चितवनमा हावाहुरीले रुख ढाल्दा तीन जनाको मृत्यु

Read Time = 3 mins

भरतपुर । चितवनमा शुक्रबार साँझ हावाहुरीले रुख ढाल्दा तीन जनाको मृत्यु भएको छ । हावाहुरीको कारण ढलेको रुखले भरतपुर महानगरपालिका ११ भोजाड जंगलको भित्री सडकखण्डमा अटोलाई किच्दा दुई जनाको मृत्यु भएको छ । यस्तै हावाहुरीकै कारण ढलेको रुखले भरतपुर महानगरपालिका ११ कै बसेनि चोकमा म्याजिकलाई किच्दा एक जनाको मृत्यु भएको हो ।

पदमपुरबाट भरतपुरतर्फ आउदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई किच्दा अटो चालक भरतपुर ११ लामाटोलका ५० वर्षीय प्रदिप कुमार लामा र सोही अटोमा सवार अन्दाजी ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो । विशाल चोकबाट बसेनितर्फ आउदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ ।

अटोमा सवार २० वर्षीया अबिता गुरुङ र ५० वर्षीया तुलमांया गुरुङ घाइते हुनुभएको छ । उहाँहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो । अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते हुनुभएको र उहाँहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएको छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् । पोल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पोलहरू ढल्दा रेलिङसमेत भाँचिएको छ । अकस्मात् आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियो । पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ । ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?