‘नीति नहुँदा कृषि बजेट कार्यान्वयनमा समस्या’

Read Time = 5 mins

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले कृषिमा देखिएको समस्या कृषि नीति तथा कृषि ऐन आएपछि समाधान हुने बताउनुभएको छ । कृषि नीति तथा कृषि ऐन निर्माण प्रक्रियामा रहेको जानकारी गराउँदै उहाँले कृषिका धेरैजसो काम कृषि नीति तथा ऐन नहुँदा प्रभावित हुने गरेको बताउनुभएको छ ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज) द्वारा शुक्रबार आयोजित आत्मनिर्भर र साना किसानका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले कृषि नीति तथा ऐन संसद्मा पुगेकाले छिट्टै पारित हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री यादवले कृषिका लागि बजेट पर्याप्त नभए पनि हाल देश तथा विश्वको अर्थतन्त्रको मध्यनजर गर्दै कृषि बजेटमा वृद्धि नभएको पनि बताउनुभयो ।

आगामी बजेटले उत्पादन र बजारीकरणका साथै उत्पादित वस्तुको भण्डारणका लागि सातवटै प्रदेशमा भण्डारण केन्द्र निर्माणमा जोड दिने उहाँले बताउनुभयो । सरकारसँग पर्याप्त शीत भण्डार नहुँदा किसानका उत्पादित वस्तु खरिद गर्न नसकिएको उहाँको भनाइ छ । मन्त्री यादवले कृषियोग्य जमिन खण्डीकरणका कारण सामूहिक खेतीमा समस्या भएको भन्दै सामूहिक तथा चक्लाबन्दी खेती प्रणालीसँगै तहगत खेतीमा पनि जोड दिन मन्त्रालयले अध्ययन गरिरहेको जानकारी गराउनुभयो ।

साथै उहाँले रोपाइँको समयमा मलको अभाव नहुने दाबीसमेत गर्नुभएको छ । भारतसँग जीटुजी (सरकार-सरकार) सम्झौताअनुसार जेठभित्र ६० हजार मेट्रिकटन मल आइपुग्ने र बाँकी टेन्डरबाट पनि ल्याउने प्रक्रिया सुरु भएकाले असारमा मलको अभाव नहुने उहाँको दाबी छ । यस वर्ष किसानका लागि नानो युरिया झोल मल पनि ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका कृषि उद्यम केन्द्रका सभापति अजय सुमार्गीले कृषि बजेट वितरणमुखी हुने गरेको गुनासो गर्दै आगामी आर्थिक वर्षको बजेट विकासमुखी हुनुपर्ने बताउनुभयो । उहाँले अनुदानका कारण कृषि क्षेत्र कमजोर हुँदै गएको भन्दै अब सरकारको मुख नहेरी किसान तथा उद्यमीले आफैं काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रासायनिक मलको अभाव भइरहेका बेला सरकारले प्रांगारिक मलमा जोड दिनुपर्ने सुझाव दिनुभयो । किसानको गोठलाई नै मल कारखानाका रूपमा विकास गर्न सरकारले किसानलाई सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा रहेको कृषिको विषय किसानमुखी नरहेको गुनासो गर्दै उहाँले विदेशबाट सीप सिकेर आउने युवाकेन्द्रित नीति बनाउनुपर्ने बताउनुभयो ।

कृषिविज्ञ तेजबहादुर सुवेदीले नेतृत्व परिवर्तन भए पनि नीति परिवर्तन गर्न नहुने बताउनुभयो । मन्त्रालयदेखि अन्य निकाय तथा विभागमा नेतृत्व परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने कारण कृषिमा सोचे जस्तो काम हुन नसकेको उहाँको भनाइ छ ।

कृषि मन्त्रालयबाट अवकाशप्राप्त सहसचिव सुवेदीले संघीय संरचनाअनुसार स्थानीय तह गठन भए पनि सोचेजस्तो काम हुन नसकेको बताउनुभयो । अनाजका अध्यक्ष किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले खाद्यान्न आयातमा सरकारले जति ध्यान दिएको छ, त्यति ध्यान उत्पादनमा नदिएको गुनासो गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?