फुटबलको मुख्य प्रशिक्षक परिवर्तन गर्न सुझाव

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित समितिले प्रशिक्षक अलमुताइरीलाई परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । सेनाका पूर्वउपरथीसमेत रहनुभएका पूर्वराष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य रहनुभएको थियो ।

समितिले १० दिन लगाएर तयार पारेको २८ पृष्ठ लामो प्रतिवेदनमा प्रशिक्षक परिवर्तन गर्नुपर्ने सुझाव दिइएको हो । समितिले प्रतिवेदनको राय–सुझावमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, क्याम्प छोड्न बाध्य पारिएका १० खेलाडीहरू, व्यवस्थापकलगायत एन्फा सचिवालय र सहायक प्रशिक्षकसमेतको कमजोरी देखाएको छ ।

‘एकैपटक नौजना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटि छन् । मुख्य प्रशिक्षकको स्वास्थ्यस्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणका लागि बिदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद तथा सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणीजस्ता क्रियाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यस्तो अवस्थामा भविष्यमा अरू समस्या उब्जने प्रवल सम्भावनालाई समेत नकार्न सकिँदैन । तसर्थ एसिया कप छनोट प्रतियोगितापछि कतार एफएसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।’

यस्तै मुख्य प्रशिक्षकले एन्फा सचिवालयको मातहतमा रही कार्य नगरी एक्लौटी र स्वेच्छाचारीरूपमा कार्य गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा चेन अफ कमान्डअनुसार कार्य गर्न निर्देशित गर्नसमेत समितिले सुझाव दिएको छ ।

प्रशिक्षकको मुख्य जिम्मेवारी खेलाडी छनोट, प्रशिक्षण र मूल्यांकन गर्नु रहेकोमा अन्य व्यवस्थापनसम्बन्धी कार्यमा समेत हस्तक्षेप गर्ने प्रवृत्तिलाई सच्याउन सिफारिस गरिएको छ ।

यस्तै छानबिन प्रतिवेदनले विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा पनि मुख्य प्रशिक्षकलाई सञ्चारमाध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हाल पनि उहाँले बारम्बार प्रचारप्रसार र सञ्चारमाध्यममा अमर्यादित र आचारसंहिता विपरीत टिकाटिप्पणी गरी वादविवाद निम्त्याइरहेको हुँदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ ।

‘प्रतिवेदनमा खेलाडी बन्द प्रशिक्षणबाट भागेर गएको तथ्यमा सत्यता नरहेको देखिएको छ । मुख्य प्रशिक्षकले नौजना खेलाडीहरूलाई बारम्बार अमर्यादित भाषामा प्रशिक्षणबाट बाहिर जानु भनेपछि खेलाडीहरू बाध्य भएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘तर मुख्य प्रशिक्षकले खेलाडीको चोट, कार्यदक्षता वा अनुशासन केका आधारमा खेलाडीलाई निष्काशन गरेको स्पष्ट छैन । मुख्य प्रशिक्षकले बन्द प्रशिक्षणमा खेलाडीहरू छनोट भएको एन्फा महासचिवलाई पत्राचार गरी क्लबलाई खेलाडीहरूलाई पठाउन निर्देशन दिने गरेको तर खेलाडी निष्काशन गर्दा सो प्रक्रिया नअपनाएको हुँदा त्यसको व्यवस्था गर्न उपयुक्त देखिन्छ ।’

मुख्य प्रशिक्षकले होटेलसम्बन्धी विषय बारम्बार नदोहोर्‍याउनु भनेको र होटेल व्यवस्था भइसकेको अवस्थामा र उक्त विषय व्यवस्थापकको जिम्मेवारी हुँदाहुंदै खेलाडीहरूले सोही कुरा पुनः समूहगतरूपमा उठाएर वादविवाद सिर्जना गरी मुख्य प्रशिक्षकलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउनु खेलाडी दोषी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

खेलाडीहरूलाई सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम को-अर्डिनेटर र फिजियोले वैशाख १३ गते राती बाहिर नजान आग्रह गरे तापनि बाहिरिनु खेलाडीको गल्ती भएको लेखिएको छ । वैशाख १४ गते मुख्य प्रशिक्षक तथा अन्य व्यवस्थापक समूहबाट फोन तथा मेसेजबाट सम्पर्क गरी समाधान गर्ने प्रयास गर्दा खेलाडीहरूबाट कुनै पनि प्रतिक्रिया नहुनु गैरजिम्मेवारीपूर्ण कार्य भएको प्रतिवेदनमा उल्लेख छ ।

एन्फाबाट समस्या समाधान गर्ने प्रयास र समझदारीको विकल्प हुँदाहुंदै खेलाडीहरूले पत्रकार सम्मेलन गर्नाले समस्याले झन् बढी उग्र रूप लिएको, राष्ट्रिय खेलाडीले यस्तो अनुशासनहीन र गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिएको उल्लेख गरिएको छ । यस्तो किसिमको क्रियाकलाप भविष्यमा दोहोर्‍याएमा राष्ट्रिय फुटबल टिममा छनोट हुन अयोग्य हुनबारे सचेत गराउन सिफारिस गरिएको छ ।

खेलाडीहरूलाई एन्फा सचिवालयले र राज्यले पुर्‍याउन सक्ने उचित सेवासुविधा प्रदान गर्दै आएकोमा यस्ता विषयमा पुनः विवाद नउठाउन सचेत गराउन सिफारिस गरिएको छ ।

यस्तै प्रतिवेदनमा मुख्य व्यवस्थापकका पनि कमजोरीहरू उल्लेख गरिएको छ । मुख्य व्यवस्थापक प्रायः बन्द प्रशिक्षणमा होटेलमा नरहनु र घटना भएको दिन वैशाख १३ गतेको घटनामा पनि होटेलमा नरहेको देखिएको उल्लेख गरिएको छ । खेलाडीहरूसँग हुँदा पनि उहाँले आफ्नो पदीय जिम्मेवारी सन्तोषजनकरूपमा नसम्हालेको मुख्य प्रशिक्षक तथा खेलाडीहरूलाई सम्झाउन कोसिस नगरेको हुँदा यस घटना हुनुमा उहाँ जिम्मेवार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘करिब तीन वर्ष नेपाली राष्ट्रिय टिमको मुख्य व्यवस्थापक भएर कार्य गर्ने जिम्मेवारी एन्फा सचिवालयले व्यक्तिगत विश्वासका आधारमा नियुक्ति दिएको पाइन्छ,’ व्यवस्थापकबारे प्रतिवेदनमा भनिएको छ, ‘एउटा राष्ट्रिय फुटबल टिमको नेतृत्व गर्ने कार्यक्षमता उहाँमा देखिँदैन । जसले गर्दा एसिया कप छनोट प्रतियोगितापश्चात् उहाँलाई व्यवस्थापक पदबाट हटाउन सिफारिस गरिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?