भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १५७ पुग्यो, घाइते १६६

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । जसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।

सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

यस्तै हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना उपचार पछि डिस्चार्ज भएका छन् ।

यो नेपाल प्रहरीले आज अपराह्न ४ बजे सम्म अध्यावधिक गरेको विवरण हो । गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

नेपाल एअरलाइन्स र सेनाको हेलिकप्टरमा भएको इन्धन खर्च आयल निगमले बेहोर्ने

जाजरकोट र रुकुममा भूकम्प प्रभावितको उद्धारमा नेपाल आयल निगमले पनि सहयोग गर्ने भएको छ ।

उद्धार तथा राहतमा प्रयोग भएका नेपाल एअरलाइन्सको जहाज तथा नेपाली सेनाको हेलिकप्टर र जहाजमा प्रयोग हुने इन्धन बापतको रकम बेहोर्ने निगमले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःनिर्माणका लागि एनआरएनएको दश लाख आर्थिक सहयोग

गैर आवासीय नेपाली संघ ९एनआरएनए० ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको शक्तिशाली भूकम्पका कारण प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःनिर्माणका लागि १० लाख आर्थिक सहयोग दिने घोषणा गरेको छ।

आज शनिवार संघका अध्यक्ष डा बद्री केसी र महासचिव गौरीराज जोशीले एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।

यसैगरी संघले यस कठिन परिस्थितिमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाउँदै विदेशमा रहेका गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्लाई मातृभूमिमा परेको पीडामा मल्हम लगाउन यथासक्य छिटो उद्धार तथा राहतका लागि आर्थिक तथा भौतिक सहयोगमा जुट्न आग्रह समेत गरेको छ ।

सरकारद्वारा भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई बिदामा नबस्न निर्देशन

सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई केही दिन बिदामा नबस्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।

बिदामा भएका कर्मचारीलाई पनि यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भइ कामकाजमा खट्न मन्त्रालयले निर्देशन दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैन : मौसमविद

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिनरभयो ।

‘हामीले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्छौं, अहिलेको अवस्था हेर्दा भूकम्प प्रभावित जिल्लामा दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना देखिएको छैन,’ उहाँले भन्नुभयो ।

राति बादल कम हुने र दिउँसोतिर बढ्ने भन्दै उनले रुकुम पश्चिम र जाजरकोटमा पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताउनुभयो ।

मौसमविद झाका अनुसार उच्च पहाडी र हिमाली भेगमा भने फाट्टफुट्ट हिमपातको सम्भावना छ । ‘तर डिस्टर्ब नै हुने गरी हिमपात हुँदैन,’ उहाँले भन्नुभयो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?