फेरियो चन्द्रबहादुरको भूमिका, कार्यालय सहयोगीबाट बने वडाध्यक्ष

Read Time = 8 mins

-विवेक खड्का
दाङ । करिव दुई महिना अघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालयमा कार्यालय सहयोगीका रुपमा हुनुहुन्थ्यो । विहान ९ बजे कार्यालय जाने, कार्यालय सरसफाई, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानीको व्यवस्था गर्नेदेखि बचेको समयमा सेवाग्राहीलाई समेत सहयोगीको रुपमा सहजीकरणको काम गर्न भ्याउने गर्नुभएको थियो । तर वैशाख ३० को चुनावपछि उहाँको भूमिका फेरिएको छ ।

वडा कार्यालय आउने सेवाग्राहीलाई कुन काममा आएको सोध्ने र त्यही अनुसार कर्मचारीलाई काममा सहयोग गर्ने चन्द्रबहादुर गुरुङ त्यही वडामा वडा अध्यक्षमा निर्वाचित भएपछि उहाँको भूमिका फेरिएको हो ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका चन्द्रबहादुरले जनताको चाहनाअनुसार वडाको विकासको काम गर्ने बताउनुहुन्छ । ‘वडाको विकासका लागि कुन आवश्यकता छ । त्यो पहिचान गरेर विकास निर्माणका काम गर्नेछु’, उहाँले भन्नुभयो– ‘पाँच बर्षको अवधिलाई गर्व गर्न लायक बनाउने प्रयास गर्नेछु ।’
उहाँले दोस्रो तलामा भएको वडा अध्यक्षको कार्यकक्ष आफू निर्वाचित भएपछि पहिलो तलमा झारेको बताउनुभयो । ‘वडा जनताको घरदैलोको सरकार हो । यहाँ सबै प्रकारका सेवाग्राही आउनुहुन्छ’, वडाध्यक्ष गुरुङले भन्नुभयो– ‘माथिल्लो तलामा कार्यकक्ष हुँदा अपांगता भएका व्यक्तिहरु र ज्येष्ठ नागरिक माथिल्लो तलासम्म जान सक्ने अवस्था थिएन । त्यसलाई हटाउनका लागि कार्यकक्ष तल्लो तलामा सारेका छु ।’ जसले गर्दा वडामा आउने सबै सेवाग्राहीले वडाध्यक्षलाई भेट्न सकिन भन्ने उहाँको अपेक्षा छ ।

३२ वर्षीय गुरूङ वडाध्यक्ष जित्नुभन्दा अघि करिब पाँच बर्ष करार सेवामा कार्यालय सहयोगीको रूपमा काम गर्नुभएको थियो । राजनीतिदेखि परिवारसमेत टाढा रहेको बताउने गुरुङले कार्यालय सहयोगीका रुपमा काम गर्दागर्दै आफूलाई राजनीतिले तानेको बताउनुभयो । ‘समाज सेवामा सानैदेखि रूची थियो । तर राजनीति गर्ने मन थिएन’, वडा अध्यक्ष गुरुङले भन्नुभयो– ‘त्यही भएर अहिलेसम्म पार्टीमा लागेको पनि थिएन । तर एमाले निकट कर्मचारी संगठनमा आवद्ध हुनुहुन्थ्यो ।

