विवेकशील साझाको अध्यक्ष पदबाट रवीन्द्र मिश्रद्वारा राजीनामा

Read Time = 5 mins

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

'स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ । गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु,’ मिश्रद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष पदबाट राजीनामा गरे पनि पार्टीको साधारण सदस्य भने रहिरहने प्रतिवद्धता मिश्रले जारी राख्नुभएको छ ।

विवेकशीलका उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिएको उनले बताउनु भएको छ ।

बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जाने वज्ञप्तिमा उहाँले उल्लेख गर्नुभएको छ ।

‘मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ मिश्रले विज्ञप्तिमा भन्नुभएको छ ।

गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई उहाँले विज्ञप्तिमा सम्झेका छन् ।

‘तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु,’ उहाँले भन्नुभएको छ ।

विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको उनले बताउनु भएको छ । विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म नेपालको रूपान्तरण असम्भव हुने दाबी उहाँको छ ।

आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको उहाँले स्मरण गर्नुभएको छ ।

सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई अनुरोध गर्नुभएको छ ।

त्यस्तै उहाँले सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्नुभएको छ ।

‘पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ । मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु,’ मिश्रले भन्ँनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?