प्राधिकरणले असुल्न सकेन एक अर्ब ७० करोड

Read Time = 3 mins

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थलबाट मात्रै करिब एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न सकेको छैन । संघीय संसद् अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनअनुसार प्राधिकरणले आन्तरिक विमानस्थलहरूबाटै उक्त बक्यौता रकम असुली गर्न नसकेको हो ।

उपसमिति संयोजक दिव्यमणि राजभण्डारीले विदेशी विमानस्थलबाट पनि बक्यौता रकम असुली गर्न प्राधिकरणले नसकेको भन्दै त्यसको मुख्य कारण गैरजिम्मेवारीपन रहेको बताउनुभयो ।

प्रतिवेदनमा नेपाल वायु सेवा निगममा नयाँ नेतृत्व आए पनि त्यसले बोर्ड बैठकसमेत बोलाउन नसकेको उल्लेख छ । उपसमितिका संयोजक राजभण्डारीले भन्नुभयो, ‘झण्डै एक अर्ब ७० करोड बक्यौता उठाउन नसकेको देखिन्छ भने अर्कोतिर विदेशी संस्थाहरूसँग पनि पैसा उठाउन नसकेको देखिन्छ । यसमा सम्बन्धित निकायहरूको गैरजिम्मेवारीपन मुख्य कारण देखिन्छ । निगमका हकमा नयाँ नेतृत्व आए पनि महिनौँ बैठकसमेत बस्न नसकेको पाइएको छ ।’

प्रतिवेदनमा नागरिक उड्डयनसम्बन्धी समस्या र समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायलाई उपसमितिले जिम्मेवार भएर काम गर्न सचेत गराउनुपर्ने सुझावसमेत दिएको छ । राजभण्डारीले विमान सेवाको माध्यमबाट मुलुकको पर्यटन क्षेत्रको विकास गर्ने कुनै पनि सोच सम्बन्धित निकायसँग नरहेको बताउनुभयो । प्राधिकरण र निगमको पुरानै संरचना र सोचका कारण प्रगति गर्न नसकेको उपसमितिको निष्कर्ष छ । यसैबीच समितिको बैठकमा परराष्ट्र नीति अध्ययन उपसमितिको म्याद आगामी असार मसान्तसम्म थप गर्ने प्रस्ताव पनि पेश गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?