दाङमा कांग्रेस पहिलो शक्ति, जिल्ला समन्वय समितिमा स्पष्ट बहुमत

Read Time = 6 mins

-विवेक खड्का

दाङ । स्थानीय तह निर्वाचन २०७९ को दाङमा स्थानीय तहको मत परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेको छ । नौ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने एक स्थानीय तहको मतगणना जारी रहेको छ । दाङमा कांग्रेस पहिलो शक्ति बनेको छ । जिल्लामा सार्वजनिक भएको नतिजाअनुसार जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको शतप्रतिशत प्रतिनिधित्व हुने देखिएको छ । १० स्थानीय तहमा कांग्रेस जिल्लामा पहिलो बन्दै अहिलेसम्म १२ जना प्रमुख, उपप्रमुख जितेको छ । १२ प्रतिनिधि जितेको कांग्रेस समन्वय समिति गठनका लागि प्रष्ट बहुमत देखाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहँदै कांग्रेस जिल्लामा स्पष्ट बहुमतमा देखिएको हो । र, पहिलो शक्तिको रूपमा कम्ब्याक भएको छ । कांग्रेसले एकल रूपमा निर्वाचनमा गएर बबई गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, शान्तिनगर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, दंगीशरण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, राजपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, लमही नगरपालिकामा नगरप्रमुख, उपप्रमुख जितेको छ ।

त्यस्तै, बंगलाचुली गाउँपालिकामा उपाध्यक्ष र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेर नेपाली कांग्रेस दाङमा बहुमतमा देखिएको हो । माओवादी केन्द्रले तीन स्थानीय तहमा प्रमुख जितेको छ । बंगलाचुली गाउँपालिकामा अध्यक्ष, राप्ती गाउँपालिकामा अध्यक्ष र गढवा गाउँपालिकामा अध्यक्षमा जितेको छ । त्यसै गरेर नेकपा एमालेले घोराही उपमहानगरपालिका प्रमुख, उपप्रमुख र राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

यसरी हेर्दा पनि एमाले माओवादी एक ठाउँमा जाँदासमेत कांग्रेस दाङमा पालिकामा बहुमतमा देखिएको छ । तुलसीपुर उपमहानगर–पालिकामा भने मतगणना जारी रहेको छ । यहाँ दुवै पदमा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । जिल्लामा निर्वाचनमा जाँदा माओवादी, कांग्रेस लगायतले तीन स्थानीय तहमा गठबन्धन गरेका थिए । बंगलाचुली बाहेकका स्थानमा गठबन्धनले जित्न सकेन । माओवादी राजमो, एकीकृत समाजवादीले राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा चुनावी गठबन्धन गरेका थिए ।

त्यहाँ प्रमुख माओवादीले जितेको छ भने गठबन्धनको उपाध्यक्षले पराजित भएको छ । अन्य पालिकामा भने सबै राजनीतिक दल एकल रूपमा निर्वाचनमा गएको देखिन्छ । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जिल्लामा कांग्रेसको स्पष्ट बहुमत देखिएको भए पनि समन्वय समितिको विषयमा छलफल नभएको बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाको नतिजा आइसकेपछि निर्णय लिइने बताउनुभयो । अहिले यो विषयमा छलफल नभएको डाँगीले बताउनुभयो ।

उहाँले गठबन्धनको जिल्लाको अवस्था र केन्द्रको निर्देशनअनुसार जिल्लामा निर्णय लिइने बताउनुभयो । उहाँले समन्वय समितिमा छलफल गरेर टुंगो लगाउने र कसरी जाने भन्ने पनि दुई/तीन दिनपछि मात्रै थाहा हुने बताउनुभयो । जितेको हैसियतअनुसार पदीय जिम्मेवारी समन्वयमा हुन सक्ने संकेत सभापति डाँगीले गर्नुभयो ।

माओवादी केन्द्रका जिल्ला सह-इञ्चार्ज निर्मल आचार्यले समन्वय समितिको लागि कांग्रेस सविधायुक्त बहुमतमा रहेकोले आफ्नो दाबी नरहेको बताउनुभयो । उहाँले कांग्रेसको भूमिका र निर्णयले गठबन्धनको समन्वयमा सहभागिता जोड्ने बताउनुभयो । ‘कांग्रेसले समेट्न खोजेमा हामी तयार छौँ’ उहाँले भन्नुभयोे, ‘कांग्रेस एक्लै जान खोजे ऊसँग सुविधाजनक बहुमत छ, हामीले दाबी गर्ने ठाउँ छैन ।

सामान्य यो विषयमा छलफल भएको तर उपमहानगरको नतिजा नआउँदासम्ममा निर्णय नहुने उहाँले बताउनुभयो । उहाँले जितको आधारमा सहभागिता हुने अवस्था आउने र गठबन्धन नटुट्ने जिकिर गनुभयोे । केन्द्रको नीतिअनुसार जिल्लामा गठबन्धन कायम रहने विश्वास राखिएको छ भने एमाले एक्लै जाने देखिन्छ । जिल्ला समन्वय समितिको निर्वाचनमा २० मत रहेको छ । त्यसमा १२ कांग्रेसले जितिसकेको छ भने माओवादी केन्द्रले तीन र एमालेले तीन जितिसकेको अवस्था छ । तुलसीपुरको दुई पदमा मतगणना जारी रहेको छ । अन्तिम परिणाम आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?