जसले गर्दा उम्मेदवार हुँदै वडाध्यक्ष बन्न मद्दत ग-यो ।’ स्थानीय तहको निर्वाचनको चर्चा सुरू भैसकेको थियो तर चुनाव लड्ने सोच थिएन । तर कार्यालय आउने सेवाग्राहीदेखि घरदेखि वडा कार्यालयसम्म आउँदा–जाँदा धेरैले चुनाव लड्न सुझाव दिन थालेपछि मन बद्लिदै गयो । सबै काम जानेको र युवा उठ्नुपर्छ भनेर हौसल्ला दिन थालेपछि चैत महिना कार्यालय सहयोगीबाट राजीनामा दिएर चुनावी तयारीमा लागेको गुरुङ बताउनुहुन्छ ।
तर वडाध्यक्षका लागि चन्द्रबहादुरलगायत पाँचजनाको नाम सिफारिस थियो । निर्वतमान अध्यक्ष गोकर्णबहादुर रानामगरसहितका नाम थिए । जसले गर्दा टिकट पाउनै मुस्किल थियो । तर अन्तिममा पार्टीले विश्वास गरेर उहाँलाई नै उम्मेदवार बनाउने निर्णय ग¥यो । पाँच वर्ष कार्यालय सहयोगीका रुपमा काम गरेका गुरुङको नाम वडावासीको मनमा थियो । त्यसैको परिणाम वडाध्यक्षमा गुरुङले ९५० मत प्राप्त गरेर बिजयी हुनुभयो ।

२०६२ सालमा एसएलसी उत्तीर्ण गरेका गुरुङ गरिबीका कारण तीन बर्ष बैदेशिक रोजगारीका क्रममा साउदी अरब र मलेसिया बसेका बस्नुभएको हो । ‘पढ्न मन थियो । तर सानैमा बुबा बितेपछि आर्थिक अभावका कारण पढ्न सकिनँ’, उहाँले भन्नुभयो– ‘पढ्न छोडेपछि कामका लागि विदेश गएर घर फर्किएको थिए ।’ घर फर्किएर पुनः विदेश जाने तयारीमा रहेका बेला निवर्तमान वडा अध्यक्ष गोकर्णले वडामा करार सेवामा कार्यालय सहयोगीको रुपमा काममा चन्द्रबहादुरलाई राखेपछि विदेश जाने योजना त्यागेर वडाको काममा लाग्नुभएको थियो ।
‘घरमा काम नभएर फेरि विदेश जाने तयारीमा हुनुहुन्थ्यो। त्यही समयमा निवर्तमान वडा अध्यक्षले कार्यालय सहयोगीका रुपमा मलाई राख्नुभएको थियो’, उहाँले भन्नुभयो– ‘म बिहान ९ बजेतिर कार्यालय खोल्न पुगिसक्थे र बेलुका कार्यालय समयपछि मात्रै घर फर्किन्थे ।’ उहाँका अनुसार कार्यालयको सरसफाइदेखि चिया, पानी पु-याउनु, हाकिमको आदेशमा मागेको फाइल पु¥याएर सहयोग गर्नु, कार्यालय सरसफाइदेखि सबै कर्मचारीलाई सहयोग गर्दै आउनुभएको थियो ।

जनप्रतिनिधिदेखि कर्मचारीहरूले कार्यालयको हितभन्दा पनि व्यक्तिगत लाभ लिन चाहने हुँदा त्यो रोक्न कदम चाल्ने गुरुङको अठोट छ । कार्यालयहरूमा तल्लो तहका कर्मचारीलाई गरिने व्यवहार थप सम्मानजनक बनाउन पहल गर्ने, हरेक नागरिकलाई समान व्यवहार गर्ने योजना उहाँको छ । ‘ठूलो होस् वा सानो सेवाग्राही सबैलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘कसैलाई कार्यालयमा विभेद गर्नुहुँदैन, उहाँले भन्नुभयो । उहाँले वडाको विकासका लागि जनताको आवश्यकता अनुसार विकास गर्ने र त्यसका लागि निर्वतमान वडाध्यक्षले गरेका राम्रा कामलाई निरन्तरता दिने बताउनुभयो ।

‘पहिला कार्यालय सहयोगीको रूपमा जहाँ काम गरे आज म त्यही कार्यालयको प्रमुख पदमा पुगेको छु’, वडा अध्यक्ष गुरुङले भन्नुभयो– ‘मैले हिजोका दिनहरुमा तल्लो तहबाट काम गर्दा धेरै कुरा महशुस गरेको छु । अबको कार्यकाल त्यही तथ्यलाई आत्मसात् गरी जनताको काम गर्नेछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?