आधा काम सम्पन्न नहुँदै बसपार्क उद्घाटन

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा निर्माण कार्य आधा पनि नसकिँदै लामो दूरीको बसपार्क उद्घाटन गरिएको छ । पाँच वर्षे कार्यकालका औपचारिक कार्यभार हस्तान्तरणको समय नजिकिँदै गइरहेको बेला प्रमुख लुटबहादुर रावतले बसपार्कको उद्घाटन गर्नुभएको हो । कोहलपुर–११ स्थित डुडुवा नालानजिकै निर्माणाधीन लामो दूरीको बसपार्कको टर्मिनल भवन उद्घाटन भए पनि कोहलपुरवासीले असन्तुष्टि व्यक्त गरिरहेका छन् । कोहलपुर नगरपालिकाद्वारा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख रावतले पाँच वर्षको अवधिमा कोहलपुरमा दर्जनौँ गौरवका आयोजना निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले निर्माण गरेको सबैभन्दा ठूलो तथा गौरवको आयोजना निर्माणको अन्तिम चरणमा छ । उक्त बसपार्क निर्माण सम्पन्न भइसकेको छैन । निर्माण सम्पन्न हुन अझै करिब आठ महिना बाँकी छ । उहाँले भन्नुभयो, ‘पाँच वर्षमा हेर्न र घुम्न लायक ठाउँ बनाएका छौँ, कोहलपुर विकासको आधार तयार भएको छ । बसपार्क हामीले सुरु गरेको गौरवको आयोजना हो ।’ यस्तै, उहाँले नगरपालिकाले आफैँ निर्माण गरेको बसपार्क राष्ट्रिय गौरवको आयोजना भएको समेत दाबी गर्नुभयो । ‘पत्रकार साथीहरू निर्माण भइरहेको भवन किन उद्घाटन भयो भन्नुहोला । हाम्रो अवधि अब सकिएको छ । यो निर्माणाधीन अवस्थामा रहे पनि सम्पन्न हुने चरणमा भएकाले उद्घाटन गरिएको हो,’ बसपार्क उद्घाटनबारे प्रष्ट्याउँदै उहाँले भन्नुभयो ।

बसपार्कको टर्मिनल भवन निर्माण भइरहेको भवनमा बैंक राख्न मिल्ने उहाँले बताउनुभयो । यस्तै, प्रहरी चौकी, स्वास्थ्य चौकी र वडा नम्बर ११ को वडा कार्यालयसमेत निर्माण गरिएको छ । उक्त अवसरमा वडा कार्यालयसमेत उद्घाटन गरियो । प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले सिंगो बसपार्क नभइ टर्मिनल भवन मात्रै उद्घाटन गरिएको जानकारी दिनुभएको थियो ।

बसपार्क निर्माणको लागि नगरपालिकाले नगर विकास कोषसँग २७ करोड ९९ लाख १८ हजार रुपैयामाँ ऋण सम्झौता गरेको छ । बसपार्क निर्माणको लागि ६० प्रतिशत नगर विकास कोषको ऋण र ४० प्रतिशत नगरपालिका आफैँले लगानी गरेको छ । वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षको लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । कोहलपुर–११ चौराहा नजिकै लामो दूरीको बसपार्क बनाउन नगरपालिकाले २५ वर्षको लागि जग्गा कोहलपुर नगर विकाससँग लिज सम्झौता गरिसकेको छ । बसपार्क निर्माणको लागि ४६ करोड ६५ लाख तीन सय रुपैयाँ लाग्ने स्टमेट नगरपालिकाले गरेको छ । कोहलपुरमा अघिल्लो सरकारले बनाउने बनेका दर्जनौँ गौरवका आयोजना अलपत्र अवस्थामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?