गुजरात पहिलो सिजनमै च्याम्पियन

Read Time = 4 mins

अहमदाबाद । गुजरात लाइन्स पहिलो सिजनमै इन्डियन प्रिमियर लिग (आइपिएल) को च्याम्पियन बनेको छ । आइतबार राती भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै यसै सिजनको नवप्रवेशी टोली गुजरात च्याम्पियन बनेको हो ।

जितका लागि १३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । गुजरातका कप्तान हार्दिक पान्ड्याले ३० बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाउनुभयो । यस्तै शुभमन गिलले ४३ बलमा ३ चौका र १ छक्कासहित ४५, डेविड मिलरले १९ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोड्नुभयो ।

तेस्रो विकेटका लागि गिल र हार्दिकले ५३ बलमा ६३ रनको साझेदारी गरेपछि गुजरातको जित पक्का भयो । राजस्थानका प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १-१ विकेट लिनुभयो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रनमात्रै बनाउन सकेको थियो । राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाउनुभयो ।
राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ४ ओभरमा ३१ रनको साझेदारी गर्नुभएको थियो । जैसवालले १६ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाउनुभयो ।

हार्दिक पान्ड्याको नवौँ ओभरको दोस्रो बलमा कप्तान सञ्जु स्यामसन एज लागेर थर्डम्यानमा किशोरबाट १४ रनमै आउट हुनुभयो । त्यसबाहेक राजस्थानका सिम्रन हेटमायर ११, रविचन्द्रन आश्विन ६ र ट्रेन्ट बोल्ट ११ र रियान पराग १५ रनमा आउट हुनुभयो ।

गुजरातका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिनुभयो । स्पिनर रवि श्रीनिवास साइ किशोरले २ ओभरमा २० रन खर्चेर २ विकेट लिनुभयो । मोहम्मद शामी, राशिद खान र यश दयालले १-१ विकेट लिनुभयो ।

राजस्थान रोयल्सका ओपनर जस बटलर मोस्ट भ्यालुएबल खेलाडी बन्नुभयो । बटलरले यस सिजनमा १७ खेलमा ४ शतक र ४ अर्धशतकसहित कुल ८६३ रन बनाउनुभएको थियो । बटलरले नै ओरेन्ज क्याप जित्नुभयो । बटलरले यस सिजनमा मुम्बई इन्डियन्सविरुद्ध १ सय, कोलकाता नाइट राइडर्सविरुद्ध १०३, दिल्ली क्यापिटल्सविरुद्ध ११५ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १०६ रनको सानदार शतकीय इनिङ खेल्नुभएको थियो । उहाँले मोस्ट भ्यालुएबल अवार्डमा १० लाख भारु पुरस्कार पाउनुभएको छ ।

यस्तै राजस्थान रोयल्सका स्पिनर युजभेन्द्र चहलले पर्पल क्याप जित्नुभयो । चहलले १७ खेलमा ६८ ओभर बलिङ गर्दै ५२७ रन खर्चेर २७ विकेटका साथ शीर्षस्थानमा रहनुभयो । सनराइजर्स हैदराबादका तीव्रगतिका बलर उमरान मलिक उदीयमान खेलाडी चुनिनुभयो । उहाँ १४ खेलमा २२ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरमा चौथो स्थानमा रहनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?