न्यूजिल्याण्ड प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

Read Time = 2 mins

वेलिङ्टन । न्यूजिल्याण्ड प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले बिहीबार अप्रत्याशित रूपमा घोषणा गर्नुभएको हो । आगामी केही साताभित्र न्यूजिल्याण्डमा आमनिर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उहाँले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पार्नुभएको छ ।

बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताउनुभयो । ‘म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मेरो समय हो’, पार्टी बैठकमा विश्रामको घोषणा गर्दै उहाँले भन्नुभयो । फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उहाँले बताउनुभयो । पार्टीका सदस्यले देशलाई नेतृत्व गरेकामा आभार व्यक्त गरेका थिए ।

कोभिड-१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतंकवादी आक्रमण र हृवाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा उहाँले देशको नेतृत्व गर्नुभयो । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उहाँ विश्वकै कान्छी महिला सरकारप्रमुख हुनुभएको थियो ।

उहाँले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताउनुभएको छ । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उहाँ उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री हुनुभयो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?