घुम्यो बागलुङमा एमाले विरासत, दोस्रोबाट चौथोेमा

Read Time = 6 mins

डम्मर बुढा मगर

बागलुङ । २०७४ को स्थानीय तहमा चार पालिका प्रमुख र दुई उपप्रमुखसहित २७ वडा जितेर बागलुङमा दोस्रो ठुलो दल बनेको एमाले २०७९ को स्थानीय तहको निर्वाचनमा चौथो स्थानमा झरेको छ । यस पटकको निर्वाचनमा २०७४ मा जितेको पालिका जोगाउँदै थप एक दर्जन वडा बढाउने लक्ष्य लिएको एमाले यस पटकको निर्वाचनमा गठबन्धको घेराबन्दीमा चिप्लिएको छ ।

जिल्लाको मात्रै हैन साविक धौलागिरी अञ्चलको जेठो नगरपालिका रहेको बागलुङ नगरपालिका सहित ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिका प्रमुख र जैमिनी नगरपालिका र ढोरपाटन उपप्रमुख जितेकोे बागलुङ एमालेले यस पटक अघिल्लो विरासतसमेत जोगाउन सकेन ।

चार पालिका प्रमुख र दुई उपप्रमुखसहित २७ वडा जितेको एमालेले यस पटक एक पालिका प्रमुख र जम्मा १६ वडा अध्यक्षमा सिमित भएको छ । पालिका र वडा कम जितेका कारण कार्यपालिकामा कमजोर भयो भने पालिका प्रमुख उपप्रमुख कम भएपछि जिल्ला समन्वय समिति पनि एमालेले गुमाउने भएको छ । यसभन्दा पहिला एमालेले जिल्ला समन्वय समितिको उपप्रमुखसहित तीन सदस्य पाएको थियो । २०७४ को निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र राष्ट्रिय जनमोर्चा चौथो बनेको थियो । यसपटक पाँच दलीय गठबन्धन गरेर चुनावमा होमिएको नेपाली कांग्रेस प्रथम, माओवादी केन्द्र दोस्रो, राष्ट्रिय जनमोर्चा तेस्रो र नेकपा एमाले चौथो भएको छ ।

२०७४ को निर्वाचनमा चार हजार ९२१ मत लिएर कांग्रेसका गण्डकी थापा अधिकारीलाई पराजित गरेका बडिगाड गाउँपालिका अध्यक्ष जितेको एमालेले यस पटक पाइजाकै छोरा राजन कुमार पाइजालाई एक हजार ५७३ को मतान्तरले गण्डकी थापा अधिकारीले अध्यक्ष जितेपछि एमालेको विरासत बडिगाडमा खोसिएको छ । बडिगाडमा मात्रै हैन जेठो नगरपालिकाको रुपमा रहेको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिकामा समेत आफ्नो पुरानो विरासत गुमाएको छ एमालेले । नगर उपप्रमुख जितेको जैमिनी नगर पालिका र ढोरपाटन नगरपालिका समेत यसपटकको निर्वाचनमा खोसिएको छ ।

२०७४ सालमा कांग्रेसका होम बहादुर हमाललाई एक हजार ४७५ मतले पछि पादै एमालेका अम्मर बहादुर थापाले जितेको काठेखोला गाउँपालिकामा यस पटक कांग्रेसका राजु थापाले एमालेका डिल बहादुर कार्कीलाई एक हजार ३७६ मतले जितेर एमालेको विरासत खोस्न सफल हुनुभएको छ । यो पालिका मात्रै हैन बागलुङ नगरपालिकामा यस पटक पुरानै उम्मेदवार आमनेसामने थिए । राप्रपा, राष्ट्रिय जनमोर्चा संग मिलेर चुनाव लड्नुभएका एमालेका जनकराज पौडेलले बसन्त कुमार श्रेष्ठलाई दुई हजार २९५ मतले पछि पार्दै चुनाव जित्नुभएको थियो । तर यस पटकको निर्वाचनमा पाँच दलीय गठबन्धबाट साझा उम्मेदवार बन्नुभएका बसन्त कुमार श्रेष्ठले पाँच हजार ८४७ मतको फराकिलो मतान्तरले चुनाव जितेर एमालेको विरासत भत्काइ दिनुभएको छ ।

जैमिनी नगरपालिकाको उपप्रमुखमा निर्वाचत जित्नुभएको लिला राना यस पटक नगरप्रमुखमा पराजित हुनुभयो भने ढोरपाटन नगरपालिकाको उपप्रमुख जित्नुभएको करमती पुनको टिकट राजमो विद्रोही समूहका तार कुमारी पुनलाई दिएर चुनावमा गएपनि हार व्यहोर्नुपर्यो ।

स्थानीय निर्वाचनमा प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा कमजोर देखिएको एमालेले समग्र मत परिणाममा भने दोस्रो दलका रुपमा देखिएको छ । १० वटा पालिकाका प्रमुखहरूले पाएको मतका आधारमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, राष्ट्रिय जनमोर्चा तेस्रो र माओवादी केन्द्र चौथो भएका छन् । नेपाली कांग्रेसले ४३ हजार ६७७, एमालेले ३८ हजार ८०२, राजमोले १२ हजार ३५६ र माओवादी केन्द्रले नौ हजार ४१५ मत पाएका छन् । गठबन्धनका कारण सिट संख्यामा कमजोर देखिए पनि एमालेको जनमतका हिसाबले बागलुङमा आफूहरू कमजोर नरहेको एमाले नेताहरूको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?