कविता : हाम्रो गणतन्त्र ?

बद्रीप्रसाद दाहाल
Read Time = 2 mins

दुब्लो झम्पट ख्याउटे हुनगयो, दिन्नन् खुराकी कुनै ।
आफ्नै लोत भरिन्छ प्रोटिन सबै, राख्छन् सुराकी उनै ।।
कैले हुन्छ किशोर औ नवयुवा, संघीयता देशमा ।
चर्केको रणतन्त्र सेप गणको, बन्दैछ नेपालमा ।।

मै हूँ राज्य विधान हूँ दल म हूँ, मै सूर्य तारा म हूँ ।
मै हूँ राजनयज्ञ नायक ठुलो, नारा र धारा म हूँ ।।
मै भाले जब हुन्छु यो गणप्रथा, नेपालमा बाँच्दछ ।
दम्भै दम्भ पिएर गर्जन गरी, दुर्भावना नाच्दछ ।।

वाचा खै जनतन्त्रका सुरसिला ? खै राष्ट्रवादी प्रण ?
खै समृद्ध सुखी कहाँ हुन गयौँ ? हृत्केन्द्रमै छन् व्रण ।।
पुर्खाका इतिहास गौरव कथा, देदीप्य अग्ला शिर-
बिर्सी देश रहन्न जोक्कर बुझून्, झन्झन् गिर्‍यौं तल्तिर ।।

नाच्छन् एलिटका हुलै हुल जहाँ, माटो भुली स्वार्थमा ।
मास्छन् एलिटले ‘जनार्दन प्रथा’, आफ्नै निजी स्वार्थमा ।।
योद्धाका बलिदान भद्र जनता, सम्झेर हामी उठौं !
जोगाऔं जनतन्त्रको शिशु यहाँ, लौ एकतामा जुटौं ! !
समाप्त ।
(गणतन्त्र दिवस २०७९ को सन्दर्भमा)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?