वाचा र व्यवहारमा एकरूपताको अपेक्षा

हिमालय टाइम्स
Read Time = 6 mins

स्थानीय निकायको निर्वाचन सम्पन्न भएको आज ११ दिन बित्दैछ । यसबीच धेरैतिरको परिणाम आइसकेको छ । लगभग यो निर्वाचनको चित्र तयार भइसकेको छ भन्दा फरक पर्दैन । केही ठूला महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको मत गणना जारी छ, अन्तिम चरणतिर पुगिरहेको छ । यसबाट २०७९ सालको स्थानीय तहको निर्वाचनको मोटामाटी मूल्यांकन गर्न सकिने गरी सचित्र स्वरूप तयार भएको छ भन्दा अन्यथा हुने छैन । नेपाली कांग्रेस निर्वाचनबाट पहिलो पार्टीका रूपमा आफ्नो इज्जत जोगाउँदै अगाडि आएको छ । दोस्रो पार्टीका रूपमा नेकपा एमाले स्थापित बन्न पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमालेभन्दा डेढी स्थान जितेर पहिलो पार्टी बन्न सकेको हो । अब गणना हुन बाँकी स्थानको परिणामले यी दुईको पोजिसनमा परिवर्तन हुनसक्ने अवस्था छैन ।

यसैगरी नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ र त्यसभन्दा पछि छन् अरू पार्टी । नेपाली जनाताले नेपाली कांग्रेस र नेकपा एमाले यी दुई दललाई नै नेपालका प्रमुख दुई शक्ति मानेका रहेछन् भन्ने थाहा हुन्छ । तर, यथार्थमा यी दुई शक्तिबीच आनको तान फरक छ । एउटा आफ्ना प्रतिबद्ध मतको अपेक्षा गरेर जनताले मत दिइहाल्छन् नि भनेर बस्ने पार्टी हो भने अर्को कब्जाको शैलीमा राजनीति गर्ने पार्टी हो । जनताले यी दुईको पार्थक्य बुझ्न सक्नुपर्ने हुन्छ । कांग्रेसको राजनीति सिद्धान्तको राजनीति हो । निष्ठा, त्याग र बलिदानको राजनीति हो । अर्काको मत खोसेर र किनेर ल्याएको मत होइन यो प्राप्त परिणाम । तर, एमालेको प्राप्त परिणाम भने साम, दाम, दण्ड, भेदको परिणाम हो । यी दुईको तुलना हुनै सक्दैन ।

अहिले केही ठाउँमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन् । नेपालकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता छ, भारी मतका साथ । यो दलहरूप्रतिको असन्तुष्टि हो भन्ने गरिएको छ । अर्को शब्दमा भन्ने हो भने यो एक प्रकारले अघोषित रूपमा ‘नो भोट’ को अभिव्यक्ति हो भन्दा फरक पर्दैन । मतदाताहरूले पार्टीलाई भोट नदिएका हुन् वा पार्टीप्रतिको वितृष्ण प्रकट गरेका हुन् भन्न सकिन्छ । यही कारणले स्वतन्त्र उम्मेदवारको मत निकटतम प्रतिद्वन्द्वीभन्दा धेरै बढी छ ।

जो-जो जहाँ-जहाँ विजयी भएका छन् ती ठाउँका उम्मेदवारले जनतासामु अनेक प्रकारका वाचा गरेका छन् । केहीले म निर्वाचित भएँ भने कुनै प्रकारको सेवासुविधा लिने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेलिका दिनमा तिनले निर्वाचनपूर्व मतदातासामु व्यक्त गरेको विचारको पालना गर्न सक्नुपर्छ । जनताले पनि आफूले निर्वाचित गरेर पठाएका आफ्ना नेताहरूले निर्वाचनपूर्व गरेका वाचा पालना गरे÷नगरेको निगरानी गर्नुपर्छ । यसैगरी चुनावका सन्दर्भमा उम्मेदवारी दिने प्रायः सबैजसो नेताहरूले आफू विजयी भएँ भने यसो गर्छु उसो गर्छु भनेर अनेक थरिका प्रतिबद्धता मौखिक वा लिखित रूपमा व्यक्त गरेका छन् । तिनले त्यसबमोजिम काम गर्छन् कि गर्दैनन् भनेर जनताले निगरानी र तिनलाई सचेत गराउने काम गर्नुपर्ने हुन्छ ।

जसले वाचाबमोजिमका काम गर्न सक्दैनन् तिनलानई त्यसबारे संस्मरण गराउनुपर्छ । २०७४ सालको निर्वाचनमा अनेक काम गर्छु भनेर फेहरिस्त तयार पारेर चुनाव जितेकाहरू विजयपश्चात भोगविलासको जीवन बिताउन थालेको र वाचानुसारका काम नगरेका कारण तिनले निर्वाचनमा टिकट नपाएको वा पाएर पनि विजयी बन्न नसकेको सन्दर्भ हामी देखिरहेका छौं । यसको पुनरावृत्ति आगामी निर्वाचनमा नहुने होइन । त्यसकारण विजयी बनेकाहरूले वाचाबमोजिमका काम गर्न सक्नुपर्छ र जनताले तिनलाई त्यसअनुसार काम गराउन सक्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?