६ जना राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ज्याप क्रिकेटले प्रायोजन गरेको छ । राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, सुनिल धमला, भिम सार्की, देव खनाल र आदिल अन्सारीलाई ज्यापले एक वर्षका लागि खेल सामग्री प्रायोजन गरेको हो ।

यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो । सम्झौताअनुसार अब खेलाडीहरूले प्रतियोगितामा ज्यापको ब्याटलगायत अन्य सामग्री प्रयोग गर्ने भएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममाझ ज्यापका संस्थापक सिइओ भव्य भारध्वज र क्रिकेटरहरूले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सिइओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरूलाई समेत प्रायोजन गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली क्रिकेटसँग यात्रा सुरुवात गर्न पाउँदा उत्साहित छु । नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति उत्साहजनक छ । यो गतिले नेपाली टिम छिट्टै थप उचाइमा पुग्नेछ । त्यसैले क्रिकेटरहरूलाई विश्वस्तरीय क्रिकेट सामग्री प्रदान गर्दै खेलस्तर विकासमा सहयोग गर्न चाहन्छौँ ।’

कप्तान सन्दीप लामिछानेले ज्याप क्रिकेटका सामग्रीहरू स्तरीय रहेको बताउँदै युवा क्रिकेटरहरूलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘ज्यापले स्तरीय क्रिकेट सामग्री उत्पादन गर्दै आएको छ । ज्यापको ब्याट पहिलोपटक प्रयोग गर्दा नै यसको स्तर र सन्तुलनले मलाई प्रभावित बनाएको थियो । त्यसैले म सबैलाई ज्यापको सामग्री प्रयोग गर्न सुझाव दिन्छु ।’

यस्तै विकेटकिपर ब्याट्सम्यान भण्डारीले ज्यापको क्रिकेट अभ्यास गर्नेक्रममा प्रयोग गरेको र निकै स्तरीय लागेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा ज्याप नेपालका प्रतिनिधि तथा पूर्वराष्ट्रिय क्रिकेटर लाक्पा लामाले ज्यापको सामग्री स्तरीय रहेको उल्लेख गर्दै क्रिकेटरलाई सामग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?