नेपाल टी-ट्वान्टी लिगको टेण्डर खुला

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेण्डर आह्वान गरिएको छ । अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेण्डर आ≈वान गरिएको क्यानले एक विज्ञप्ति सार्वजनिक गर्दै जनाएको छ ।

क्यानले औपचारिक रूपमा पहिलोपटक लिगको आयोजना गर्न लागेको हो । प्रतियोगिताको टेण्डरको मिति जेठ २७ गतेसम्मलाई तोकिएको छ । क्यानको गत मंगलबार बसेको बोर्ड बैठकले छवटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेष्टर्न रहेका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)को ड्रिम प्रोजेक्टका रूपमा रहेको नेपाल टी-२० क्रिकेट लिग आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ । भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँगको सहकार्यमा क्यानले लिग आयोजना गर्न लागेको हो । लिगको रणनीतिक र कर्मसियल साझेदारीको रूपमा सेभेन थ्रीस्टार रहनेछ । क्यानले यसअघि नै सेभेन थ्री स्टारसँग आठ वर्षका लागि ३३ करोडमा लिगको अधिकार बेचिसकेको थियो ।

प्रतियोगिता टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम तथा अवेका रूपमा गरी डबल राउण्ड रोबिनको आधारमा हुनेछ । पहिलो वर्ष ६ टोलीमात्र हुनेछन् । प्रतियोगिता झण्डै एक महिनासम्म चल्नेछ । प्रतियोगिताबाट ‘ए’ ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताका लागि क्यानले खेलाडीलाई तीन ग्रेडमासमेत विभाजन गरेको छ । ‘बी’ ग्रेडमा रहने खेलाडीले १० लाख र ‘सी’ ग्रेडमा रहने खेलाडीले पाँच लाख रुपैयाँ न्यूनतम पाउने छन् ।

त्यस्तै क्यानले यसअघि नेपालमा सञ्चालन हुँदै आएका एभरेष्ट प्रिमियर लिग (इपिएल), पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले अबदेखि राष्ट्रिय मान्यता नपाउने जनाएको छ । क्यानले हालसम्म सञ्चालनमा रहेका फ्रेन्चाइजले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै धन्यावादसहित आफ्नै लिग आयोजना गर्ने हुँदा राष्ट्रिय मान्यता नदिने जनाएको हो । इपिएलसहित तीन फ्रेन्चाइज लिगले क्षेत्रीय संरचनामा भने आयोजना गर्न अनुमति दिनसक्ने जनाएको छ ।

इपिएलका आयोजक तथा टोलीका सञ्चालकहरूले भने अहिलेसम्म नेपाली क्रिकेटमा ठूलो लगानी गरेको भन्दै आफूहरूले पनि मान्यता पाउनुपर्ने भन्दै उक्त निर्णयको विरोध गरेका छन् । त्यसविरुद्ध आयोजक इपिएल प्रालि सर्वोच्चमा पुगेको छ । फ्रेन्चाइज लिग विदेशी कम्पनीलाई दिने निर्णयविरुद्ध एभरेष्ट प्रिमियर लिग (इपिएल) र लिगमा सहभागी ६ टोलीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

इपिएलले यसअघि नै क्यानले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा इपिएल र सहभागी टोलीका कर्पोरेट संस्थाले क्यानलाई आर्थिक तथा अन्य कुनै रूपमा सहयोग नगर्ने चेतावनी दिएको थियो ।

इपिएलले बिहीबार अर्को प्रेस विज्ञप्ति जारी गर्दै इपिएलले मात्र पाँचौं संस्करण आयोजना गर्न दिनका लागि माग गरेको जनाएको छ । सँगसँगै इपिएलले क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता नेपालको कानुनविपरीत रहेको र यो प्रक्रिया पारदर्शी नभएको जनाएको छ । यसैको विरुद्धमा इपिएल र सहभागी टोलीले प्रतियोगिता आयोजना गर्न दिएको निर्णय तत्काल रोक्का गर्न (स्टे अर्डर)को मागसहित सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले प्रेस विज्ञप्ति जारी गर्दै इपिएलको भनाइ धम्कीपूर्ण रहेको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘इपिएल सञ्चालकले एक कार्यक्रम आयोजना गरि नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघविरुद्ध धम्कीपूर्ण शैलीमा सार्वजनिक रूपमा प्रेषित विज्ञप्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त गैरजिम्मेवार, कपोकल्पित र भ्रामक प्रचारबाजीको संघले खेद प्रकट गर्दछ । यस प्रकारका भ्रामक समाचारप्रति सचेत रहन सबै सरोकारवालालाई संघ हार्दिक अनुरोध गर्दछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?