ भएको कुमाख गाउँपालिकामा कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । एमालेको गढ भएको सिद्धकुमाखमा पनि कांग्रेसले विजय प्राप्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच