घोराहीमा गठबन्धनको पराजय: पार्टी भित्रै घात अन्तर्घातको आक्षेप

Read Time = 10 mins

-विवेक खड्का
दाङ । बहुप्रतिक्षित चुनावी परिणामले घोराहीमा गठबन्धनलाई हराएको छ । केही वडामा गठबन्धनका उम्मेदवार जवर्जस्त विजयी भएपनि अन्ततः मेयर र उपमेयर गठबन्धनले पाउन सकेन । यसमा विभिन्न प्राविधिक पक्षहरु साक्षी बने ।

अडकलबाज राजनीतिज्ञहरुले यसलाई आत्मीय गठबन्धन नभएको र दुवै पार्टीमा घात अन्तर्घातको अवस्था आएको पनि चोकचौतारामा टिका–टिप्पणी गर्न थालेका छन् । यद्यपि गठबन्धनको हार जनमतका आधारमै भएको भने देखिँदैन, यसमा प्राविधिक पक्ष पनि सार्थक भूमिकामा देखियो । जसका कारण बदरमत गठबन्धनको पराजयको एउटा प्रमुख आधार बन्यो, जुन बदर मतको तथ्यांकले नै स्पष्ट पारेको छ ।

एकथरी टिप्पणी कर्ताहरुले भनिरहेका छन्, ‘मत बदर हुन्छन् भन्ने निर्वाचनअघि नै थाहा थियो, यसमा गठबन्धनले करेक्शन गर्न आवश्यक ठानेन’, जुन पराजयको मुख्य आधार बन्यो । तर योबाहेकका पनि विविध पक्षले गठबन्धनलाई हार व्यहोर्न बाध्य बनाए ।

जानकारका अनुसार नेकपा बन्नुअघि साविकको माओवादी केन्द्र जति संख्यामा थियो, नेकपा भंग भएपछि आफ्नै पार्टीमा फर्कदा त्यो सबै हिस्सा माओवादी केन्द्रमा आएन ।

अर्थपूर्णरुपमा माओवादी केन्द्रमा आवद्ध मतदाताहरु नेकपा एमालेमै जोडिए । जसले माओवादी केन्द्रको मतलाई घटाउन बल पु-यायो । अर्थात पहिलेजस्तै जनमत माओवादी केन्द्रमा यो निर्वाचनसम्म रहन सकेन । अर्का राजनीतिक विश्लेषकको भनाइमा घोराहीको गठबन्धन पाँच दलीय बन्न सकेन, समाजवादीले मेयर उपमेयरसहित सबै वडाध्यक्षसहित निर्वाचनमा प्रतिस्पर्धा ग¥यो भने अन्य गठबन्धनका साना दल (माओवादी केन्द्र र कांग्रेस बाहेक) आ–आफ्नै चुनावी मेसोमा लागे । त्यसैले घोराहीको चुनाव पाँच दलीय गठबन्धन नभएर दुई दलीय गठबन्धन मात्र बन्यो, जसका कारण पनि हारलाई नजिक पु-याउन सघायो ।

दुई दलीय गठबन्धनका यी चुनौतीलाई एमालेले नजिकबाट नियालिरहेको थियो । पाँच बर्ष स्थानीय सरकार चलाउँदाका अनुभवलाई आत्मसमीक्षा गर्दै चुनावी अभियानमा लाग्यो एमाले । अन्तरपार्टी कुनै समस्या थिएन, कसरी यसअघि पाएको मतलाई सुरक्षित राख्दै थप मतका लागि के–कस्तो रणनीति अपनाउनेमा अभ्यस्त बन्यो एमाले । हारको अर्को कारण थारु समुदायको जातीय बाहुल्यता पनि हो ।

मतदाताको करिब २७ प्रतिशत थारु समुदायले ओगटेको छ । अन्ततः घोराही उपमहानगरमा यिनै चुनौतीलाई अवसरमा बदलेर विजयी बन्यो एमाले । मुलुकभरका ११ उपमहानगरमध्ये एमालेको विजय सुरुआत नै घोराहीबाटै भयो, त्यसैले राष्ट्रिय राजनीतिमा पनि घोराहीले चर्चा पायो । लडाइँ स्थानीय पालिकाको गठबन्धन र एमालेको मात्रै थिएन । थियो, एमालेका प्रभावशाली नेता तथा महासचिव शंकर पोख्रेल र माओवादी प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराको ।

राप्रपाले यसअघिको रेकर्ड बढायो, प्राप्त मतमा । कांग्रेस निकट सरिता देवकोटाले मेयर पदमै पाएको करिब ५ हजार मत पनि निकै अर्थपूर्ण रह्यो । यसलाई रोक्न सक्ने उपाय सायद थिएन, तर पनि गठबन्धन बलियोरुपमा योजनासहित प्रस्तुत भएर मतदातामाझ पुग्नुपथ्र्यो तर प्रचारात्मक अभियान मतदाताको घरसम्म पुग्न सकेन । गठबन्धनको औचित्यमै अलमलमा रहे मतदाता । यो उमहानगरको प्रमुखमा एमालेका चौधरी ३१ हजार ७२८ मतसहित विजयी हुनुभयो ।

२२ हजार ३० मत त उहाँले वि.सं. २०७४ कै स्थानीय तहको निर्वाचनमा प्राप्त गर्नुभयो । त्यसलाई सुरक्षित राख्दै माओवादी परित्याग गरेका नेता जीवन गौतम र माओवादी त्यागेर प्रमोद न्यौपानेसँगको सामिप्यताले पनि एमालेलाई केही मत जोड्न सहज बन्यो । थप भएका मतदातामा पनि एमालेले योजनाबद्धरुपमा सहजै पहुँच स्थापित गर्न भ्यायो, मतदाता शिक्षाको एमालेलाई खासै जरुरी थिएन । मत चिन्ह लस्करै ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा(डायमण्ड)ले शर्माले २६ हजार ३६८ मत ल्याए । माओवादी केन्द्रका स्थानीय निर्वाचन २०७४ का उम्मेदवार जीवन गौतमले उतिबेलै १२ हजार ८२ मत ल्याउनुभएको थियो भने कांग्रेसका मेयर पदका उम्मेदवार भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत ल्याउनुभउको थियो । दुवैको मत जोड्ने हो भने पनि करिब साढे २९ हजार मत हुन्छ । पहिलेको मतलाई सुरक्षित राख्दै यसबीचमा थपिएका नयाँ मतदाताहरुमध्ये २ हजार मतदाता मात्रै समेट्न सकेको भए गठबन्धनको विजय सुरक्षित बन्न सक्थ्यो ।

हार प्राविधिक हो : उम्मेदवारहरु

यसैबीच घोराही उपमहानगरपालिकाको निर्वाचनमा पराजय भोग्नुको प्रमुख कारण मतदाता शिक्षाको कमीसँगै गठबन्धन दलहरुबीच विश्वासको वातावरणमा केही समस्या भएको बताएका छन् । गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी हेमराज शर्मा (डायमण्ड)ले निर्वाचनका क्रममा गठबन्धन दलहरुबीच विश्वास पैदा गर्न नसकिएको अभिव्यक्ति दिनुभयो ।

खासमा घोराहीमा पाँच दलीय गठबन्धन नभएर कांग्रेस माओवादी गठबन्धन मात्रै भएको उहाँले वताउनुभयो । यद्यपि गठबन्धन पुरै असफल भएको रुपमा नहेर्न पनि उहाँले आम मतदाता एवं नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयोे । ‘निर्वाचनमा पराजयका पछाडि धेरै कारणहरु छन्, यसलाई गठबन्धन असफल भएको रुपमा नलिइदिनुहोला’, शर्माले आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ्, अहिले देखिएका कमी–कमजोरीलाई सच्याएर हामी राष्ट्र र राष्ट्रियता एवं संघात्मक लोकतान्त्रिक संविधान रक्षाका लागि प्रतिबद्ध रहने छौं’, मेयरका शर्माले भन्नुभयोे ।
उहाँले निर्वाचनका क्रममा दुई दलीय गठबन्धनबीच कुनै समस्या नदेखिएको बताए, यद्यपि मेयर र उपमेयरको प्राप्त मतलाई आफूहरुले समीक्षा गर्ने पनि उनको अभिव्यक्ति थियो । त्यसैगरी उपमेयरका प्रत्यासी भूपबहादुर डाँगीले यो हारलाई गठबन्धन असफल भएको वा पार्टीभित्रकै घात अन्तर्घातका रुपमा नलिन आग्रह गर्नुभयोे ।

‘हार जनमत नपुगेर होइन, प्राप्त मत अत्यधिक बदर भएका कारण हो, हामीले आगामी निर्वाचनमा यसलाई खरो रुपमा सच्याउने छौं’ उपमेयरका प्रत्यासी डाँगीले भन्नुभयोे । बदर मतलाई मात्रै जोगाउन सकेको भए पनि विजय निश्चित भएको उहाँको अभिव्यक्ति थियो । प्राप्त जानकारी अनुसार गठबन्धनका मेयरका मत ८ हजारको हाराहारीमा बदर भएका छन् भने उपमेयरका साढे ६ हजार मत बदर भए । यति धेरै बदर मतलाई रोक्न सकेको भए पनि विजय निश्चित हुने उहाँको अभिव्यक्ति थियो ।

उहाँले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताउँदै पराजयबाट कत्ति पनि विचलित नहुन आम मतदातालाई आग्रह गर्नुभयो । बदर मतलाई रोक्न मतदाता शिक्षासँगै पार्टीभित्रको आन्तरिक परिचालनलाई पनि अझै प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको पनि उहाँको अभिव्यक्ति थियो । गठबन्धनको निर्णय ढिलो हुनु र मतपत्र छपाईमा पनि विभिन्न प्राविधिक त्रुटिहरु रहेकाले आगामी निर्वाचनमा यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा गठबन्धन दलहरुले एक पटक गम्भीर भएर सोच्नुपर्ने पनि उनको सुझाव दिुनुभयो ।

घोराही उपमहानगरपालिकामा बदर मत

पूर्ण बदर : १३५४ (७५% गठबन्धनको बदर २५% एमाले र अन्य दलको बदर)
मेयर : गठबन्धनको दुबै चिन्हमा छाप लगाएर ६५०० को हाराहारीमा बदर
उपमेयर : गठबन्धनको दुबै चिन्हमा छाप लगाएर ७००० को हाराहारीमा बदर

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?