बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन, आरोपित पाण्डे पक्राउ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘बलात्कारी होस् तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरूले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ । बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर्, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्, बलात्कारसम्बन्धी घटनाको न्याय निरूपणका लागि देखिएको हदम्याद खारेज गर् लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।

एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसको विरोधमा शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो भने संघीय संसद् प्रतिनिधिसभाका सांसदहरूले पनि पीडित ती युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

राजधानीबाहिर पोखरा, झापालगायत विभिन्न शहरमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भएका छन् । ढिलो गरी सार्वजनिक भएको यो घटना अब कानुनी प्रक्रियामा लैजान मिल्छ कि मिल्दैन भन्ने प्रश्न उब्जिएका बेला बलात्कार घटनाको हदम्याद हटाउन भन्दै प्रदर्शन चर्किन थालेको हो । अहिले २४ वर्षकी ती युवती बलात्कार र यौन शोषण हुँदा १६ वर्षकी मात्र थिइन् ।

यसैबीच, सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डेलाई प्रहरी पक्राउ गरेको छ । सौन्दर्य प्रतियोगिता कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको होे । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालकसमेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिताको आयोजना गरेका थिए ।

मनोज पाण्डे

सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्बिर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पनि पीडितले बताएकी छन् ।

बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । घटना पीडितले सार्वजनिक गरेपछि यस्ता जघन्य अपराधमा प्रहरी, सरकारी वकिल र अदालत र संसद्लाई संवेदनशील बनाउन सडकमा आवाज उठ्न थालेको छ । यो विषयमा शुक्रबार संसद्मा समेत बहस भएको थियो । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विषयले प्रवेश पाएको थियो । सांसदले छानबिनको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नुभएको थियो ।

गृह मन्त्रालयले शुक्रबार घटनाको छानबिनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले शुक्रबारै पीडितलाई भेटेर कानुनी प्रक्रिया अघि बढाउने आश्वासन दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?