मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता

हिमालय टाइम्स
Read Time = 3 mins

जोमसोम । नेपाली सेनाले मुस्ताङको जोमसोममा पहिलो पटक आयोजना गरेको ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ सम्पन्न भएको छ । शनिबार मुस्ताङको जोमसोम क्षेत्रमा भएको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी २१ टिमका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा प्रतियोगिमाझ रक क्लाइम्बिङ, रनिङ, रिभर क्रसिङ र साइक्लिङमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा प्रथम हुन सफल हुनुभयो । उहाँले प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी लागेको र तालिममा सिकेका कुरा प्रस्तुत गर्नुका साथै विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरेको बताउनुभयो ।

यस्तै, दोस्रो स्थान हात पार्न सफल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर थापा मगरले तालिममा हासिल गरेको अनुभवले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न सहज भएको सुनाउनुभयो । भारत र बंगलादेशका खेलाडी पनि कमजोर नभएको उहाँको भनाइ थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभएको प्रतियोगितामा सहभागी खेलाडीलाई २० दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्ने प्रावधान राखिएको थियो । तोकिएको दूरी पार गर्दै त्रिभुवन आर्मी क्लबकै मानबहादुर थापा दोस्रो हुन सफल हुनुभएको थियो ।
सोही प्रतियोगितामा महिलातर्फ हिमालयन गल्र्स टिमका खेलाडी प्रथम, त्रिभुवन आर्मी क्लब ‘ए’ का दोस्रो र त्रिभुवन आर्मीकै क्लब ‘बी’ टिमका खेलाडीले तेस्रो स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ विजेता हुने पहिलो टिमलाई ट्रफीसहित ३ हजार, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः दुई र एक हजार डलर प्रदान गरिएको थियो । त्यस्तै, महिलातर्फ प्रथम हुने टिमलाई ट्रफीसहित नगद एक लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिएको आयोजक नेपाली सेनाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?